+
+
संस्कृति :

त्रेतायुगीन धरोहर रामधुनीको गौरव गाथा

कोशी नदीप्रति हिन्दूहरूमा आध्यात्मिक लगाव छ । कोशी किनार ऋषिमुनिहरूको तपोवनका रूपमा स्थापित थियो । धुनीवन पनि ऋषिमुनिहरूको तपोवन थियो । कोशी किनारका वराहक्षेत्र, चतरा, धुनीवन लगायत कोशी नदी गंगामा मिसिने स्थानसम्मका स्थानहरू तपोवन रहेको पुराणहरूमा वर्णित छ । कोशीको धार (जलमार्ग) पश्चिम सर्दै जाने क्रममा थुप्रै स्थान मासिएर गए तर धुनीवन सुरक्षित छ ।

अजयकुमार झा अजयकुमार झा
२०७८ चैत १९ गते ९:३२

आध्यात्मिक मूल्य र मान्यता सन्निहित गंगा नदीको प्रमुख सहायक नदी सप्तकोशीलाई ऋग्वेदमा कौशिक भनी सम्बोधन गरिएको छ । सप्तकोशीको प्रमुख सहायक नदी अरुण, सुनकोशी, तामाकोशी, तमोर, हिमालयको उत्तरी (तिब्बत) र दक्षिणी (नेपाल र भारत) दुवै ढलानमा बगेको छ भने अन्य, दूधकोशी, इन्द्रावती, लिखु, दक्षिणी ढलानमा बगेका छन् । सप्तकोशीलाई महाभारत ग्रन्थमा कौशिकी भनेर उल्लेख गरिएको छ ।

‘कौशिकी’ भनेर चिनिएका कुशिक वंशका ऋषि विश्वामित्रले यस नदीको किनारमा तपस्या गरी सिद्धि प्राप्त गरेबाट यस नदीको नाम कोशी रहन गएको मानिन्छ । विश्वामित्रले कोशी नदीकै किनारमा अवस्थित आफ्नो आश्रममा प्रसिद्ध वैदिक मन्त्र र ऋचाहरू लेखेका थिए । ऋग्वेदमा उल्लेखित प्रसिद्ध गायत्री मन्त्रको रचना उनैले गरेका थिए ।

त्यही सप्तकोशीको पूर्वी किनारमा अवस्थित नेपालको सुनसरी जिल्लामा पर्ने रामधुनीको धुनी त्रेतायुगमा भगवान रामले जगाएका हुन् । यसै जनविश्वासमा यस स्थानलाई रामधुनी भनिन्छ । विगतमा यस स्थानलाई धुनी र धुनी रहेको वनलाई धुनीवन भन्ने गरिन्थ्यो । तर भगवान रामले नै जगाएको मान्दै यसलाई रामधुनी भन्न लागियो । यसै विश्वास अनुसार सप्तकोशीको छेउछाउमा ऋषिमुनिहरूका प्रशस्तै आश्रम थिए ।

कोशी किनारमा विश्वामित्रको र कोकाखोलाको शिर सिद्धाश्रममा अन्य ऋषिहरूको आश्रम थियो । सिद्धाश्रमका ऋषिमुनिले दानवहरूबाट छुटकारा पाउन विश्वामित्रसँग आग्रह गरेका थिए । विश्वामित्रले ती राक्षसहरूबाट सिद्धाश्रम क्षेत्रलाई मुक्त गर्न अयोध्या नरेश दशरथसँग राजकुमार राम र लक्ष्मणलाई मागेका थिए ।

कथा प्रसंगका अनुसार यक्षपुत्री सुकेतु सुद (राक्षस) का दुई छोरा ताडका र सुबाहु थिए, जो अयोध्या नजिकैको सुन्दर वनमा बस्थे । उनीहरूमा एक हजार हात्ती बराबरको बल थियो । राक्षस ताडकाको क्रोधका कारण सुन्दर वनको नाम टड्का वनमा परिणत भयो । विश्वामित्र तथा अनेक ऋषि–मुनिहरूको त्यही वनमा आश्रम थियो ।

ऋषि–मुनिहरूको तपस्या तथा यज्ञादिमा राक्षसहरूले विघ्न उत्पन्न गरिरहनाले नै विश्वामित्रले राजा दशरथलाई राम र लक्ष्मणलाई आफूसँगै सुन्दर वनमा लैजान अनुरोध गरेका थिए । विश्वामित्रको यज्ञ पूरा भएको दिन रामले ताडका र सुबाहुलगायत राक्षसहरूको वध गरेका थिए ।

यस प्रकार किशोरावस्थामा नै राम र लक्ष्मणले राक्षसहरूको विनाश र ऋषिमुनिहरूको रक्षा गरेका थिए । त्यहाँबाट फर्किने क्रममा रामले धुनी वनमा एक रात विताएका थिए । त्यसै क्रममा उनले धुनी जगाए जो हजारौं वर्षदेखि निरन्तर बलिरहेको छ ।

रामधुनी राम र धुनी दुईवटा शब्दहरू मिलेर बनेको छ, जसको अर्थ रामले बालेको धुनी भएको स्थान भन्ने हुन्छ । रामधुनी धुनी मन्दिरमा साजको ठूलो मूढा सल्काएर राखिएको छ । यहाँ धुनीको मतलब साधुसन्यासीले तपका लागि या ताप्नका लागि बाल्ने आगो भन्ने हुन्छ ।

सधैं बलिरहने आगो या अँगेनोलाई पनि बोलीचालीको भाषामा धुनी भनिन्छ । यस स्थानको पूजा गरिने मुख्य विषयवस्तु पनि यही धुनी हो । रामधुनीको भष्म नै यहाँको प्रसाद हो । भक्तजन अपार श्रद्धाका साथ ललाटमा भष्म धारण गर्दछन् ।

नेपालमा भन्दा पनि उत्तर भारतमा रामधुनी अत्यन्तै प्रख्यात छ । भारतीयहरूले धुनीसाहब पनि भन्दछन् । वराहक्षेत्र आवतजावत गर्ने बाटामा रामधुनी पर्ने हुँदा भारतीय तीर्थयात्री विहार र बंगालबाट रामधुनीमा ढोग चढाउँदै जान्छन् ।

रामधुनी सुनसरीको धुनीवनभित्र इकराही टोलमा पर्दछ । यहाँ इकराही स्थानीय भाषा इकराबाट बनेको मानिन्छ । इकराको अर्थ एक प्रकारको झाडी भन्ने हुन्छ । अघि यस भेगमा इकराको ठूलो झाडी रहेको हुनाले यसलाई इकराही भनिएको हो । यसलाई धुनीवन, सिद्धाश्रम, तपस्थली र रामधुनीका नामले पनि जानिन्छ । तर पनि यो स्थान ज्यादा मात्रामा भने रामधुनीका नामले नै चिनिएको छ । भारततिर भने यस स्थानलाई धुनीसाहबका नामले जानिन्छ ।

रामधुनी सुनसरीको साविक सिंगिया गाउँ विकास समितिको वडा नं. २ मा पर्दथ्यो । अहिले रामधुनी नगरपालिकाको वडा नं. ४ पर्दछ । पूर्व–पश्चिम राजमार्गको झुम्काबजारबाट अढाइ कोस पश्चिममा एउटा वन पर्दछ । यो वनलाई रामधुनी वन भनिन्छ । यसै वनमा रामधुनी (धर्मस्थल) छ । यहाँको देवता ‘धुनी’ अर्थात् अग्निदेवता हो । इनरुवा र चतरादेखि पनि रामधुनी त्यति नै दूरीमा रहेको छ । यसै वनको सिरानबाट निस्केर वनको बिचोबिच सुनसरी खोला बगेको छ । यसलाई सुरसैर नदी पनि भनिन्छ ।

इनरुवा नजिक पूर्व–पश्चिम राजमार्गलाई पार गर्दै सुरसैर नदी बिहारको सुरसैर बजार हुँदै कोशीमा पुगेर विलीन हुन्छ । यसै सुनसरी खोलाको छेउमा अर्थात् २०० मिटरमा रामधुनी छ । रामधुनीको आसपासमा कोशीटप्पु वन्यजन्तु आरक्ष, प्रकाशपुर, राजावास, मधुवन र चतराजस्ता प्रख्यात स्थान रहेका छन् । वराहक्षेत्र र पिण्डेश्वर महादेवस्थान पनि रामधुनीको नजिक–नजिकमा पर्ने अन्य तीर्थहरू हुन् । पिण्डेश्वर महादेवस्थानसँग यसको आत्मीय सम्बन्ध छ ।

रामधुनीको अखण्ड दीप दैवसंयोग निभ्यो भने पिण्डेश्वरको अखण्ड दीपबाट आगोको लप्को ल्याएर बाल्ने र त्यस्तै पिण्डेश्वरको दीप निभ्यो भने रामधुनीको आगोको लप्को ल्याएर बाल्ने परम्परा छ ।

रामधुनी नगरपालिका क्षेत्र इनरुवा नगरपालिका र इटहरी उपमहानगरपालिकाको बीचमा पर्दछ । पूर्व–पश्चिम राजमार्गमा झुम्काबजारसहित ५ किमिभन्दा बढी क्षेत्र रामधुनीको पर्दछ ।

भादगाउँ सिनवारी, सिंगिया र बकलौरी गाविस पूरै र डुम्राहा गाविसका केही वडा मिलाएर रामधुनी नगरपालिका बनाइएको हो ।

रामधुनी यस नगरपालिकाको लागि कत्तिको महत्वपूर्ण छ भन्ने कुरा नगरपालिकाकै नाम यसैको नामबाट रहेकोबाट महसुस गर्न सकिन्छ । साँच्चिकै रामधुनी त्रेता युगको धरोहर हो ।

रामधुनीको पुनर्कायाकल्प गर्ने श्रेय वनखण्डीबाबालाई दिइन्छ । उनले यहाँ वि.सं. १७६० मा योगसाधनाका लागि धुनी जगाएको विवरण पाइन्छ । उदासीन सम्प्रदायमा वनखण्डी नामधारी सन्यासीहरू हुन्छन् ।

वनखण्डी कुनै एकमात्र सन्यासी हुँदैनन्, उदासीन सम्प्रदायका सन्यासीहरूलाई वनखण्डी भनी पुकारिन्छ । वनखण्डी नामक शिवालयहरू पनि नेपाल र भारतका विभिन्न स्थानहरूमा पाइन्छन् । कुनै वनखण्डी बाबाले वि.सं. १७६० तिर रामधुनीको कायाकल्प गरेको मानिन्छ ।

त्यतिबेला पनि घुमन्ते सन्यासीहरू थिए । औलियामठमा औलियाबाबा तथा धरान पिण्डेश्वरमा बाघम्बर र चिताम्बर नामक सिद्ध तथा चमत्कारी बाबाहरू थिए । उनीहरूले धुनी जगाएर योगसाधना गर्ने गरेका थिए । मध्यकालको उत्तरार्धतिर चतरा क्षेत्रमा जोगी–सन्यासीहरूकै बोलवाला थियो ।

योगी–सन्यासीहरूलाई भोजन गराउनुलाई हिन्दूहरूले पुण्यकर्म मान्ने हुँदा तत्काल चतरामठ र पिण्डेश्वरका नाममा उनीहरूलाई खुवाउनकै लागि समेत प्रशस्त गुठी राखिएको देखिन्छ । मध्यकालताका गुठीबाट प्राप्त हुने हण्डी (भोजन) खाएर नित्य रूपमा बस्ने जोगीहरूको संख्या चतरा, धरान र रामधुनीमा अत्यधिक हुने गर्दथ्यो । त्यसबेला यी स्थानहरूमा मेलापर्व पनि हर्षबढाइँका साथ धुमधामसँग मनाइने गरिन्थ्यो ।

मध्यकालमा वराहक्षेत्र आवतजावत गर्ने मुख्य बाटो मोरङ झाडी थियो । यस भेगबाट काठमाडौं उपत्यकातिर समेत जान सकिने हुनाले वनखण्डीबाबाले यसै स्थानमा धुनी जगाएर बसेका थिए । योगी–सन्यासीहरूको मृत्युपछि उनीहरूको शव उनीहरूकै आश्रम छेउछाउमा समाधिस्थ गरिन्छ । त्यसमाथि शिवलिंग (शिवालय) स्थापना गर्ने चलन छ ।

हुनत रामधुनीमा वनखण्डीबाबाको समाधि देखिंदैन । रामधुनी वन हजारजति बिघामा फैलिएको छ । यसको बीचमा नै रामधुनी मन्दिर क्षेत्र भने एक बिघा जतिमा अवस्थित छ । रामधुनीमा पूजा हुने मुख्य वस्तु यहाँ निरन्तर रूपमा जलिरहने धुनी हो । उक्त धुनीमा पुजारीले लोककल्याणका लागि बिहान र बेलुका नित्य रूपमा पूजाआजा गर्ने गर्दछन् । यहाँ सन्यासी नै महन्त र पुजारी समेत रहेका छन् ।

रामधुनीको प्रवेशद्धार ।

सामान्यतया गोला या धुनी सन्यासीहरूसँग सम्बन्धित मानिने हुँदा र यहाँ धुनीमा नै पूजा हुने परम्परा रहेकाले सन्तहरूले नै रामधुनीको पुजारीको काम गरेका हुन् । रामधुनीमा गन्ध, पुष्प, अक्षता, जल र नैवेद्यबाट पञ्चोपचार पद्धतिले दैनिक पूजा हुने गर्दछ ।

हरेक औंसी र पूर्णिमा, जेठ, कात्तिक, माघ र फागुनको पूर्णिमा, श्रीपञ्चमी, चैत्राष्टमी, शिवरात्रि, कृष्णाष्टमी, विवाहपञ्चमी, बालाचतुर्दशी, ठूली एकादशी, माघेसंक्रान्ति, श्रावण महिनाको सोमबार र रामनवमीमा यहाँ विशेषपूजा तथा मेला लाग्ने गर्दछ । तर सर्वाधिक महत्वको पर्व भने रामनवमी मानिन्छ ।

रामधुनीको पूजाखर्च गुठी संस्थानले व्यहोर्ने गरेको छ । गुठी संस्थानले यस स्थानका लागि दैनिक पूजा, महन्त, पुजारी र अर्दली गरी सात जना कर्मचारीलाई खान्गी, गाईको खाना, साधुसन्तलाई दान आदि खर्च बर्सेनि दिने गरेको छ । यहाँका महन्त र पुजारी दुवै पद स्थानीय चौधरीहरूले लिएका छन् ।

रामधुनी मन्दिरको रेखदेख र अन्य व्यवस्था महन्तले गर्दछन् भने पुजारीले पूजा गर्दछन् । रामधुनीका वर्तमान महन्त काशी दासजी महाराज हुनुहुन्छ । उहाँ वि.सं. २०२५ देखि महन्त रहँदै आउनुभएको छ ।

यसअघिका महन्तहरूबारे रामधुनीस्थित बाबा वनखण्डी उदासीन आश्रमको भित्तामा महन्त प्रणाली उल्लेख गरिएको छ । जसअनुसार योगिराज बाबा वनखण्डी साहिबजी महाराज जौरा साहेब भौरा साहेब (वि.सं. १७३२–१८१८), लकरीको महन्त मोहन दासजी महाराज (वि.सं. १७५९), ठाकुर दासजी महाराज (वि.सं. १८१८–१८५९), बुद्ध दासजी महाराज (वि.सं. १८५९–१८९२), तीर्थ दासजी महाराज (वि.सं. १८९२–१९२५), गोपाल दासजी महाराज (वि.सं. १९२५–१९४६), गम्भीर दासजी महाराज (वि.सं. १९४६–१९८१), निहाल दासजी महाराज (वि.सं. १९८१–२०२५) रहनुभएको थियो ।

वि.सं. २००७ अघि रामधुनीमा पञ्जावी महन्तहरू रहेको बताइन्छ । तर त्यसपछि गुठीको जमिन सरकारले लिएको र रामधुनीको आम्दानी कम भएकोले पञ्जाबी महन्तहरू अन्यत्र गए । रामधुनीमा पञ्जावी महन्तहरूले छाडेको गुरुनानक सम्बन्धी पञ्जावी भाषाको एउटा पुस्तक अहिले पनि मन्दिरमा सुरक्षित गरी राखिएको छ ।

रामधुनीमा नित्य रूपमा साजको मूढा जलिरहेको हुन्छ । यसका लागि आवश्यक पर्ने मूढाहरू कन्नाघरमा संग्रह गरेर राखिएका छन् । वनखण्डी बाबाका समयमा सिंह तथा हात्तीले धुनीका लागि मूढाहरू ल्याउँथे, यहाँ बालिएका मुढा आफैं धुनीतिर सरेर बल्दथे भन्ने किंवदन्ती छ ।

साज भनेको सालको जस्तो पात र खैरो गोलो फल फल्ने वृक्ष हो । यसको सुकेको मूढा एकपटक बल्न लागेपछि पूरै बलिनसकी ननिभ्ने हुन्छ । त्यसैले पनि धुनीको आगो ननिभ्ने गरेको हो । जल्दै गरेको मूढा जलेर सकिनलाग्दा पुनः त्यहाँ अर्को मूढा सल्काएर राखिन्छ ।

रामधुनीमा मेलापर्व लाग्ने कैयौं अवसर छन् । तिनीहरूमा प्रत्येक औंसी र पूर्णिमा, बडादशैं, तिहार, श्रीपञ्चमी, चैत्राष्टमी, शिवरात्रि, कृष्णाष्टमी, रामनवमी र विवाहपञ्चमी पर्दछन् । रामधुनीमा रामनवमी बाहेकका अन्य अवसरहरूमा मन्दिरमा विशेष पूजाको व्यवस्था गरिन्छ ।

विशेषगरी कात्तिक पूर्णिमाका अवसरमा भारतबाट वराहक्षेत्रको तीर्थयात्रा गर्न आउने यात्रीहरू समेत रामधुनीसम्म पनि पुगेर पूजाआजा गर्ने गर्दछन् । रामधुनीका अन्य नामहरूमा धुनीसाहब, गोलासाहब र उदासी मठ पनि हुन् । यसलाई उदासी सम्प्रदायको मठका रूपमा पनि लिने गरिएको छ ।

रामधुनीमा सबैभन्दा ठूलो मेला लाग्ने रामनवमी हो । उक्त दिन रामको जन्म भएको मानिने हुँदा रामसँग सम्बन्धित यस तीर्थमा टाढाटाढादेखिका तीर्थयात्रु जम्मा हुने गर्दछन् । रामधुनीमा चैत्र कृष्ण अष्टमीदेखि नै रामनवमी मेला सुरु भएर चैत्र कृष्ण दशमीसम्म जम्मा तीन दिन लाग्ने गर्दछ ।

धार्मिक कृत्य, संस्कार, मनोरञ्जन र आफन्तहरूसँग भेटघाट गर्न समेत मानिसहरू रामधुनीको रामनवमी मेलामा भेला हुने गर्दछन् । ती दिनहरूमा यहाँ दिउँसो मेला भर्ने र रातको समयमा रामगाथा सम्बन्धी भजनकीर्तन गर्ने चलन छ । यस बाहेकका दिनहरूमा रामधुनी प्रायः सुनसान नै रहने गर्दछ ।

रामधुनीमा ज्यादा पुराना पुरातात्विक अवशेषहरू पाइएका छैनन् । यहाँका प्रमुख पुरातात्विक वस्तुहरूमा धुनी मन्दिर, कन्नाघर, दरबार मन्दिर, महन्त निवास, चन्द्र मन्दिर, धर्मशाला, गौशाला, धुनी दरबार, वनखण्डी दरबार, कमण्डलु कुण्ड, तपश्वी स्थल, हनुमान दरबार, राम दरबार, राधाकृष्ण दरबार, शनि दरबार, शिवालय, गंगामाता दरबार, वनखण्डी झौरा भौरा दरबार, जगतगुरु श्री चन्द्र भगवानको दरबार, निर्माण गुरु प्रितम दासजीको दरबार, दुर्गा माता दरबार, अष्ट चिरञ्जीवीको दरबार, गोपाल मुनि महाराज आश्रम, काशी दास उदासी आश्रम, श्रीयन्त्र, जाँतो, रथको पांग्रा, तुलसी मठ, आँप फल्ने साखुको वृक्ष, मुक्ति घाट, धर्मध्वजा साहेब, ऐतिहासिक इनार आदि हुन् ।

पुरातात्विक, ऐतिहासिक एवम् सांस्कृतिक दृष्टिले यी सम्पदाहरू ज्यादै महत्वपूर्ण छन् । रामधुनी मन्दिर परिसरमा साखुको वृक्षमा आँप फल्छ । यस्तै सप्तरीको लोहजारास्थित वनखण्डी अर्थात् भेडिया मठ परिसरमा पनि साखुको वृक्षमा आँप फल्ने देखिन्छ ।

रामधुनीका महन्त श्री काशीदास उदासीका अनुसार धुनीवन भजनकीर्तन र उत्सव गर्ने स्थान नभएर एउटा तपस्थली हो । तसर्थ यहाँ भजनकीर्तन नभएर तप गर्नुपर्दछ । उनको भनाइ अनुसार विश्वामित्रले रामलाई वनवासको समयमा तपस्वीका भेषमा हिमालयको शिखरमा गएर तपस्या गरी बस्नु भनेका रहेछन् । त्रेतायुगमा यस भेगमा २४ हजार कोस जंगल थियो भनिन्छ ।

अघि माता अनुसूयाले यसै भेगमा बसेर लामो समयसम्म तपस्या गरेको हुनाले त्रेतायुगमा राम र लक्ष्मण पनि यसै स्थानमा आएर तप गरी बसेका हुन् भन्ने मान्यता पनि छ । त्रेता युगमा रामले जगाएको धुनी माटो मुनि पुरेर छाडेका रहेछन् ।

पछि नत्थासाहबले आप्mना चेला वनखण्डीबाबालाई रामले धुनी जगाएको स्थान पत्ता लगाएर त्यसलाई चेतन गराउनका लागि आदेश दिएछन् । यता वनखण्डीबाबाले पनि गुरुको आज्ञा शिरोपर गरी मोरङको झाडीमा आएछन् । तिनले यो स्थान पत्ता लगाएर रामले जगाएको पहिलेको धुनीलाई बाबा वनखण्डी उदासी आश्रम भन्न लागिएछ । यसलाई धेरै पछि मात्र रामधुनीका नामले जान्न लागिएको हो ।

रामधुनीको केन्द्रविन्दु यहाँको धुनी घर हो । धुनीघर सामान्य शिखरशैलीमा निर्मित छ । यसको बरन्डा भने ढलाइ गरेर निर्माण गरिएको देखिन्छ । यसलाई अन्तिम पटक वि.सं. २०४५ मा जीर्णोद्धार र पुनर्निर्माण गर्दा यस्तो स्वरूप दिइएको हो । यसका शिखरबाहेक अन्य भागहरू प्राचीन शिखरशैलीसँग मिल्दाजुल्दा देखिंदैनन् ।

धुनी मन्दिरभित्र एउटा वेदीमाथि निरन्तर रूपमा धुनी बाल्ने गरिन्छ । यस मन्दिरको गर्भगृहको बाहिरपट्टिको बरन्डालाई प्रदक्षिणापथको रूपमा प्रयोग गरिन्छ । रामधुनीमा धुनीमन्दिरको पश्चिमतिर दरबारमन्दिर पर्दछ । लौटमन्दिर समेत भनिने यो मन्दिर धुनीमन्दिरतिर नै फर्किएको छ ।

अति सामान्य र सानो दुई तलाको यस मन्दिरको गर्भगृहमा चन्द्र, सिंह र दुर्गाका अर्वाचीन र साना मूर्ति तथा शिवलिंगहरू राखिएका छन् । यसको माथिल्लो तलामा फलामको एउटा चिम्टा राखिएको छ ।

वनखण्डीबाबाको धरोहर मानिने उक्त चिम्टालाई मनचिन्ते चिम्टा पनि भनिन्छ । वनखण्डीबाबाले यसै चिम्टाका सहायताले मनमा सोचेका कुरा पु¥याउँथे भन्ने मान्यतामा यसलाई यस्तो नाम दिइएको हो ।

धुनीवनको यो मन्दिर कहिले स्थापना गरिएको हो भन्ने कुरा स्पष्ट हुनसकेको छैन । रामधुनीको कन्नाघर र महन्तनिवास हालसालै मात्र पुनर्निर्माण गरिएका हुन् । विगतमा झैं तिनीहरू हाल पनि काठले बनेका छन् । कला एवम् पुरातत्वका दृष्टिले तिनीहरू त्यति महत्वपूर्ण देखिंदैनन् ।

रामधुनीका गौशाला र धर्मशाला भने कालक्रमले गर्दा जीर्ण भई भत्किएका छन् । यिनीहरू पनि राणाकालको प्रारम्भतिर निर्माण गरिएका मानिन्छन् । यता चन्द्रमन्दिर भने राणा प्रधानमन्त्री चन्द्रशम्शेरले निर्माण गराएको मानिन्छ ।

पुरातात्विक दृष्टिले रामधुनीको एउटा पुरानो इनार निकै महत्वपूर्ण मानिन्छ । धुनीमन्दिरको दक्षिण–पश्चिममा अवस्थित उक्त इनार निकै पुरानो प्रतीत हुन्छ ।

जमिनबाट करिब पाँच फिट उठाएर निर्माण गरिएको यस इनारको व्यास तीन मिटर छ भने यसको वरिपरि १५० फिट परिधिको आँगन पनि निर्माण गरिएको देखिन्छ ।

पक्की ईंटाबाट निर्मित यो इनार यस भेगको सबैभन्दा ठूलो र पुरानो मानिन्छ । यो इनार शाहकालको प्रारम्भतिर बनेको हुन सक्छ ।

रामधुनी मन्दिरको उत्तरतिर एउटा सानो पोखरी छ । प्रायः कमल फुलिरहने यो पोखरी वनखण्डीबाबाले कमण्डलु राख्ता बनेको किंवदन्ती छ । उचित रूपमा मर्मतसम्भार नगरिएको यो पोखरी निकै फोहोर देखिन्छ ।

नेपाल र भारतमा वनखण्डीबाबा सम्बन्धी निश्चित परम्परा रहेको पाइने हुनाले विगतमा अनेक वनखण्डीबाबाको अस्तित्व रहेको पाइन्छ । तिनीहरूमध्ये रामधुनी स्थापना गर्ने वनखण्डी नेपालीबाबा थिए ।

पाँचथरको पैयुवासमा सुवेदी थरका ब्राह्मणकुलमा जन्मिएका नेपाली वनखण्डीबाबाले ढाकाका गुरुसंस्थाबाट उदासीन मतको दीक्षा लिएको उल्लेख पाइन्छ । पछि यिनले मोरङ झाडीमा योगसाधनाका लागि धुनी जगाएर रामधुनी स्थापना गरेका थिए ।

नेपालमा वनखण्डीबाबालाई सिद्धबाबाका रूपमा लिने गरिन्छ । उनी सिद्ध भएकाले नै टाढाटाढादेखिका योगी सन्यासीहरू यिनको दर्शन गर्न यहाँ आउने गरेको उल्लेख पाइन्छ । एक विवरण अनुसार उनका समयमा भारतको अमृतसरतिरबाट प्रियतमबाबा नामक एकजना सन्यासी अनेक प्रकारका कष्टहरू व्यहोर्दै रामधुनी आएर यी बाबाको दर्शन गरेका थिए ।

उनलाई वनखण्डीबाबाले आफ्नो धुनीको खरानी डल्लो पारेर उपहारस्वरूप दिएको उल्लेख पाइन्छ । उदासीन अखडाहरूमा गोलासाहब नामले ससम्मान पुजिने वस्तु यिनै वनखण्डीबाबाले प्रियतमबाबालाई दिएको खरानीको डल्लो मानिन्छ । तसर्थ वनखण्डीबाबाका कारण रामधुनीको ख्याति भारतसम्म फैलिएको देखिन्छ ।

रामधुनीमा धुनी जगाएर बसेका वनखण्डीबाबा जीवनको अन्त्यतिर कता गए या उनको मृत्यु कहाँ भयो भन्ने कुरा स्पष्ट छैन । उनको रामधुनीमा नै मृत्यु भएको भए उनका नाममा यहाँ समाधि मन्दिर बनाइएको हुनुपर्ने हो । तर रामधुनीमा कुनै पनि प्रकारका समाधिस्थल रहेको देखिंदैन । यता विराटनगरमा चाहिं वनखण्डीबाबाका नामले प्रख्यात एउटा शिवालय रहेको छ ।

तसर्थ आँप खान औधी नै रुचाउने वनखण्डीबाबा जीवनको अन्तिम समयतिर वर्तमानको विराटनगरस्थित एउटा आँपबगैंचामा कुटी बनाएर बस्न लागेका र उनको मृत्यु त्यहीं भएको उनका नाममा त्यस स्थानमा वनखण्डी शिवालय स्थापना गरिएको बताइन्छ ।

सरसर्ती हेर्दा के देखिन्छ भने रामको समय त्रेतायुग थियो भने वनखण्डीबाबा अठारौं शताब्दीका उदासीन सम्प्रदायका प्रचारक मानिएका छन् । यस अर्थमा वनखण्डीबाबाले नै धुनीवनमा आफ्नो आश्रम बनाएको र बसेको मान्न सकिन्छ । तर यसलाई रामले बालेको धुनी मान्दा वनखण्डीबाबाले जगाएको धुनी अर्कै थियो भन्ने मान्यता राख्नुपर्दछ । तसर्थ रामधुनीको स्थापनाका बारेमा खोजी गर्न आवश्यक भएको हो ।

रामधुनीमा सन्यासीहरूको निकै भीडभाड हुने गर्दथ्यो । तर पछि हण्डी (भोजन) कटौती गरिएकाले खानपिनको अभावमा योगी–सन्यासीहरू अन्यत्र गए । यसबाट रामधुनीको चहलपहल कम हुँदै गयो । उत्तर भारतसम्म ख्याति कमाउन सफल रामधुनी सुनसरीको बराहक्षेत्र, चतरामठ र पिण्डेश्वरको नजिकमा पर्दछ । यसको परम्परागत सम्बन्ध भने पिण्डेश्वरबाबासँग जोडिएको छ ।

यता विराटनगरस्थित वनखण्डी महादेवलाई पनि रामधुनीका वनखण्डीबाबासँग सम्बन्धित गराउने परम्परा छ । देव प्रतिमाहरूको अभाव रहेको उक्त स्थान धुनी र यहाँका पुराना परम्पराहरूका कारणले नै प्रख्यात हुन पुगेको छ । विगतमा यहाँ तीर्थयात्रीको निकै भीडभाड हुने गरेकोमा विस्तारै यस स्थानमा तीर्थयात्रा गर्न आउने मानिसहरूको संख्या कम हुँदै गएको छ ।

कोशी नदीप्रति हिन्दूहरूमा आध्यात्मिक लगाव छ । कोशी किनार ऋषिमुनिहरूको तपोवनका रूपमा स्थापित थियो । धुनीवन पनि ऋषिमुनिहरूको तपोवन थियो । कोशी किनारका वराहक्षेत्र, चतरा, धुनीवन लगायतका कोशी नदी गंगामा मिसिने स्थानसम्मका स्थानहरू तपोवन रहेको पुराणहरूमा वर्णित छ ।

कोशीको धार (जलमार्ग) पश्चिम सर्दै जाने क्रममा थुप्रै स्थान मासिएर गए तर धुनीवन सुरक्षित छ । यस स्थानमा पौराणिक कालदेखि नै ऋषिमुनि र साधुसन्तहरू धुनी जगाएर तथा तप गरेर बसेका थिए । जसले गर्दा यो वन धुनीवनका नामले परिचित रह्यो भने पछि गएर यहाँको धुनीलाई जीवन्तता दिइयो ।

यसैगरी मध्यकालको उत्तरार्धतिर वनखण्डीबाबा योगसाधना गरेर बसेका हुनाले यो तपस्थली उदासीन सन्यासीको अधीनमा पर्न गयो । धार्मिक विविधताले भरिएको हाम्रो देशमा उदासीन सम्प्रदायको अस्तित्व रहिरहनुपर्दछ ।

रामधुनी नगरपालिकाको इतिहास यही रामधुनीले बोकेको छ । यसको परिचय पनि यसैको नामको आधारमा गरिएको हो । यस नगरपालिकाको ऐतिहासिकता रामधुनी सरह नै पौराणिक कालसम्म पुग्ने गर्दछ ।

तसर्थ यो एक ऐतिहासिक नगरपालिका हो र यसको यो विशिष्टताको रक्षा हुनु आवश्यक छ । यहाँ आसपासका धर्मस्थल र पर्यटकीय स्थलहरूबीच पर्यटकीय सञ्जाल बनाएर पूर्वाधार निर्माण गर्नु आवश्यक छ । रामधुनी नगरसभाले हरेक वर्षको बजेटमा रामधुनीलाई समृद्ध गर्ने नीति राख्नुपर्ने देखिन्छ ।

अन्त्यमा, मानवीय सभ्यता चौथो युगमा गुज्रिरहेको छ । हामी सत्ययुग, त्रेता र द्वापर युगका गाथा गान गर्दै आएका छौं । युगीन तथा युगान्तकारी गाथा र युगपुरुषहरूको नाम लिन्छौं । युगीन इतिहासहरूको प्रामाणिकता जाँच गर्दछौं ।

युगविशेषका घटना र ती घटनाले दिएका सन्देशहरूको अध्ययन, मनन गर्दछौं, प्रेरणा र शिक्षा ग्रहण गर्दछौं । अर्थात् हाम्रो जीवनमा व्याप्त अतीतको महत्व अवर्णनीय छ । तसर्थ त्रेतायुगको धरोहरको रूपमा हामीले प्राप्त गरेको ‘रामधुनी’ को संरक्षण, संवद्र्धन र गौरवगाथाको प्रचारप्रसार गर्नु हामी सबै युग उत्तराधिकारीहरूको दायित्व हो ।

लेखकको बारेमा
अजयकुमार झा

लेखक इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?