
२५ चैत, काठमाडौं । अछाम र सुर्खेतको सिमानामा बन्ने बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको मुआब्जा निर्धारणको काम सकिएको छ । ४३९ मेगाावाट क्षमताको यो जलविद्युत आयोजनाको निर्माण ५ वर्षमा सक्ने लक्ष्य छ ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीको अध्यक्षतामा बसेको बैठकले अछामको ढकारी र तुर्माखाँदका बासिन्दाको जग्गालाई वर्गीकरण गरेर मुआब्जा दिने निर्णय गरेको छ । कृषियोग्य जग्गालाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ श्रेणीमा वर्गीकरण गरिएको छ । ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका जग्गालाई प्रतिरोपनी ७ लाख ३० हजार ९०४ रुपैयाँको दरले मुआब्जा दिइने छ । यसैगरी ‘घ’ र ‘ङ’ श्रेणीका जग्गाधनीले प्रतिरोपनी पाँच लाख ४६ हजार ३३२ रुपैयाँको दरले मुआब्जा पाउने छन् ।
अछाम क्षेत्रमा मात्रै १८ सय ४४ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने आयोजनाका प्रवन्धक एवम् मुआब्जा निर्धारणको प्रारम्भिक अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । अछाम तर्फको मुआब्जाको काम सकिएकाले अब सुर्खेततर्फको काम पनि सकिनासाथ रकम बाँड्न सुरु हुने न्यौपानेले बताए ।
यस्तो हुनेछ आयोजनाको संरचना र लागत
आयोजना प्रवन्धक न्यौपानेका अनुसार यो आयोजनाले अछामको ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको क्षेत्र ओगट्छ ।
पूर्वाधार निर्माण गर्ने क्रममा अछामतर्फको १८ किलोमिटर लामो पहुँचमार्ग बनाइसकिएको छ । सुर्खेततर्फको पहुँच मार्ग पनि बनेपछि भोक्रे खोला नजिक करिब ७० मिटर लामो बेलिब्रिज बनाइने छ ।
आयोजनाको ड्याम (बाँध) ८९ मिटर अग्लो हुने छ । ड्याम चौकुने र ढकारीका वडा नं. ६ अन्तर्गत मालुमेलातर्फ बन्दछ । त्यसबाट ८–८ मिटर डायमिटरका तीनवटा सुरुङ बनाइन्छ । यी सुरुङ दुई किलोमिटर लामा हुन्छन् । ४४० मिटर लामो टनेल खनिसकिएको छ ।
यसको पावर हाउस अन्डरग्राउन्ड हुन्छ । पावर हाउसमा ६ वटा जेनेरेटर हुन्छन् । त्यसबाट ४३९ मेगावाट बिजुली उत्पादन हुन्छ । आयोजना प्रमुख न्यौपानेले अनलाइनखबरसँग भने, ‘गिगावाटको हिसाबमा यो तामाकोसी भन्दा पनि ठूलो हो । यसले २४०६ गिगावाट/आवर इनर्जी दिन्छ ।’
यसबाट उत्पादित बिजुली पाँच किलोमिटर लामो प्रसारण लाइन बनाएर बेतन हब भन्ने सब स्टेशनमा जोडिन्छ । सुर्खेत जिल्लाको बेतन गाउँमा सब स्टेशनमा निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
त्यहाँबाट ३० किलोमिटर टाढा पर्ने दुदुधाराको पूर्वपश्चिम ट्रान्समिसन लाइन र बोर्डर लाइनमा बिजुली जोडिन्छ । ‘यो आयोजनाको डिपीआरको काम सकिएको छ । अब यसको वित्तीय व्यवस्थापन र विद्युत खरिदको प्रक्रिया अघि बढाइएको छ,’ न्यौपानेले अनलाइनखबरसँग भने ।
यो आयोजनामा सञ्चयकोषका सञ्चयकर्ताको ४० प्रतिशत, सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडको १०–१० प्रतिशत लगानी छ । त्यसैले यसको नाम नै बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेड छ । यसमा सर्वसाधारणको २५ प्रतिशत लगानी हुने छ ।
यसको अनुमानित लागत ७४ अर्ब १५ करोड लाग्ने र यसबाट वार्षिक रुपमा १४ अर्ब आम्दानी हुने अध्ययनको निष्कर्ष छ ।
प्रतिक्रिया 4