चैत पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा परिवारको आर्थिक आवश्यकता पूरा गर्न विदेशिनेहरुको भीड थियो । त्यसमध्ये धेरै प्लस टु सकेर जानेहरु पनि थिए । उनीहरुलाई विमानस्थलसम्म बिदाई गर्न आउने परिवारहरु भक्कानिन्थे, अँगालोमा कस्थे र आँखाले देखेसम्म हेरिरहन्थे र आफैंलाई धिक्कार्थे । विशेषगरी रोजगारीको लागि खाडी जानेहरुमा यस्तो पीडा बढी हुन्थ्यो ।
विमानस्थलको त्यो कारुण दृश्य हेर्दैगर्दा राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको र बाल्यकालमा पढेको एउटा कविता स्मरण भयो ।
गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली ।
जय जय जय नेपाल, सुन्दर शान्त विशाल ।।
यो कवितासँगै मुलुकको प्राकृतिक बनोट र सुन्दरता सम्झिएँ । कविले भनेजस्तै विशाल सुन्दर शान्त र विशाल नै छ । यहाँका मान्छेको मन पनि विशाल नै छ । तर विमानस्थलमा हुने यो पीडादायी दृश्य हेर्नुपर्ने अवस्था कसरी आयो त ? यो पक्कै पनि धेरैतिर विश्लेषण भइरहेकै कुरा हो ।
अहिले मुलुकमा चुनावी माहोल सुरु भइसकेको छ । सबै राजनीतिक दलको घोषणापत्र पनि आउने बेला भएको छ । पूर्ववत् अवस्थाजस्तै सबै दलले नेपालीलाई खाडीमा जानु नपर्ने बाचा बोकेर पक्कै पनि आउँछन् । तर अझै पनि खाडीबाट रेमिट्यान्स घट्यो भने मुलुकको अर्थतन्त्र धरमराउँछ । त्यसैले पनि मुलुक खाडी पठाउनबाट रोक्ने भन्दा पनि यसलाई प्रोत्साहन गर्छ ।
नेपालमा हरेक उमेर समूहका व्यक्तिमा विदेश मोह बढ्दो छ । बेलाबेलामा आउने आर्थिक उचारचढावले झनै विदेशिन चाहनेलाई बल दिने गरेको छ । यस्तो अवस्थामा कवि मनले भने जस्तो राष्ट्रभक्ति कसरी जोगिइरहला ?भन्ने एउटा सोचनीय विषय बनेको छ । +२ तथा उच्च शिक्षामा अध्ययनरत अधिकांश विद्यार्थी कुनै न कुनै रुपमा बैदेशिक शिक्षाको लागि अतिरिक्त कक्षामा धाउने गर्छ । सन् २०२० र २०२१ को तथ्याङ्क हेर्ने हो भने नेपालबाट विदेशीनेको सङ्ख्या तुलनात्मक रुपले धेरै नै कम छ । तर यो मुलुकमै सम्भावना देखेर बसेको नभई कोरोना भाइरसको महामारी मुख्य जिम्मेवार छ भन्ने कुरामा दुईमत नहोला । कोरोना कम भएपछि २०२२ को सुरुवाती महिनामा विदेशिनेको तथ्यांकले पनि यसलाई पुष्टि गर्छ ।
२०२२ को पहिलो ३ महिनामा अध्यागमन विभागले निकालेको तथ्यांकअनुसार जनवरी महिनामा कुल एक लाख ५ हजार ९ सय ८४ जना नेपाली नेपालबाट बाहिरिएका छन् । त्यस्तै, फेब्रुअरी महिनामा ८० हजार ५ सय २१ जना र मार्च महिनामा कुल ९८ हजार ५ सय ५५ जना नेपालीहरु नेपालबाट बाहिरिएको तथ्यांक छ । तीन महिनामा कुल २ लाख ८५ हजार ४८ जना नेपालीहरु विदेशको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका छन् । यो तथ्यांकमा करिब एक लाख जनालाई नेपाल फर्कने गरी विदेश भ्रमणकै लागि गएको मान्ने हो भने पनि जम्मा ३ महिनामा एक लाख ८५ हजार नेपाली कुनै न कुनै रुपमा विदेशमा आफ्नो श्रम बेच्नकै लागि गइसकेका छन् । यसको अर्थ २०२२ को सुरुवाती ३ महिनामा नेपालको करिब २ लाख जनशक्ति विदेशको भइसकेका छन् । हवाई उडानको लागि टिकटको हाहाकार देख्दा अप्रिल महिनामा विदेशिनेको संख्या गुणत्मक हिसाबले बढ्ने अनुमान सजिलै गर्न सकिन्छ ।
यी तमाम तथ्यांकले आजको समयमा अधिकांश नेपालीहरु कुनै न कुनै रूपमा विदेश जान चाहिरेका छन् भन्ने देखाउँछ । स्कुल सकेपछि +२ मा र नभए स्नातक वा स्नातकोत्तरमा भए पनि विदेशी विश्वविद्यालयमा पढ्न चाहिरहेका हुन्छन् । यदी कुनै अवस्थामा विद्यार्थी भिसामा भएनभने कि त बसाइँ भिसा वा श्रम भिसामा भए पनि नेपालीहरु विदेश जान चाहन्छन् । यसमा प्रत्यक्ष र परोक्ष रुपमा राज्य सञ्चालनको जिम्मेवार पदमा बस्नेहरु जिम्मेवार रहेकोमा दुईमत छैन ।
त्यसो त नागरिकहरु पनि यसमा निर्दाेष भने छैनन् । सरकारी अड्डामा जाँदा विधि पुर्याउने भन्दापनि अतिरिक्त शुल्क तिरेर छिटो काम सक्न खोज्छौं । नेपालमै बसेर विदेशको जस्तो सिस्टम खोज्ने हामीहरु सडक पार गर्दा पनि नियमको खिल्ली उडाउँछौं । आफू विदेश जाने पक्का भएकाहरुमा छुट्टै दम्भ देखिन्छ । युरोप तथा अमेरिकी मुलुकबाट फर्किएकाहरुको त दम्भ झनै बढी हुन्छ ।
आवश्यकता, रहर, बाध्यता वा विवशताका कारण वा भावनात्मक तत्वहरुले विदेशको भूमिप्रति आकर्षित भएका हामी नेपालीलाई यहाँको हरेक गतिविधि झर्को लाग्ने गर्छ । पासपोर्ट बनाउनेदेखि लिएर एयरपोर्टमा २ किलो सामान धेरै हुँदासम्म सेटिङ गर्न वा घुस खुवाउन पल्केका हामी नेपाली आफैं भष्ट्राचारले नेपाललाई खाएको भन्दै खिन्नता पोख्दै हिँड्छौं । यसमा सरकारको निरीहपन वा लाचारी नभएको पक्कै होइन तर माग्यो भन्दैमा घुस खुवाउन तत्पर हुने के हामी गलत छैनौँ त ?
शिक्षा मन्त्रालयमा दैनिक एनओसी लिनेको भीड तथा वैदेशिक रोजगार विभागमा श्रम स्वीकृति लिन बसेको लाइनले नै यो कुरालाई थप स्पष्ट पार्छ । सक्नेहरु रेसिडेन्ट भिसा, नसक्नेहरु विद्यार्थी भिसामा त्यो पनि नसक्नेहरु श्रम भिसामा र अन्तिममा हँुदै नहुनेहरु गैरकानुनी बाटो, यी मुख्य चार खम्बाले नै नेपालको अधिकांश जनशक्तिलाई बाहिरिन पुलको काम गरिरहेको छ ।
हाल नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हुने विदेशी मुद्रा आर्जनको स्रोत भनेको रेमिट्यान्स नै हो । उद्योग, कलकारखाना तथा कृषि जस्ता उत्पादनशील काम गरेर निर्यातमुखी बन्नेभन्दा सरकार अहिले रेमिट्यान्स भित्र्याउन उद्दत छ ।
विदेशिने तयारी गरिरहेका वा योजना बनाउँदै गरेका जो कोहीलाई पनि जानको कारण सोधियो भने लगभग सबैको साझा जवाफ ‘नेपालमा बसेर के गर्ने ?’ भन्ने आउँछ । ‘नेपालमा भविष्य छैन’ वा ‘नेपालमा कामै छैन’ यो जवाफ सुन्दा लाग्छ कि नेपालमा बसेर केही गर्छु भन्नेहरूको जीवनमा कुनै कामै छैन वा भनौं विदेश जान्न भन्नेहरुको कुनै भविष्य नै छैन ।
केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्क हेर्ने हो भने नेपालमा लगभग हरेक परिवारबाट एकजना विदेशमा छन् र यो सङ्ख्या बढ्दो छ । विद्यार्थी भिसामा जान सम्बन्धित देशले तोकेको परीक्षामा उनीहरुले निर्धारण गरेको मापदण्ड पूरा गर्नैपर्छ, जुन सबैको वशमा हुँदैन । यसरी सरकारी लाचारीका कारण अब्बल जनशक्ति विदेशिने क्रमले स्थिति भयावह बन्न सक्छ । दलालको पछि लागेर भएको पुख्र्यौली सम्पतीलाई कौडीको भाउमा बेचि नपुगेको पैसाको लागिआफ्नो परिवारलाई बन्दकी राखेर ऋण लिएर भएपनि विदेशको सपना पूरा गर्ने हामी नेपालीलाई नेपालका सीमाभित्रै राख्न सरकारले नीति लिनै पर्छ ।
प्रतिक्रिया 4