१३ चैत, वीरगञ्ज । एकै दिन १४ जना छात्रा बेहोस भएको पटेर्वासुगौली गाउँपालिकामा मनोसामाजिक परामर्श दिइएको छ । नारायणी अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्स अहेमा थापाले मनोसामाजिक परामर्श दिएकी हुन् ।
गाउँपालिकाको वडा नम्बर–४ सुगौली दापस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ९ चैतमा एकै दिन १४ जना छात्रा बेहोस भएका थिए । उनीहरु मध्ये ४ जनालाई नारायणी अस्पतालमा उपचार गरेर लगिएको थियो ।
पढाइ भईरहेकै बेला छात्राहरु अचानक बेहोस भएपछि शिक्षक, अभिभावक मात्रै नभएर स्थानीय स्वास्थ्यकर्मीसमेत आत्तिएका थिए । घटना भएको भोलिपल्टै नर्स अहेमा थापाले नारायणी अस्पतालमा उपचारका लागि आएकाहरु र उनीहरुको अभिभावकसँग भेट गरेकी थिइन् । उनीहरुमा ‘कन्भर्जन डिस अर्डर’ को समस्या देखिएको पुष्टी भएपछि मनोसामाजिक परामर्श दिइएको नर्स थापाले बताइन् ।
‘यो शारीरिक रोग हैन, न भूत प्रेतले सताएर हुने हो । वैज्ञानिक रुपमै प्रमाणित छ की मन भित्रको तनावका कारण शरीरले प्रतिक्रिया देखाएको हो’, उनले भनिन्, ‘यस्तो बेलामा औषधि भन्दा पनि मनोसामाजिक परामर्श आवश्यक पर्छ ।’
‘कन्भर्जन डिस अर्डर’ भएपछि चिच्याउने, भाग्ने, बर्बराउने, बेहोस हुने समस्या देखिन्छ । नर्स थापाले आइतबार गाउँमै गएर समस्या देखिएका छात्राहरु, जोखिममा रहेका छात्राहरु, अभिभावक एवं व्यवस्थापन समितिका पदाधिकारी र स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई समस्या र समाधानका उपायहरुको बारेमा जानकारी गराएकी छन् ।
विद्यालयका प्रधानाध्यापक मोहन दास थारुले परामर्श निकै लभदायक भएको बताए । ‘पहिला कस्तो समस्या हो भनेर आत्तिएका थियौं, नर्स थापाको काउन्सिलिङ पछि अब आफैं तालिम दिन सक्ने भएका छौं’, उनले भने, ‘घरबाट बेहोस अवस्थामा आएका विद्यार्थी हिँडेर घर गएका छन् ।’
प्रतिक्रिया 4