
मोरक्कोमा भएको जलवायु सम्बन्धी सम्मेलनमा नेपाल नगरपालिका संघको तर्फबाट म आफै सहभागी थिएँ । हामीले वातावरणका विषयवस्तुलाई महत्वका साथ उठाउनुपर्छ । विकसित मुलुकहरुले उत्पादन गरेको कार्वनका कारण हामीजस्ता मुलुकहरुले प्रभाव खेप्नुपरिरहेको छ ।
त्यसको असर न्यूनिकरण गर्न सरकारले नीति र योजना बनाइसकेको छ । कानूनी रुप दिएर कतिपय प्रतिवद्धता पुरा गर्नुपर्ने अवस्थामा हामी र्छौ । हामीले जलवायु परिवर्तनका विषयहरुलाई स्थानीयकरण गर्नुपर्छ । त्यसका लागि नेपाल नगरपालिका संघले विभिन्न पाँचवटा कार्यक्रम गरिरहेको छ ।
हामी घरबाट निस्कने फोहोरबाट ग्यास उत्पादन गर्ने योजना सञ्चालन गरिरहेका छौं । फोहोरपानी प्रशोधनका काम गरिरहेका छौं । जलवायु परिवर्तनबाट हुने असर न्यूनिकरण गर्न पहाडी क्षेत्रमा हुने खानेपानी अभावलाई सम्बोधन गर्न पनि कार्यक्रम सञ्चालन भइरहेको छ । किनकी केही वर्षयता पहाडी क्षेत्रमा खानेपानीको अभाव हुदै गएको छ । अहिले पहाडी बस्तीहरु विस्थापित हुदै गइरहेका छन् । बस्ती सँगसँगै त्यहाको सस्कृति परम्परा पनि लोप हुने खतरा छ ।
पहाडी क्षेत्रहरुको वातावरणीय सन्तुलन कायम राख्न विभिन्न कार्यक्रम गरिरहेका छौं । त्यसका लागि कुवा, पोखरी संरक्षण गर्ने कार्यक्रम अघि बढेको छ । पानी रिचार्ज हुन मद्दत गर्ने खालका कार्यक्रम अघि बढाउने तयारीमा छौं ।
कृषि क्षेत्रमा पनि जलवायु परिवर्तनको असर परिरहेको छ । त्यसलाई न्यूनिकरण गर्न केही अध्ययनहरु भएका छन् । भारतको देहरादुन पनि यस्तै मारमा परेकाले उसले पनि अध्ययन गरिरहेको छ । जलवायु परिवर्तनले खानेपानी र कृषि क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्ने र न्यूनिकरणका उपाय पत्ता लगाउने अध्ययनको उद्देश्य छ ।
हामीले नेपाल सरकारसंग र अन्तराष्ट्रिय फोरमहरुमा पनि यी विषय उठाउने गरेका र्छौ । त्यहा उठेका एजेण्डाहरुलाई स्थानीयकरण गर्न आवश्यक छ । देशका विभिन्न नगरपालिकाहरुलाई यसका वारेमा सचेतना जगाउने काम हामीले गरिरहेका छौं ।
नेपालको परम्परागत प्राकृतिक स्रोतहरुको व्यवस्थापन एउटा चुनौती हो । जलवायु परिवर्तनले त्यसमा परेको असर घटाउनुपर्छ । अर्कोतर्फ मानवजन्य क्रियाकलापका कारण प्राकृतिक स्रोतमा पर्ने असरलाई न्यूनिकरण गर्नुपर्छ ।
ठूलो प्रकृतिको र नीतिगत कामका लागि नेपाल सरकार क्रियाशिल हुनुपर्छ । शहर भनेको आम्दानी हुने ठाँउ र आर्थिक स्रोतको क्षेत्र समेत हो । त्यो क्षेत्रमा विभिन्न फोहोर उत्पादन हुनुका साथसाथै त्यसले प्रदुषण पनि बढाउँछ । फोहोर विसर्जन र नविकरणीय फोहोरका विषयलाई सँगसँगै लैजानुपर्छ ।
अस्पतालदेखि विभिन्न ठूला उद्योग र घरबाट उत्पादन हुने सामान्य फोहोर विसर्जनमा ध्यान दिनुपर्छ । काठमाडौं देशको राजधानी हो । सबैभन्दा बढी जनसंख्या त्यही नै छ । सबैभन्दा बढी आर्थिक क्रियाकलाप त्यही नै हुन्छ ।
राज्यका अति विशिष्ट पदाधिकारीदेखि उच्चपदस्थ कुटनीतिज्ञहरु त्यही नै बस्छन् । काठमाडौंको फोहोर व्यवस्थापनलाई हामीले बैज्ञानिक रुपमा सोच्न सकेनौं । मुलुकको आर्थिक र सामाजिक रुपान्तरण सोचेका मानिसहरु त्यही बस्छन्, तर त्यहीको समस्या समाधान हुदैन भने कि त हामीले ध्यान दिएनौं भन्नुपर्ने हुन्छ अथवा कि यो समस्या हाम्रो प्राथमिकतामा परेन भनेर मान्नुपर्ने हुन्छ । नेतृत्वले नै यस्तो जल्दोबल्दो समस्या बुझेन भने समाज रुपान्तरणको सम्भावना न्यून हुन्छ ।
अब नीति निर्माणदेखि त्यसको कार्यान्वयन गर्नेसम्म, दातृ निकायदेखि अन्य सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुपर्ने आवश्यकता छ । विपत व्यवस्थापनसँग जोडेर देशभरका स्थानीय तहहरुले कानून बनाउने, जोखिम न्यूनिकरणका लागि कोष स्थापना गर्नुपर्ने आवश्यकता छ । विपत व्यवस्थापनसँग सम्बन्धित समिती बनाउने लगायतका काम गर्नुपर्छ । भुकम्प, बाढीपहिरो, आगलागी लगायतका विपतसँग जुध्न हामी सधैं तयार हुनुपर्छ नै ।
अहिले सबैभन्दा बढी चिन्ता पहाडी बस्ती र हिमाली क्षेत्रमा छ । हिमालमा हिउ घटिरहेको छ । यस्तो जल्दोबल्दो विषयमा त विश्वव्यापी प्रतिवद्धता चाहिन्छ । नगरपालिकास्तरमा मात्रै काम गरेर यस्तो समस्यालाई सम्बोधन गर्न सकिदैन ।
विश्वव्यापी प्रतिवद्धताका लागि नेपाल सरकारले अभियान चलाउन आवश्यक हुन्छ । शहरीकरणले वातावरणमा पार्ने प्रभाव सकेसम्म जोगाउनुपर्छ । प्रत्येक शहरले बाटो, ढल, विद्यालय बनाएजस्तै प्रदुषण घटाउने अभियान पनि चलाउनुपर्छ ।
आफूले आदर्शका कुरा मात्रै गर्यो भन्ने पर्ला । हामीले धुलिखेल नगरपालिकालाई प्रदुषणमुक्त शहर बनाउने अभियान थालेका छौं । स्वच्छ उर्जा प्रवद्र्धनका योजनामा काम गरिरहेका छौं । जनताको घरघरमा विद्युत पुर्याउने भनेर अभियान थालेका छौं । अहिले नै ९८ प्रतिशत घरमा विद्युत पुगेको छ । त्यो अभियानका क्रममा करिव एक हजार इण्डक्सन चुल्हो बाडिसकेका छौं ।
हामीले कुल घरधुरीमध्ये ७१ प्रतिशत घरबाट निस्कने फोहोरपानी प्रशोधन गरेरमात्रै फ्याक्ने व्यवस्था गरेका छौं । फोहोरबाट ग्यास उत्पादन गर्ने र घरघरमा वितरण गर्ने योजनामा छौं । पाँचवटा प्रशोधन केन्द्र बनाइसकेका छौं ।
प्रत्येक उद्योग र होटलले पानी खपत गरिरहेका हुन्छन्, आफूले उत्पादन गरेको प्रदुषित पानी र फोहोर आफै व्यवस्थापन गर्ने उद्योगहरुले १० प्रतिशत करछुट पाँउछन् । अन्तराष्ट्रियस्तरमा समस्या देखिएको विषयलाई स्थानीय रुपमा सम्बोधन गर्नु निकै महत्वपूर्ण कुरा हो भन्ने हामीलाई लाग्छ ।
विश्वव्यापीरुपमा देखिएको जलबायु परिवर्तनको समस्यासँग जुध्न हामीले तीन तहमा प्रतिवद्ध हुन आवश्यक छ । अन्तराष्ट्रिय मञ्चहरुबाट यो विषयलाई जल्दोबल्दो रुपमा उठाउनुपर्छ । राष्ट्रिय सरकारहरुले आफ्नो मुलुकको समस्या अन्तराष्ट्रियकरण गर्नुपर्छ । अनि स्थानीय तहमा समस्याहरुसँग जुध्न काम थाल्नुपर्छ ।
अन्तराष्ट्रिय विषयले स्थानीय रुपमा समस्या पार्छ भने त्यो स्थानीय सरकारले समस्यालाई एजेण्डा बनाउनुपर्छ । त्यसका लागि स्थानीय तहका जनप्रतिनिधीहरु सजय हुन आवश्यक छ । विभिन्न अन्तराष्ट्रिय सम्मेलनमा नेपालका नगरपालिकाको तर्फबाट अनि म आफूले प्रतिनिधित्व गर्ने धुलिखेल नगरपालिकाको तर्फबाट मैले यो एजेण्डा उठाएको छु ।
विश्वका १५ नगरपालिकाहरुले शुन्य कार्बन उत्सर्जन गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसमा धुलिखेल पनि पर्छ । हामी त यस्तो प्रतिवद्धता जनाएर काम थाल्ने दक्षिण एसियाकै पहिलो शहर हौं । त्यसको रणनीति योजना बनाउने काम भइरहेको छ ।
हामी राष्ट्रिय मात्रै होइन, यो विषयमा अन्तराष्ट्रिय स्तरमा नै नेतृत्व गरेर अघि बढ्ने योजनामा छौं । हामी प्रदुषण नियन्त्रणमा प्रतिवद्ध रहेको र त्यसको कार्यान्वयन गरेको शहरको रुपमा परिचित हुन चाहन्छौं ।
जलवायु परिवर्तनको विषय अलि फरक छ । यसमा विकसित मुलुकहरुले गल्ती गरिरहेका छन् । सजाय हामी भोगिरहेका छौं । हाम्रा दुई छिमेकी मुलुकहरुमा ठूलाठूला उद्योग छन्, कार्वत उत्सर्जनमा ती मुलुक अग्रपंतीमा छन् । सजाय हामीले भोग्नुपरेको छ, किनभने नेपालले त कति नै कार्बन उत्सर्जन गर्छ र ?
यो मामिलामा नेपालको भूमिका कम छ तर क्षति हामीले नै बढी भागिरहेका छौं । यस्तो विषयमा जसको भूमिका ज्यादा छ, प्रतिवद्धता पनि उसैको बढी हुनुपर्छ । यस्तो विषयमा उनीहरुको ध्यानाकर्षण गराउन नसक्नु चै हाम्रो कमजोरी हो ।
यस्ता मामिलालाई स्थानीय तहसम्म पुर्याएर ब्यापक छलफलको बिषय बनाउनु पर्छ । आगामी निर्वाचन हाम्रो लागि एउटा उपयुक्त अवसर बन्न सक्छ ।
(धुलिखेल नगरपालिकाका मेयर एवं नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका ब्यञ्जुसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4