+
+

चैतमै नदीमा पानीको सतह बढ्यो, विद्युत् उत्पादन दोब्बर

उद्योगमा बिजुली कटौती गर्न छाडियो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते २०:०७
फाइल तस्वीर

२० चैत, काठमाडौं । यो वर्ष चैत महिनामै अनपेक्षित रुपमा नदीहरुमा पानीको सतह बढेको छ । जसले जलविद्युत् आयोजनाहरुको उत्पादन पनि बढ्न पुगेको छ ।

नेपाल विद्युत प्राधिरकणका प्रवक्ता तथा भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराई धेरै वर्षपछि चैत महिनामै बिजुलीको उत्पादन अहिलेसम्मकै आयोजनाहरुमा उच्च रुपमा बढेको हो ।

‘यो वर्ष हिमालका तल्ला भेगमा बाक्लो हिमपात भएको थियो, अहिले गर्मी बढेकाले त्यो हिउँ छिट्टै पग्लिएको हुनसक्छ,’ उनले भने, ‘विशेषगरी हिमनदीमा आधारित प्राधिकरणका आयोजनाहरुबाट हुने उत्पादन गत वर्षहरुको चैतको भन्दा दोब्बर छ ।’

तर, यो बहाव कति दिनसम्म कायम रहन्छ भन्ने निश्चित नरहेको उनले बताए । उनका अनुसार गत वर्षहरुमा चैतमा ५८ मेगावाट प्रतिघण्टा उत्पादन दिने ‘कालीगण्डकी ए जलविद्युत आयोजना’ले अहिले करिब १२० मेगावाट आवर प्रतिघण्टामा पुगिसकेको छ ।

त्यसैगरी मध्यमर्स्याङ्दीले विगतका चैतमा २८ मेगावाट प्रतिघण्टासम्म बिजुली दिने गरेमा अहिले ५७ मेगावाट प्रतिघण्टाभन्दा माथि पुगेको छ ।

‘तामाकोसीले १२० मेगावाट प्रतिघण्टा उत्पादन हुने अनुमान गरिएकोमा १५२ मेगावाट प्रतिघण्टासम्म उत्पादन दिइरहेको छ,’ उनले भने । मर्स्याङ्दी, माथिल्लो त्रिशूली थ्री ए, चमेलिया, त्रिशूली, सुनकोशी जस्ता आयोजनाहरुबाट हुने उत्पादन विगतका चैतमा भन्दा करिब दोब्बर भएको छ ।

अस्वभाविक रुपमा नदीको सतह बढेपछि उत्पादन बढ्दा प्रााधिकरणलाई राहत भएको छ । वैशाखपछि हिमालको माथिल्लो भेगमै हिउँ पग्लिन थाल्ने भएकाले अब फेरि नदीमा पानीको सतह नघट्ने अपेक्षा प्राधिकरणको छ ।

आयोजनाहरुबाट उत्पादन बढेपछि प्राधिरकणले उद्योगहरुमा बिजुली कटौती गर्न बन्द गरेको छ । प्रवक्ता भट्टराईका अनुसार विद्युत आपूर्ति शत प्रतिशत गर्न थालिएको छ ।

गत हप्ता भारतबाट विद्युत् किन्न नसकेपछि प्राधिकरणले उद्योगहरुमा बिजुली कटौती थालेको थियो । भारतबाट आयात हुने बिजुली महँगिएपछि प्राधिरकणले भारतमा बिजुली किन्न गरेको बोलकबोल पर्न छाडेको थियो ।

अब भने आन्तरिक उत्पादनबाटै अधिकतम माग धान्न सकिने अवस्था आएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । ‘साँझको पिक आवरमा केही समय भोल्टेज व्यवस्थापन गर्न कतै–कतै उद्योगहरुमा सामान्य कटौती हुनसक्छ,’ भट्टराई भन्छन्, ‘अहिले उद्योगमा कतै पनि विद्युत् काट्नुपर्ने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?