+
+

ललितपुर कांग्रेसमा मेयरका आकांक्षीबारे लेखाजोखा सुरु

लिलु डुम्रे लिलु डुम्रे
२०७९ वैशाख २ गते १९:०१

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, ललितपुर महानगरपालिका कार्यसमितिले मेयरका लागि चिरिबाबु महर्जनसहित सात जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस भएका अन्य नाममा शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठ छन् । नाम सिफारिस भएसँगै वहालवाल मेयर महर्जनसहित अन्य आकांक्षीबारे लेखाजोखा सुरु भएको छ ।

आकांक्षीका गुण दोष केलाउँदै कार्यकर्ता

ललितपुर महानगरको मेयरको रुपमा पहिलो कार्यकाल सकिनै लाग्दा दोस्रो पटकका लागि पनि सिफारिसमा परेका चिरिबाबु महर्जनको चर्चा स्वभाविक रुपमा धेरै छ ।

आउँदो कार्यकालका लागि मत हाल्दै गरेका कांग्रेस कार्यकर्ताले उनले पहिलो कार्यकालमा गरेका बाचा र बितेको पाँच वर्षमा पुरा भएका तथा अधुरा रहेका योजनाहरुको हिसाबकिताब गरिरहेका छन् ।

पाँच वर्ष महानगरको नेतृत्व गरेका चिरिबाबुले फ्लाइओभर लगायतका आफ्ना चुनावी बाचाअनुसार काम गर्न सकेनन् भने सम्य फाल्चा पुननिर्माण लगायतका काम गरेका छन् । छिमेकी महानगर काठमाडौंका मेयर विद्यासुन्दर शाक्यको तुलनामा कम विवादमा पर्दा पनि उनलाई सहज भएको कांग्रेस नेताहरु बताउँछन् ।

तर अघिल्लो कार्यकालमा चिरिबाबुले अघि सारेका केही योजना अघि बढ्न सकेनन् । विवादमा परेपछि शंखमुलमा शव अन्त्येष्टि गर्ने स्थल बनाउने योजना अलपत्र पर्‍यो । महानगरको कार्यालय भवन हुँदाहुँदै अर्को भवन बनाउन सुरु गरेको भन्दै आलोचना पनि भयो ।

‘महानगरपालिकाको कार्यालयलाई नयाँ भवन आवश्यक नै थिएन । अर्को भवन बनाउन लाग्नुभयो,’ ललितपुरका महर्जनको आलोचना गर्ने कांग्रेसका एक नेता भन्छन्, ‘महानगरमा करोडौंको बेरुजु देखिएको छ । भोलि एमालेले त त्यही मुद्धा उठाउँछ ।’

महानगरको स्वामित्वमा रहेका शटरहरु २८ वर्षदेखि भाडामा लगाइएको थियो । नयाँ प्रक्रियामा चिरिबाबुले टेण्डर मार्फत शटरहरु भाडामा लगाएका छन् । महानगरको आयस्रोत बढाउन टेण्डर प्रक्रियामा लानैपर्ने अवस्था रहेको मेयर पक्षको दाबी छ ।

‘हटाए भन्ने दोष छ, तरटेण्डर मार्फत् पारदर्शी तरिकाले सटर भाडामा लगाइएको छ,’ मेयरको निर्णय प्रक्रिया सहि भएको महानगरका प्रवक्ता राजु महर्जनले भने, ‘राजश्व संकलन बढेको छ । महानगरको आयस्रोत त बढ्यो नि । सस्तोमा बसेकाले विरोध गर्नु त स्वभाविक हो ।’ सटर भाडा वृद्धि भई महानगरको आम्दानी थपिएको प्रति उनले खुसी व्यक्त गरे ।

साइकल लेन बनाउने मेयरको अवधारण उपयुक्त भएपनि कार्यान्वयन हुन नसकेको प्रति उनीमाथि प्रश्न उठेको छ । महानगरले बनाएको कुपण्डोल–पुल्चोक–जावलाखेल र लगनखेल–मंगलबजार–पुल्चोकसम्म साइकल लेन प्रभावकारी देखिउको छैन ।

मेयरको अवधारणा ठीक भएपनि भौतिक संरचना निर्माण र अन्य नगरसँग समन्वय नहुँदा योजना कार्यान्वयन हुन नसकेकोे स्थानीय नेताहरु बताउँछन् ।

नगरकाभित्रि बाटो बनाएको जस चिरिबाबुले लिने प्रयास गरेका छन् । सडक निर्माणमा चिरिबाबुको मात्रै एक्लो प्रयत्नले नभएको बताउनेहरु पनि छन् । यद्यपी चिरिबाबुको विपक्षमा बोल्नेहरु नै उनले पुनः टिकट पाउने सम्भावना भने नर्कादैनन् । उनी केन्द्रीय सदस्य मदन अमात्य निकट रहेको चर्चा गरिन्छ । अन्तराष्ट्र्रिय स्तरमा ललितपुरलाई चिनाएको जस भने चिरिबाबुले पाएका छन् ।

मेयरका लागि सात जनाको सिफारिस भएपनि सर्वाधिक चर्चामा चिरिबाबुसँगै प्रेमकृष्ण महर्जन पनि छन् । २०५४ सालको उपमेयरमा महर्जन पराजित भएका थिए । उनी गत निर्वाचनमा प्रदेश सभा सदस्यमा समेत पराजित भएका जिल्ला नेता हुन् ।

‘पटक पटक टेस्टेड भएका उहाँलाई कतिपटक उम्मदेवार बनाउने ?’ महर्जनको पक्षमा रहेका ललितपुरका कांग्रेसका एक नेता भन्छन्, ‘उहाँलाई फेरि प्रदेश सभामा उठ्ने बाटो पनि छँदैछ ।’

कांग्रेसको महाधिवेशन प्रतिनिधि महर्जनलाई केन्द्रीय सदस्य उदय शमसेर राणा र जीतजंग बस्नेत साथ छ । ‘आम कार्यकर्तामा उनको सम्बन्ध बलियो नभए पनि जिल्लामा पार्टी भित्र परेको विवादको समाधान निकाल्ने व्यक्ति हो,’ स्थानीय नेता भन्छन् ।

पुरानो पुस्ताका जिल्ला नेता भरतलाल न्याछ्योको नाम अघिल्लोपटक पनि सिफारिस भएको थियो । उपसभापति पूर्णबहादुर खड्का,नेताहरु ज्ञानेन्द्रबहादु्र कार्की र डा मीनेन्द्र रिजाललाई आफ्नो कलेजका सहपाठी बताउने उनी भन्छन्, ‘४२ वर्षदेखि कांग्रेसमा निरन्तर लागेको हुँ । अब पनि टिकट पाइन भने बालुवामा धान रोप्ने बल अब गर्दिन ।’ सभापति शेरबहादुर देउवा सहित शीर्ष तहका नेताहरुले मेयरको आश्वासन दिएको उनले बताए ।

नयाँ पुस्ताबाट नगरका सभापति सुभानन धाख्वा मेयरको आकांक्षीमा छन् । राज्यले दलहरुलाई प्रतिवन्ध लगाएको बेला धाख्वा परिवारले गणेशमान सिंहलाई शरण दिएको थियो । ‘देशभर नयाँ पुस्ताको खोजी भइरहेको छ । सबै निर्वाचनमा पुरानैले टिकट पाउने हो भने हामीले कहिले पाउने?’ धाख्वाले प्रश्न गरे ।

सिफारिसमा परेका राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठ आकांक्षी भए पनि मेयरको दौडमा रहेका अरु भन्दा पछि रहेको जिल्ला नेताहरुको दाबी छ । सत्याल वहालवाला उपमेयर हुन् । महर्जन नगरमा कांग्रेसका पूर्व सभापति हुन् भने श्रेष्ठ महाधिवेशन प्रतिनिधि हुन् ।

साझाको मत नै निर्णायक

२०७४ को निर्वाचनमा चिरिबाबुले एमाले उम्मेदवारलाई झिनो अन्तरले पराजित गरेका थिए । चिरिबाबु २४ हजार ६४२मतका साथ विजयी हुँदा एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३१६ मत ल्याएका थिए । दुई उम्मेदवारको मतान्तर ३२६ छ ।

चौथो स्थानको मत माओवादी केन्द्रका उम्मेदवारले १० हजार ६६१ प्राप्त गरेका थिए । चुनावी तालमेल हुँदा कांग्रेसले माओवादी, एकीकृत समाजवादी लगायतका दलको मत पनि पाउन सक्छ ।

अघिल्लो पटक साझा पार्टीका रमेश महर्जनले पाएको १३ हजार ४५८ मत पाएका थिए । यो पटक विवेकशील साझा पार्टीबाट ललितपुरको मेयरमा उज्वल श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले रमेशको जस्तो मत पाउन नसक्ने एमाले र कांग्रेस नेताहरु बताउँछन् ।

त्यसैले थपिएका झण्डै १० हजार मतदाता र अघिल्लो पटक रमेशले पाएको मत कांग्रेस र एमाले दुबै दलले तान्न खोजेका छन् । ‘साझालाई १-२ हजार मत यसपटक जाला । हामीले र एमालेले तान्ने मत साझाकै हो’ कांग्रेस नगर सभापति धाख्वाले भने, ‘नयाँ थपिएका मतदाताबाट अलि अलि र साझाकै मत तानेर जित्ने हो ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?