+
+

सरकारका ‘विवादित’ निर्णयमा कांग्रेस बैठकमा असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते ९:१६

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठकमा सरकारका विवादित निर्णयमा नेताहरुले प्रश्न उठाएका छन् ।

गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको निलम्बन,नेपाल टेलिकमको प्रबन्ध निर्देशक सुनिल पौडेलको नियुक्ति तथा बिग्रँदो अर्थतन्त्रका विषयमा नेताहरूले धारणा राखेका थिए ।

टेलिकमको प्रबन्ध निर्देशक विवादित व्यक्ति भएको प्रति महामन्त्री विश्वप्रकाश शर्माले विचार राखेका थिए । ‘ओली सरकारका बेला उतै पनि मिलनसार, अहिले यतै मिलनसार, व्यक्ति योग्य र प्रोफेसनल भएर यस्तो भएको हो कि महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदनले गलत प्रश्न उठाएको हो ?’ बैठकमा शर्माले प्रश्न गरे,’कर्मचारीले उठाएका प्रश्न नजरअन्दाज गर्नु सही भएको छ ?’

शर्माको प्रश्नलाई तत्कालै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जवाफ फर्काएका थिए । खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति छानिएको भन्दै कार्कीले बचाउ गरेका थिए । कार्कीको बोली उधृत गर्दै एक नेताले भने,’गोल्ड मेडलिस्ट व्यक्ति हो । मेरो नाता सम्बन्ध भएर छनोट गरिएको होइन । खुला प्रतिस्पर्धाबाट छानिएको हो ।’

स्थानीय तहको निर्वाचनको लागि घोषणापत्रमा सुझाव संकलनका लागि डाकिएको बैठकमा मुख्यतः घोषणापत्रमै छलफल भएको सहमहामन्त्री भीष्म आङदेम्बेले जानकारी दिए ।

अर्थतन्त्रमा देखिएको समस्याको निराकरणका लागि आयातलाई प्रतिस्थापन गरेर निर्यात बढाउने विचार राखेको आङदेम्बेले बताए ।

अर्थमन्त्रीको कार्यक्षमतालाई लिएर केही नेताले असन्तुष्टि व्यक्त गरेका थिए । ‘अर्थतन्त्रमा चुनौती बढेका बेला वृहत्तर समन्वय जरुरी थियो ।’ महामन्त्री शर्माले बैठकमा प्रश्न गरे,’गभर्नर निलम्बनमै पुग्नुपर्ने गरी त्यस्तो गम्भीर र बाध्यात्मक विषय थियो र ?’

अर्थमन्त्री जनार्दन शर्माले खस्कँदो अर्थतन्त्रप्रति उचित पहल लिन नसकेकोमा बैठकमा नेताहरुले चिन्ता व्यक्त गरेको सहमहामन्त्री आङदेम्बेले जानकारी दिए । ‘अर्थमन्त्रीको पर्फमेन्स ठीक नभएको र उहाँका विषयमा अरु केही कुरा उठेका छन्,’ आङदेम्बेले भने ।

बैठकमा बोल्ने अधिकांश नेताहरूले तालमेलका विषयमा भने खासै नबोलेको उनले बताए । महामन्त्री शर्माले भरतपुरमा अघिल्लोपटक कांग्रेसले सघाएकाले यसपटक माओवादीले सहयोग गर्नुपर्ने मत राखेका थिए । ‘प्रमुखमा हिजो कांग्रेसले सघायो यो पटक माओवादीले सघाउनु पर्छ । भरतपुरका साथीहरूको भावना कुल्चिएर अघि बढ्न सकिन्न,’ शर्माले बैठकमा भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्ट फुटेर कांग्रेस बलियो नभएको सांच नराख्न नेताहरुलाई आग्रह गरेका थिए । ‘फुटिहालेका छन् । जितिहाल्छौं भन्ने कुरा बेकारका कुरा हो,’ प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको बोली उधृत गर्दै आङदेम्बेले भने,’गठबन्धनकै कारणले हामीले यो अवसर पाएका हौं । एमाले भित्र नै विद्रोह गरेर माधवजीहरु आउनुभएको छ । राजनीतिक बेइमानी गर्नुहुँदैन ।’

महामन्त्री शर्माले अभिव्यक्ति स्वतन्त्रतामै असर पुग्ने गरि निर्वाचन आचार संहिताको प्रावधान रहेको प्रति ध्यानाकर्षण गराएका थिए ।

घोषणपत्र समावेश गरिने मूल विषयमा नेताहरुले विचार राखेको प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिए । कतिपय समानुपातिक सूचीमा भएका केही नेताहरु उम्मेदवार बन्न इच्छुक देखिएकाले बन्द सूचीबाट नाम हटाउने प्रक्रिया सुरु गरिने उनले बताए ।

गठबन्धनका दलहरु बीच तालमेलका लागि भएको सहमतिका विषयमा पनि सामान्य छलफल भएको सहमहामन्त्री जीवन परियारले बताए ।

बैठकमा उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु- महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्ऽ यादव, जीवन परियारले विचार राखेका थिए ।

साथै नेताहरु विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, जीपछिरिङ लामा र एन.पी. साउदले आफ्ना विचार राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?