+
+

८४ वर्षीय पूर्णप्रसाद, जो अझै दौडिन्छन्

विकास रोकामगर विकास रोकामगर
२०७८ चैत १२ गते २०:१०

१२ चैत, पोखरा । पूर्णप्रसाद तुलाचन उमेरले ८४ पुगिसके । गाला चाउरिसक्यो । केही वर्षदेखि कान पनि कम सुन्न थालेका छन् । उनीसँग दोहोरो कुरा गर्नेले केही चर्को श्वरमा बोल्नुपर्छ ।

तर पोखरा लेकसाइडमा बस्दै आएका तुलाचनको आँट तन्नेरी–युवाको झैं छ । त्यस्तो तन्नेरी, जो पोखरामा हुने हरेक सानाठूला दौड प्रतियोगिताहरुमा दौडिने आँट राख्छन् ।

तुलाचनले शनिबार भूतपूर्व खेलाडी मञ्चले आयोजना गरेको स्वेच्छिक ५ किलोमिटर दौडमा पनि सहभागिता जनाएका छन् ।

उनले निर्धारित दूरी करिब ३९ मिनेटमा पूरा गरे । ‘८४ वर्षको बुढो दौडिन लागेको छ भनेर पहिल्यै पत्रपत्रिका, रेडियोले भनिदिएछ । बाटोभरि मलाई भेट्नेहरु धेरै भए,’ तुलाचन भन्छन्, ‘साथीभाइ हाइहेल्लो गर्दा अल्मिलिएँ । नत्र ३४/३५ मिनेटमा पूरा गर्थें ।’

तुलाचनले यस वर्षमात्रै दौडमा भाग लिएका होइनन् । यो प्रतियोगितामा ०७५ सालदेखि नै निरन्तर दौडिँदै आएका छन्, अरु साना ठूला दौडमा पनि भाग लिन्छन् ।

बुढेशकाललाई निरोगी बनाउन तुलाचनले नारा पनि बनाएका छन्, ‘खानपिनमा विशेष ध्यान दिऔं, योग र व्यायाम प्रणायामको साधना गरौं । स्वस्थ जीवनका लागि दौडौं, सुखी र खुसीसँज बुढेशकाल बिताऔं ।’

शनिबार सहभागीमध्ये सबभन्दा पाका उमेरका धावक उनी नै थिए । बाटोबाटोमा शुभेच्छुकहरु उनको फोटो खिच्ने र शुभकामनाका हात हल्लाउने प्रशस्त थिए । ५ किलो मिटर दौड सकिएपछि उनले भने, ‘यो मेरा लागि मात्रै दौडिएको होइन, स्वच्छ जीवन चाहने सबैका लागि पनि दौडिएको हो ।’

उनको हरेक बिहान दौडमै बित्छ । नियमित शारीरिक अभ्यासले नै आफूमा अझै पनि कुनै प्रकारको गडबडी नदेखिएको दाबी गर्छन् । ‘म दौडिएको स्वास्थ्यका लागि हो । यो एक दिनले मात्रै गर्न सकिने होइन, प्राक्टिस चाहिन्छ,’ तुलाचनले अनलाइनखबरसँग भन्छन्, ‘दिनदिनै बिहानै उठेर व्यायाम गर्छु । बाहिर निस्केर एक घन्टा दौडिन्छु । त्यही भएर होला, अहिलेसम्म स्वास्थ्यमा कुनै गडबडी छैन ।’

तुलाचनलाई अझै आफ्नो दौड रोक्न मन छैन । उनी आफू ९० वर्षको हुँदासम्म दौडिरहने बताउँछन् । ‘अहिलेसम्म केही भाको छैन । छोरा नातिले राम्रो भनिराछन् । म त ९० वर्षको हुँदासम्म दौडिने हो,’ उनको बोलीमा उत्साह सुनिन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा जन्मिएका तुलाचन लेखक, अध्येता पनि हुन् । उनले थकालीहरुको धर्मसंस्कृति सम्बन्धी ३ वटा किताबसमेत प्रकाशित गरिसकेका छन् । उनको पहिलो कृति ०७३ सालमा प्रकाशित भएको थियो ।

‘लामो समय व्यापार गर्दै कहिले म्याग्दी, कहिले मुस्ताङ, पोखरा गरिरहें । ५८ सालबाट भने निरन्तर पोखरामै बसेर सामाजिक सेवामा ध्यान दिइरहेको छु,’ भन्छन्, ‘यसबाहेक अर्को एउटा किताबको पनि तयारी गरिरहेको छु ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?