+
+

मान्छेका हड्डीसहित भारतीय विद्यार्थी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १६:००

२९ चैत, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट मानवको हड्डीसहित सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बीओपी (बोर्ड आउट पोस्ट) रानीले मंगलबार दिउँसो सीमावर्ती क्षेत्र रानीबाट मानव शरीरका हड्डीसहित भारत बिहारको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो ।

सिन्हा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत रहेको प्रहरीले बताएको छ । उनको साथबाट प्रतिष्ठानले सन् २०१६ मा जारी गरेको परिचय पत्र पनि फेला परेको छ । पढाइ सकेर भारत फर्कने क्रममा उनले कार्टुनमा लुकाएको अवस्थामा कङ्काल फेला थियो ।

सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछानेका अनुसार सिन्हाको साथबाट एउटा मानिसको सिङ्गो शरीरको हड्डी बरामद भएको बताए । सिन्हाले भारततिर लैजाँदै गरेको अवस्थामा मानव खप्पर, बंगारा, घाँटी र हिपको हड्डी १/१ वटा, काँधको हड्डी २, खुट्टाको नली हड्डी ३, हातको हड्डी ६, करङ ७, ढाड, औंला र कुर्कुच्चाको हड्डी ८/८ वटा बरामद भएको उनले बताए ।

पक्राउ परेका युवकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पढ्ने पुराना विद्यार्थीबाट अध्ययनका लागि मानव कङ्काल पाएको र पढाइ सकिएपछि घर फर्कने क्रममा लगेको बताएका छन् । उनले मानवको हड्डी लगेको विषयमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई जानकारी नगराएको बताए । ‘एमबीबीएस अध्ययन गर्दा अग्रज साथीबाट लिएको थिएँ,’ उनको भनाइ उधृत गर्दै प्रहरीले भन्यो, ‘अरुसँग पनि छ ।’

नेपाल भारत सीमा नाकाबाट पक्राउ परेका सिन्हालाई सशस्त्र प्रहरीले आवश्यक कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

सशस्त्रले गत असोज १८ गते भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा विराटनगर–१५ बाटै मावन खप्परका टुक्राजस्तो २८ वटा र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० वटा बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?