+
+

एमाले अध्‍यक्ष ओलीले घोषणा गरे घलेगाउँलाई ‘सुखी गाउँ’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते २०:०४

२ वैशाख, लमजुङ। लमजुङ क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । गाउँमा बसी आफैं उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

‘शहरमा पाउने सुविधा घलेगाउँ पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको सुविधा पुगेको छ,’ उनी भन्छन्, ‘स्थानीयले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो ।’

एक सय ३० घरधुरी रहेको यहाँ सबै एकै प्रकारको रातो रङको जस्ता पाताको छानो छ । विसं २०५७ वैशाख २३ गते प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर घरवास (होमस्टे) स्थापना गरेको यहाँ यतिबेला ४२ घरमा घरवास कार्यक्रम छ । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मङ्सिर १७ गते स्मार्ट भिलेज घोषणा भएको थियो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृत गरेको थियो भने दुई पटक दक्षिण एशियाकै नमूना घलेगाउँ घोषणा भइसकेको छ । यहाँ जिल्लाकै सबैभन्दा बढी पर्यटक यस गाउँमा आउने गर्दछन् । होमस्टे सञ्चालन गरिएको ४२ घरबाहेक अन्य घरका वासिन्दाले पर्यटकका लागि आवश्यक अन्न, तरकारी, फलफूल, मासु, अण्डालगायत उत्पादन र स्वरोजगारमा जीवनयापन गर्दै आएका छन् । केही चोया, ऊन, अल्लोलगायतबाट हस्तकलाका सामग्री तयार पार्छन् ।

भेँडाको लागि गाउँलेको आफ्नै गोठ छ । घुम्ती पशुपालन र कृषिबाट पनि गाउँलेले आम्दानी गरेका छन् ।

शुक्रबार घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घलेगाउँ आधुनिक गाउँ र स्मार्ट भिलेका रूपमा अघि बढ्नुपर्ने बताए । उनले भने, ‘घलेगाउँ घरवासले नयाँ ढङ्गले विकास गरेको छैन, अरुका लागि पनि उदारणीय बनेको छ, घलेगाउँबाट सिक्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?