१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र धेरै नेता इमान्दार रहेको तर नेतृत्वको बन्दी भएको बताएका छन् ।
बिहीबार आफ्नै निवास खुमलटारमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा उनले एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व पनि आफूले गर्ने जिकिर षरे ।
‘एमालेका सबै खराब छन् भन्ने पनि सोच्नुहुँदैन,’ प्रचण्डले भने, ‘एमालेभित्र तीन वर्ष हेर्यौं नि हामीले को–को कस्ता रहेछन् भन्ने । त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै । तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’
उनले थपे, ‘प्रतिक्रियावादी, प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएका छन्, हामीले तीनलाई मुक्त गर्नुछ । हामीले तीनलाई पनि मुक्त गर्नु छ र तीनको पनि नेतृत्व गर्नुछ । त्यो सोचाइ नराखीकन क्रान्ति अगाडि बढ्दैन ।’
प्रचण्डले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने समेत दावी गरे। ‘परार एमालेसँग एकता गर्दा माओवादी नफुटेको हुन्थ्यो भने हामीले ६०/४० लिन्थ्यौं । त्यस्तो हुन्थ्यो भने पार्टी फुट्दैन्थ्यो । हामी साँच्चै समाजवादतिर लिएर जान्थ्यौं’ उनले भने ।
पू्र्व माओवादीहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै प्रचण्डले त्यो मात्रै पर्याप्त भने नहुने बताए । उनले भने, ‘हामीले माओवादीहरुलाई ध्रुवीकृत गर्नुको अर्थ माओवादीलाई मात्रै भन्ने बुझ्नुहुन्न । हामीले सबै कम्युनिष्टलाई एकीकृत गरेर समाजवादसम्म पुग्ने हो । तर, त्यसको सुरुवात माओवादीहरुबीच ध्रुवीकरण गरेर नै गर्ने हो ।’
प्रतिक्रिया 4