+
+

कांग्रेस बैठकमा माओवादी र एकीकृत समाजवादीको चासो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते २१:२२
फाइल तस्वीर

१० चैत, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्दैछ । तर यो बैठकले गर्ने निर्णयबारे भने कांग्रेस मात्र होइन, सत्ता साझेदार दलहरुको पनि उत्तिकै चासो छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा तीन एजेन्डा छन्, ‘स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा’, संसदीय समिति गठन र विविध ।

कांग्रेसले २९ फागुनदेखि देशभर चुनावी अभियान चलाएको छ । यसका लागि हरेक जिल्लामा केन्द्रीय सदस्यहरुलाई खटाएको छ, जसले त्यहाँको वस्तुस्थितिबारे रिपोर्टिङ गर्ने छन् । त्यसका आधारमा बैठकले चुनावी तालेमलबारे समेत निर्णय गर्ने नेताहरु बताउँछन् ।

साझेदारको प्रतीक्षा

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले लिने निर्णयमा सत्ताझेदार माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको चासो छ । किनकी कांग्रेसले निर्णय नगरेकै कारण आगामी चुनावमा गठबन्धन हुने वा नहुने र भइहाले कस्तो मोडालिटीमा हुने भन्ने टुंगिन बाँकी छ ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आफ्नो पार्टीको केन्द्रीय समितिको बैठकसम्म पर्खिन आग्रह गरेका थिए । त्यसैले कांग्रेसको शुक्रबार बस्ने बैठकले गर्ने निर्णयमा सत्तारुढ दलहरुको चासो छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्मा कांग्रेसले औपचारिक निर्णय गरेपछि मात्रै स्थानीय तहमा गठबन्धनको स्वरुप टुंगिने बताउँछन् । ‘गठबन्धनका दुईवटा विधि छन् । एउटा माथिबाट टुंगो लगाउने, अर्को स्थानीय तहमै छलफल गरेर मिलाउने,’ शर्माले अनलाइनखबरसँग भने, ‘केन्द्रबाट टुंगो लाग्यो भने देशभरि गठबन्धन हुन्छ । नभए तलका पालिकाले आआफ्नै आवश्यकता हेरेर गर्लान् । कांग्रेसले औपचारिक निर्णय गरेपछि ठोस भन्न सकिएला ।’

एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ पनि कांग्रेसको औपचारिक निर्णय हुन बाँकी रहेकाले चुनावी गठबन्धनको स्वरुप ठोस नभएको बताउँछन् । ‘कांग्रेस सभापतिको धारणा पनि गठबन्धनलाई चुनावसम्मै लैजानुपर्छ भन्ने छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘औपचारिक निर्णय गर्न बाँकी हो । उहाँहरुले गठबन्धनमा जाने निर्णय गरेर आउनुहुन्छ होला ।’

उनले अघि भने, ‘कांग्रेसको निर्णय आएपछि गठबन्धनमा छलफल हुन्छ । त्यहाँबाट निर्णय हुने बित्तिकै तलसम्म गइहाल्छ ।’

देउवा र प्रचण्डको एउटै मत

स्थानीय तहको चुनावमा तालमेल गरेर जानेबारे भने सत्ता गठबन्धनका दुई प्रमुख नेताको मत मिलेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन स्थानीय चुनाव मात्रै नभई संघीय चुनावसम्मै लैजाने बताएका छन् । तनहुँको पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा देउवाले भने, ‘स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि तीनै तहमा सत्ता गठबन्धनबीच तालमेल हुने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘गठबन्धन त भइरहेकै छ नि ! अहिलेकै गठबन्धन स्थानीय मात्र होइन, प्रादेशिक र संघीय निर्वाचनसम्म पनि रहन्छ ।’

भरतपुर महानगरपालिकामा के हुने भन्नेबारे चितवन कांग्रेसले भनेर केही नहुने र त्यो विषयमा केन्द्रबाट निर्णय हुने प्रचण्डको भनाइ छ ।

तर कांग्रेसमा चुनावी तालमेलबारे केन्द्रबाट निर्णय गर्न नहुने मत बलियो छ । डा. शेखर कोइराला समूहले तालेमलबारे निर्णय गर्ने अधिकार तल्लो कमिटीलाई दिनुपर्नेमा जोड दिएको छ । देउवा समूहकै कतिपय नेताहरु पनि देशभर नभई आवश्यकताका आधारमा चुनाव तालेमल गर्नुपर्ने मत राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?