२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चुनावी तालमेलका कारण स्थानीय तहका प्रमुख पदमा महिला सहभागिता कम हुन नदिने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा महिला अधिकारकर्मीसँगको छलफलमा हुने महिला सहभागिता कम हुन नदिने विषयमा आफूहरु सचेत रहेको बताए ।
‘गठबन्धन गर्दा एउटा पार्टीको एक मात्र उम्मेदवार हुने अवस्थामा सबैतिर पुरुष आउने हो कि भन्ने चिन्ता छ’,उनले भने, ‘त्यसलाई हामी ब्यालेन्स गर्छौं, म आफैं गठबन्धनको संयन्त्रमा छु । गठबन्धनका कारणले महिला सहभागिता कम हुन दिँदैनौं ।’
उनले स्थानीय तह निर्वाचनमा हाल नगरपालिकाका उपमेयर र गाउँपालिका उपाध्यक्ष रहेका महिलालाई मेयर र अध्यक्षको उम्मेदवारमा प्राथमिकता दिने पनि बताए ।
माओवादी केन्द्रका तथा केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेका उनले संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला अनिवार्य गरेको भन्दै आफ्नो दलले त्यसलाई बढाएर कम्तीमा ३५ प्रतिशत सुनिश्चित गर्ने नीति लिएको जनाए ।
पुनले राजनीतिक र प्रशासनिक नेतृत्वमा जनसंख्याका आधारमा महिला सहभागिता गराउनुपर्ने आफ्नो पार्टी धारणा रहेको पनि बताए ।
उनले संविधानले ग्यारेण्टी गरेको ३३ प्रतिशतमा महिला र पुरुषबीच नभई महिला महिलाबीच प्रतिस्पर्धा गराउन सके परिणाम राम्रो आउने बताए । ‘३३ प्रतिशत ठाउँमा महिलामहिलाबीच मात्र प्रतिस्पर्धा गराउन सकिए जो आए पनि अब्बल महिला आउँथ्यो’, नेता पुनले भने ।
प्रतिक्रिया 4