+

अमेरिका कतार विश्वकपको ढोकैमा

२०७८ चैत  १४ गते १२:१७ २०७८ चैत १४ गते १२:१७
अमेरिका कतार विश्वकपको ढोकैमा

१४ चैत, काठमाडौं । विश्वकप छनोटमा पनामालाई ५–१ ले हराएपछि अमेरिका कतार विश्वकपको ढोकैमा पुगेको छ ।

अमेरिकाले विश्वकपमा पुग्न अब बुधबार हुने कोस्टारिकासँगको खेल ५ गोल भन्दा बढीको अन्तरले नहारे हुने छ ।

कोस्टारिकासँगको खेल ६ भन्दा बढी गोल अन्तरले हारेमा भने अमेरिकाले विश्वकपमा छनोट हुन ओसियाना क्षेत्रको टिमसित अन्तर महादेशीय प्ले अफ खेल्नु पर्ने पनि हुन सक्छ ।

उत्तर अमेरिकी क्षेत्रका ८ टिम सम्मिलित तेश्रो चरणको छनोटबाट २८ अंक बटुल्दै क्यानडा विश्वकपमा पुगिसकेको छ ।

एक खेल खेल्न बाँकी रहेका अमेरिका र मेक्सिकोको समान २५ अंक छ ।

यस्तै अमेरिकासँग खेल्न बाँकी कोस्टारिकाको २२ अंक छ । अमेरिकाको गोल अन्तर १३ छ, मेक्सिकोको ७ र कोस्टारिकाको ३ छ ।

अब हुने अमेरिकासँगको खेल ६ गोलको अन्तरले जित्न नसके कोस्टारिकाले अन्तर महादेशीय प्ले अफ खेल्ने छ । अमेरिकासँगको खेल ६ गोल अन्तर भन्दा कमले जितेमा कोस्टारिकाको भविश्य मेक्सिको र एल्साल्भाडोरबिचको खेलको नतिजाले निर्धारण गर्ने छ । एल्साल्भाडोर यसअघि नै विश्वकपबाट बाहिरिएको छ ।

सोमबार बिहान भएको पनामासँगको खेल जिताउन अमेरिकाका लागि क्रिस्टियन पुलिसिकले आफ्नो जीवनकै पहिलो ह्याट्रिक गरेका थिए । इंग्लिस क्लव चेल्सीबाट इंग्लिस प्रिमियर लिग खेल्दै आएका उनले अमेरिकी जर्सीमा योसहित २१ गोल गरेका छन् ।

यस्तै अमेरिकाका लागि पल अर्रिओला र जेसस फेर्रिइराले एक एक गोल थपे ।

पनामासँगको खेल जिते लगत्तै अमेरिकी समर्थकले स्टेडियममा विश्वकपमा छनोट भएको ब्यानर देखाएको थिए । अमेरिकी प्रशिक्षक ग्रेग बेर्हल्टरले भने, ‘ब्यानरमा जे लेखिएको भए पनि हामीलाई थाहा छ हामी विश्वकप पुगेका छैनौं ।’

विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय