+

दीपेन्द्रकाे शतकमा मलेसियामाथि नेपालकाे सानदार जित

२०७८ चैत  १९ गते १५:५२ २०७८ चैत १९ गते १५:५२

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयाे ।

दीपेन्द्रकाे शतकमा मलेसियामाथि नेपालकाे सानदार जित

१९ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकाेणात्मक टी-२० शृंखला अन्तर्गत शनिबार भएकाे अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दाेस्राे शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयाे ।

नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृंखलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेकाे नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्याे ।

मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दाेस्राे स्थानमा रहेर फाइनल पुग्याे । अब नेपालले फाइनलमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

ओपनर विरनदिप सिंहले विष्फाेटक ब्याटिङ गर्दै मलेसियालाई आक्रमक सुरुवात दिलाएपनि अर्का ओपनर जुबाइदी जुल्किफल पहिलाे ओभरकाे अन्तिम बलमा खाता नखाेली आउट भए । मलेसियाले सुरुवाती तीन ओभरमा १ विकेट गुमाएर ३७ रन जाेडेकाे थियाे । तर त्यसपछि नेपाली बलरले कमब्याक गर्दै मलेसियाकाे रनको गति राेक्याे

पहिलाे ओभरमा जुबाइदीलाई कुशल भुर्तेलबाट क्याचआउट गराएका नेपालका कमल सिंह ऐरीले विरनदिपलाई छैटाैं ओभरमा आसिफ शेखबाट क्याचआउट गराए ।
मलेसियाका लागि विरनदिपले २६ बल खेल्दै ९ चाैका प्रहार गरेर ४७ रन बनाए । कप्तान अहमद फैजले ३३ र सयद अजिजले १७ रन जाेडे ।

फैज र अजिज दुवैलाई कप्तान सन्दीपले कुशल भुर्तेलबाट क्याचआउट गराए ।

त्यसपछि मलेसियाले लगातार विकेट गुमायाे । सर्भिएन मुनिएण्डी र मुहम्मद अमिर समान १, मुहमद स्याहदत ८, अइनुल हाफिज १८ रन बनाएर आउट भए । स्याज्रुल इद्रुसले खाता समेत खाेल्न सकेनन् । मुहम्मद वाफिक १ रन बनाएर आउट भए । पवनदिप सिंह ४ रनमा अविजित रहे ।

बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । यस्तै कमल सिंह ऐरी र दीपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए । कुशल भुर्तेल र राेहित पाैडेलले समान १ विकेट लिए ।

त्यसअघि दीपेन्द्र सिंह ऐरीले अविजित ११० रन बनाएपछि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ४ विकेट गुमाएर २२३ रन बनाएकाे थियाे । दीपेन्द्रले ५७ बल खेल्दै १० चाैका र ६ छक्का मद्दतमा अविजित ११० रन बनाए ।

दीपेन्द्र ओडीआई र टी-२० आईमा शतक प्रहार गर्ने दाेस्राे नेपाली खेलाडी बने । दीपेन्द्रले यसअघि त्रिवि क्रिकेट मैदानमै भएकाे एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी विरुद्ध शतक प्रहार गरेका थिए ।

यसअघि पूर्वकप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए । पारसले सिंगापुर विरुद्ध टी-२० र युएई विरुद्ध ओडीआईमा शतक बनाएका थिए ।

यस्तै दीपेन्द्र टी-२० आईमा शतक बनाउने चौथाे नेपाली खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी-२० आईमा शतक प्रहार गरिसकेका छन् ।

यस्तै राेहित पाैडेलले पहिलो टी-२० अन्तर्राष्ट्रियमा पहिलाे अर्धशतक प्रहार गरे । राेहितले ३४ बल खेल्दै ५ चाैका मद्दतमा ५१ रन बनाए । दीपेन्द्र र राेहितले तेस्राे विकेटका लागि ९६ रनकाे साझेदारी गरेका थिए ।

ओपनर आसिफ शेखले १८, आदिल अन्सारीले १४, कुशल भुर्तेलले १२, आरिफ शेखले २ रन बनाए ।  अन्तिम बलमा आदिल रनआउट हुनुअघि दीपेन्द्रसँग ५९ रनकाे साझेदारी गरे ।

मलेसिया विरुद्ध बनाएकाे रन नेपालले टी-२० अन्तर्राष्ट्रिय बनाएकाे तेस्राे ठूलाे स्काेर हाे । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमै नेदरल्याण्ड्सविरुद्ध २३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमै १३ औं सागमा भुटान विरुद्ध २३६ रन बनाएकाे थियाे ।

बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए ।

क्रिकेट
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय