१५ चैत, काठमाडौं । ७ माघदेखि त्रिभुवन विश्वविद्यालयको मुख्य कार्यालयमा लागेको ताला अझै खुलेको छैन ।
सत्तारुढ दल नेपाली कांग्रेसआवद्ध नेविसंघ त्रिवि इकाइको एउटा गुटले निजीस्तरमा सञ्चालित जनकपुरको यूथ क्याम्पसलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सम्बन्धन दिन ‘घुस मागेको’ आरोप लगाउँदै त्रिवि पदाधिकारीले राजिनामा दिनुपर्ने माग राखेर ताला लगाएको हो ।
यो समस्या समाधानका लागि त्रिविले उच्चस्तरीय छानबिन समितिको गठन गरेको थियो । तर पदाधिकारीमाथि आरोप लागेकोले पदमा बसेर छानबिन नहुने, पदाधिकारीले राजिनामा दिएर मात्रै छानबिन हुनुपर्ने तालाबन्दी गर्ने विद्यार्थीको अडान छ ।
तालाबन्दी गर्ने विद्यार्थीसँग वार्ता गर्न त्रिविले विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक पशुपति अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन ग¥यो । वार्ता समिति पटक पटक औपचारिक तथा अनौपचारिक वार्तामा बस्यो । तर, समाधानको लागि कुनै निष्कर्ष निस्केन ।
वार्ता समितिका संयोजक पशुपति अधिकारी तालाबन्दी गर्ने विद्यार्थीको माग अप्ठ्यारो भएकोले समाधान नभएको बताउँछन् ।
‘बन्दकर्ताले राखेका माग नै अप्ठ्यारो छ । पदाधिकारीको राजिनामा मात्रै निकास त होइन नि’, उनले भने, ‘छानबिन समिति गठन गरेको छ । के को आधारमा राजिनामा दिने भन्ने होला । माग अप्ठ्यारो भएकोले समाधानको बाटो अझै निस्कन सकेको छैन ।’
लामो समयदेखि त्रिविको सेवाग्राही समस्यामा परिरहेकाले अब ताला खोलेर संवाद गर्नुपर्ने उनको भनाइ छ ।
दुई महिनाभन्दा बढी समयदेखि भएको तालाबन्दीले अनिवार्य अवकास पाएका शिक्षक तथा कर्मचारी मारमा परेका छन् ।
त्रिविमा लामो समयदेखि लागेको तालाबन्दीको विषयमा जानकारी लिएको भन्दै नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले त्रिविमा लागेको ताला केही दिनमा नै खोल्ने गरी निष्कर्षमा पुग्ने बताए ।
उनले भने, ‘विश्वविद्यालयको केन्द्रिय कार्यलयमा लामो समयसम्म ताला लाग्नु दुखद् हो । यसलाई खोल्नको लागि पदाधिकारी पनि गम्भीर देखिएका छैनन् । तर, हाम्रै अग्रसरतामा चाँडै समाधानको उपाय खोज्छौं ।’
त्रिवि पदाधिकारी र विद्यार्थी संघबीचको लडाईंले तालाबन्दी
यो तालाबन्दी कुनै शैक्षिक मुद्दामा नभएर त्रिवि पदाधिकारी र विद्यार्थी संघबीचको लडाईंले लम्बिरहेको एक कर्मचारी बताउँछन् ।
धेरै लामो समय भएपछि पदाधिकारीले वार्ताबाट निकास दिन खोजे पनि विद्यार्थीले भने अडान लिएकाले अझै नसुल्झिने उनको बुझाइ छ । भन्छन् ‘पदाधिकारी पनि धेरै चुकेका छन् । तर धेरै नै लामो समय भए पनि निकास दिनुपर्छ भन्नेमा पुगेका छन् तर विद्यार्थीले भने पदाधिकारीको राजिनामा नै हुनुपर्ने अडानका कारण समस्या तत्कालै सुल्झिन्छ भन्ने लाग्दैन ।’
तालाबन्दी गर्ने विद्यार्थीले यूथ क्याम्पसको सम्बन्धन खारेजीको कारण थाहा पाउनका लागि संवाद गर्नुभन्दा पनि पदाधिकारीको राजिनामा नै अन्तिम विकल्प मानेकाले ताला खुल्न नसकेको एक प्राध्यापक बताउँछन् । उनी भन्छन् ‘त्रिविले वार्ताबाट समाधान गर्ने प्रयास गरिरहेको छ तर विद्यार्थीहरु निकास दिन चाहिरहेका छैनन् । पदाधिकारीको राजिनामा नै अन्तिम बिकल्प खोज्नु ठीक होइन ।’
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बन्दकर्ता विद्यार्थीले कुनै शैक्षिक मुद्दा नभई आफ्नो व्यक्तिगत स्वार्थको लागि तालाबन्दी गरेकोले त्रिविलाई ताला तोड्न अनुरोध गरेको जनाएको छ ।
अध्यक्ष सुदेश पराजुलीले भने ‘यो कुनै शैक्षिक अथवा राजनीतिक समस्या होइन । व्यक्तिगत इगोको कारण भएको हो । त्यसैले हामीले त्रिविलाई तालाबन्दी तोड्न अनुरोध गरेका छौं र सहयोग गर्र्छौं भनेका छौं । त्यसैगरी आंशिक प्राध्यापकको विषयमा पनि समाधानको बाटो खोज्न अनुरोध गरेका छौं ।’
नेविसंघका नवनिर्वाचित अध्यक्ष शेर्पालाई पनि तालाबन्दी खोल्न अनुरोध गरेको र उनले सकारात्मक रुपमा लिएको बताए ।
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंले अहिले त्रिविमा राजनीतिक कारण लगाइएको ताला ठीक नभएको र ताला लगाउन संस्कारको विरुद्धमा अखिल क्रान्तिकारी रहेको बताइन् । उनले भनिन् ‘यो राजनीतिक इन्ट्रेस्टले त्रिविमा लगाइएको ताला ठीक होइन । तालाबन्दीको संस्कार अन्त्य हुनुपर्छ भनेर भनिरहेका छौं ।’
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष सह–प्राध्यापक जगत तिमिल्सिना भने एमालेले संसद अवरुद्ध गरे जस्तै त्रिविलाई पनि अवरुद्ध गरेको बताउँछन् ।
आंशिक प्राध्यापकसँग पनि वार्ता हुन सकेन
यता त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले ‘समान कामको समान ज्याला’को माग गर्दै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् । माघ २३ गतेदेखि त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका उनीहरुले १७ फागुनदेखि त्रिविका ६२ वटा आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।
उनीहरुको तालाबन्दीपछि त्रिविले अनुगमन निर्देशनालयका उप–निर्देशक विष्णु वाग्लेको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति बनायो । अनौपचारिक रुपमा धेरै पटक छलफल भयो तर औपचारिक रुपमा एक पटक मात्र वार्तामा बस्यो ।
आफूहरुसँगको छलफलबाट समाधान नहुने भएपछि वार्ता गर्न छोडिएको संयोजक विष्णु वाग्ले बताउँछन् । उनी भन्छन् ‘आंशिक प्राध्यापक करार गर्नुपर्छ भन्छन्, त्रिवि कुनै पनि हालतमा करार नगर्ने भन्छ । अनि कसरी समाधान हुन्छ ? हाम्रो बसको कुरा होइन भनेर वार्तामा बसेका छैनौं ।’
उनको भनाइ अनुसार अहिले त्रिवि दोहोरो चेपुवामा छ । करार गर्ने हो भने विद्यार्थी आन्दोलित हुने र नगर्दा आंशिकको आन्दोलन भइरहने ।
उनी भन्छन् ‘खै समाधान त के होला लाग्छ मलाई । स्वतः करार गर्ने हो भने नयाँ आउन चाहने रोकिन्छन् अवसर पाउँदैनन् उसै मारमा पर्छन । यता नगर्दा आंशिकहरु आन्दोलन गरिरहन्छन् । पूर्णकालिन आंशिकहरु पनि मारमा नै छन् ।’
यसअघि त्रिवि प्रशासनले आंशिक प्राध्यापकलाई सम्बन्धित क्याम्पसबाटै आन्तरिक व्यवस्थापन गर्दै जाने, सेवा आयोगद्वारा नियमित विज्ञापन गरी आंशिकलाई स्थायी हुने अवसर प्रदान गर्दै जाने र २०७४ सालमा नेपाल सरकारले स्वीकृत गरेको एक हजार ४८० दरबन्दीलाई आवश्यक पर्ने आर्थिक स्रोतका लागि सरकारसँग निरन्तर पहल गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार अहिले क्याम्पसहरुले आन्तरिक स्रोतबाट तलब दिन थालेका छन् । तर त्यो केही समयको लागि मात्रै समाधान हुने भएकोले त्यसमा समर्थन नरहेको त्रिवि आंशिक प्राध्यापक संघर्ष समितिको अध्यक्ष गोकुल लिम्बुले यो दीर्घकालीन समाधान नभएकोले यसमा सहमति नभएको बताए ।
उनले भने ‘कुनै पनि क्याम्पससँग आंशिक प्राध्यापकहरुलाई निरन्तर तलब दिन सक्ने अवस्थामा छैनन् । छ महिना अथवा एक वर्षपछि त पुनः आंशिक नै हुन्छौं । त्यसैले क्याम्पसको आन्तरिक स्रोतबाट समाधान हुने होइन । यसमा सहमति छैन ।’ त्रिविले समान कामको समान ज्याला नभएसम्म तालाबन्दी खोल्न सहमत नहुने उनको भनाइ छ ।
प्रतिक्रिया 4