
३ वैशाख, जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारमा रहेका उपेन्द्र यादवलाई लक्षित गर्दै लाज मानेर भएपनि सरकारमा बसिरहेको आरोप लगाएका छन् ।
सर्लाही सदरमुकाम मलंगवामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको आफू नेतृत्वको सरकारले मधेशी जनताको नागरिकताको समस्या समाधान गर्नका निम्ति अध्यादेश ल्याएर समाधान गर्न खोजिएको बताए ।
‘संसदमा काम गर्न नदिँदा पनि, अवरोध गर्दा पनि संविधान अनुसार अध्यादेशबाट मधेशी जनताले भोगिरहेको नागरिकता समस्याको समाधान गर्न खोजियो’ उनले भने ।
‘तर अहिलेको गठबन्धनमा रहेका मधेशी जनताका मसिहा हुँ भन्नेहरु के भन्छन् ?, कहाँ गयो त्यो अध्यादेश ?’ ओलीले भने, ‘सरकारमा लाज मानेर बस्ने हो, छोडेर निस्किनुपर्दैन ? जनताको अधिकार खोस्दा त्यसको विरोध गर्न सक्नुपर्दैन ?’
अध्यक्ष ओलीले आफ्नै नेतृत्वको सरकारले रेल किनेर ल्याएपछि अहिले सञ्चालन भइरहेको, हुलाकी राजमार्ग निर्माण गर्न सुरु गरेको बताए ।
कार्यक्रममा कबिलासी नगरपालिकाका मेयर कौशलकिशोर यादवसहितका नेताहरु एमालेमा प्रवेश गरेका छन् । मेयर यादव यसअघि जनता समाजवादी पार्टी (जसपा) मा थिए ।
प्रतिक्रिया 4