
काठमाडौं । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहीबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्यो । चौथो दिन आइतबार फिल्मले ३ करोडको आँकडा पार गर्ने अनुमान छ ।
‘कमाइलाई लिएर उत्साहित छौं,’ वितरक गोविन्द शाहीले अनलाइनखबरसँग भने, ‘मोफसलमा दर्शकको मागको आधारमा अझै शोहरु आजदेखि थपिने तयारीमा छन् ।’ ३ करोड लगानी बताइएको यो लभस्टोरी फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।
भारतीय फिल्म ‘केजीएफ : च्याप्टर २’ले तीन दिनमा झन्डै ६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । नेपाली फिल्म बजारमा शो संख्या, शो समय र फुटफलमा उछाल ल्याएको यश स्टारर कन्नड फिल्मले आगामी एक सातासम्म दबदबा कायमै राख्ने अनुमान छ ।
ह्यारी पोर्टर फिल्म ‘फ्यान्टास्टिक बिट्स : द सेक्रेट्स अफ डम्बलडोर’ नेपाली र भारतीय फिल्मको दबाबबीच प्रदर्शन भइरहेको छ । न्यून शोको बाबजुद पनि फिल्मले पछिल्लो तीन दिनमा ८० प्रतिशत बराबरको अकुपेन्सी हासिल गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।
प्रतिक्रिया 4