+
+

बीउ छर्ने मेसिन : कस्तो किन्ने, कति पर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १५:५४

काठमाडौं । पछिल्लो समय नेपालको कृषि क्षेत्रमा आधुनिकीकरणको लहर छाएको छ । बजारमा बीउ जमाउनेदेखि उमार्ने हुँदै फसल भित्र्याउनेसम्मको कामलाई सहज बनाउन विभिन्न आधुनिक कृषि औजार पाइन्छ ।

त्यसमध्ये खन्न र बीउ छर्नका लागि उपयुक्त हुने विभिन्न मेसिनको बारेमा यहाँ चर्चा गरिएको छ ।

जेरो टिल सिड ड्रिल

जेरो टिल सिड ड्रिल कृषि पद्धतिमा उपयोग हुने महत्वपूर्ण मेसिन हो । ३० देखि ८५ हर्सपावरसम्मको जेरो ड्रिल मेसिन बजारमा पाइन्छ । तीनवटा छुट्टाछुट्टै ब्राण्डका यस्ता मेसिनमध्ये पहिलो ३०-४५, दोस्रो ५०-६५, तेस्रोमा ७०-८५ हर्स पावरको मेसिन पाइन्छ ।

यो मेसिनमा बीउ बाकस, मल बाकस, बीउ र मल नाप्ने यन्त्र, बीउ नली, फरो ओपनर, बीउ र मलको दर समायोजन गर्ने लिभर जस्ता सुविधा पाइन्छ । यसबाट बीउको मात्रा बालीको लम्बाइ बढाउन वा घटाउन सकिन्छ र छरिएको बीउलाई एकत्रित गर्न पनि सहयोग गर्न सकिन्छ । मलको समायोजन गर्न सजिलो र सबैखाले बालीको बीउ छर्न सकिन्छ ।

यो मेसिनले बाँझो जमिनमा बीउ र मल छर्छ । गोरुले तान्ने जिरो टिलदेखि लिएर ठूलो ट्रयाक्टरले तान्ने ठूलो जिरो टिल सिड ड्रिलसम्म नेपाली बजारमा उपलव्ध छन् । यस सिड ड्रिलले बाँझो जमिनमा सानो चिरा पार्छ जसमा बीउ र मल तोकिएअनुसार लाइनमा झार्छ र पुर्ने काम गर्छ । यस प्रविधिबाट धान बालीपछि गहुँ र मुसुरो लगाउन सकिन्छ । एक हेक्टर जमिनमा बीउ झर्न झण्डै तीन घण्टा लाग्छ ।

जेरो टिल सिड ड्रिलका फाइदा

– यो प्रविधिमा खेत खनजोत गरिरहनु नपर्ने भएकाले ठीक समयमा गहुँ छर्न सकिने ।

– मल र बीउ सँगै हुँदा मलको प्रभावकारिता बढी हुने ।

– सिंचाई गर्दा २० प्रतिशत बढी पानीको बचत हुने ।

– परम्परागत तरिकाले छरेको बालीभन्दा २० प्रतिशतभन्दा बढी उत्पादन बढी हुने ।

– पहिलो बालीको ठुटाहरुको कारणले भूक्षयमा कमी हुने र विना खनजोतले भौतिक गुणमा सुधार हुन्छ ।

उत्पादक देश : भारत

मूल्य : ८० हजारदेखि एक लाख रुपैयाँ

हाते ट्रयाक्टरमा जडित सिड ड्रिल

यो मेसिन गहुँ, मुसुरो छर्न प्रयोग गरिन्छ । यसबाट सुख्खा छरुवा धान पनि लगाउन सकिन्छ । यो मेसिन पहाडी उपत्यका तथा तराईको सम्पूर्ण भूभागमा प्रयोग गर्न सकिन्छ । हाते ट्रयाक्टर जडित यो मेसिनले जोत्ने, बीउ साथै मल लाइनमा छर्ने र पुर्ने काम एकै पटकमा गर्छ । यसकारण यो मेसिन प्रयोग गर्दा समय र मलको बचत हुनुका साथै गोडमेल गर्न पनि सजिलो हुन्छ । साथै, जमिनको तयारी र बीउ छर्ने खर्चमा करिब ५० प्रतिशत बचत गर्छ । नेपालमा प्रयोग गरिने यस्तो मेसिन प्रायः भारतबाट आयात हुन्छ । यस मेसिनको प्रयोगबाट समयमा नै बाली लगाउन सकिने र माटो चिस्यान संरक्षण गर्ने हँुदा उत्पादनमा करिब २० प्रतिशत वृद्धि भएको पाइन्छ । यस सिड ड्रिलले एक घण्टामा २-३ रोपनी जमिनमा बीउ छर्न सकिन्छ ।

ज्याब सिडर

नेपालको पहाडी र हिमाली भागमा मकै लगाउन यो मेसिन बढी प्रभावकारी हुन्छ । मकै रोप्नका लागि तयार गरिने बारीमा हामीले धेरै मेहनत गर्नुपर्छ । जस्तै, खनजोत गर्दा धेरै समय गोरु लगाउनुपर्ने, खेताला धेरै चाहिनेजस्ता झन्झट मकै लगाउँदा भोग्ने गरिन्छ ।

माटोको उर्वराशक्ति तथा उत्पादनमा पनि कमी आउनुको कारण माटोमा रहेको चिस्यान खनजोत गरेपछि कम र हराउँदै जानु हो । पुरानो खनजोत प्रविधि तथा धेरै खनजोतको प्रविधिले गर्दा वर्षाको समयमा माटो बगाउने, मकैको जरामा माटो कम हुने हुँदा उत्पादनमा कमी आउँछ ।

टिलर र मिनी टिलर

टिलर र मिनी टिलर खेत जोत्न प्रयोग गर्ने गरिन्छ । नेपालमा प्रायः चीन र भारतमा बनेका टिलर एवं मिनिटिलर बिक्री हुने गर्छ । कुनै-कुनै मेसिन खन्ने मात्रै नभएर खेत सम्याउने र बीउ छर्ने काममा पनि प्रभावकारी हुन्छ । यस्तो मेसिनले एक घण्टामा एक रोपनी खेत जोत्न सक्ने र त्यसको लागि एक लिटर पेट्रोल खपत हुन्छ । गार्डेन, टनेल, कान्ला, तरकारी खेतीका लागि तराईको समथर भूभागदेखि पहाडका कान्लासम्म यसको प्रयोग गर्न सकिन्छ ।

यसबाहेक पनि इन्कुबेटर, दिब्लर, गोरुले तान्ने सिड ड्रिल, हातले तान्ने सिड ड्रिल आदि पनि कृषि आधुनिकीकरणमा प्रयोग हुने औजारहरु हुन् । तरकारीको बेर्नालाई मेसिनभित्र राखेर सम्बन्धित ठाउँमा लगेर रोप्न सकिन्छ । यसको बढी प्रयोग पहाडी क्षेत्रमा हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?