
काठमाडौं । यतिबेला काठमाडौं शहरका कतिपय ठाउँ रंगबिरंगी बगनबेली फूलले ढकमक्क छ । सडक छेउ, पर्खाल, खोला किनारलाई बगनबेलीले रहरलाग्दो बनाएको छ । त्यसैले त टिकटक बनाउनेदेखि फोटो खिच्नेहरुलाई यी मनोहर दृश्यले लोभ्याएको छ ।
यसअघि सिनामंगल, एयरपोर्ट, प्रदर्शनीमार्गलगायत स्थानलाई आरुका फूलले सृंगारेको थियो । मझौला रुखमा ढकमक्क फूलेका आरुका फूलले शहरको सौन्दर्य बढाइदिएको थियो ।
अब केही समयपछि काठमाडौंको मध्यभाग मानिने घण्टाघर, दरबारमार्ग, टुँडिखेल र सातदोबाटो सडक किनारमा ज्याकरान्डाले शहरलाई हराभरा बनाउनेछ ।
अक्सर काठमाडौंको चर्चा गरिरहँदा यसको कुरुप पाटो उधिन्ने गरिन्छ । भनिन्छ, यो धुवाँधुलोको शहर हो, यो दुर्गन्धको शहर हो, यो क्रंकिडको शहर हो, यो विद्युतीय तारहरूले जेलिएको शहर हो । तर, हावापानी र माटोले भन्छ, यो उर्बर शहर हो । यो सुन्दर शहर हो ।
वनस्पतिविद्हरूका अनुसार काठमाडौंलाई अनेकथरी वनस्पतिले हराभरा बनाउन सकिन्छ । खासगरी फूलजन्य वनस्पतिले यो शहरको स्वरूप फेर्न सकिन्छ । यसका लागि ठूलै काम केही गर्नुपर्दैन । बस्, व्यवस्थित ढंगले फूलजन्य बोट–बिरुवा रोप्ने र स्याहार्ने गरे पुग्छ ।
अब तपाईं सोच्नुहोस् त, शहरलाई एक फन्को लगाउने चक्रपथको किनारै किनार ढकमक्क ज्याकरान्डा फुलाउने हो भने कस्तो हुँदो हो ? शहरको भित्री चोक र सडक आसपासमा बगनबेली हराभरा बनाइदिए कस्तो देखिदो हो ?
नेपाल सरकारका पूर्वसचिव समेत रहेका शहरी विकास योजनाकार किशोर थापा सानो प्रयासले पनि काठमाडौं शहरलाई हरियाली र सुन्दर बनाउन सक्ने बताउँछन् । थापा शहरी सुन्दरता र प्रदूषण नियन्त्रणका लागि शहरलाई हरियाली बनाउनुपर्नेमा जोड दिन्छन् । यो वातावरणीय सन्तुलनको हिसाबले पनि महत्वपूर्ण छ ।
काठमाडौं उपत्यकामा रुख रोप्न सकिने सम्भावित ठाउँ कहाँ होला त ? भन्ने प्रश्नमा थापा भन्छन् ‘ठूला सडकको दायाँबायाँ र बीचमा पनि रुख वा फूलहरु रोप्न सकिन्छ । तर, साना र फुटपाथ साँघुरा भएका सडकमा भने फुटपाथभित्रको निजी घरलाई फूल र अन्य रुख रोप्न आकर्षित गरेर पनि शहरी सुन्दरतालाई कायम राख्न सकिन्छ ।’
त्यसो त शहरी नीतिमा समेत सडक छेउमा रुख बिरुवा रोप्ने नीतिगत व्यवस्था छ । तर, कार्यगत जिम्मेवारीको हिसाबले केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वय नहुँदा नीतिगत व्यवस्थालाई समेत कार्यान्वयन गर्न नसकिएको सरकारी अधिकारीहरू बताउँछन् ।
काठमाडौंमा कस्तो फूल उपयुक्त ?
चैतदेखि वैशाखको अन्तिमतिरसम्म ज्याकाराण्डा फूलले काठमाडौंलाई नीलाम्ये बनाउँछ । दक्षिण अमेरिकी महादेशका विभिन्न देशहरुका रैथाने ज्याकाराण्डाले काठमाडौं ढकमक्क बनेको छ ।
अहिले काठमाडौं सडक तथा निजी घरहरुमा बगनबेली ढकमक्क फुलेको छ । यो पनि दक्षिण अमेरिकी मुलुकको रैथाने प्रजाति हो । यसको विश्वभर पाइने १६ प्रजातिमध्ये ४ वटा प्रजाति नेपालमा पनि पाइन्छ । यो पनि शहरी सुन्दरताको लागि उपयुक्त फूल हो ।
काठमाडौंको लागि १२ महिना नै ढकमक्क बनाउन कस्तो फूल लगाउन सकिन्छ ? वनस्पति विज्ञानका अध्येता कमल मादेन मौसम सुहाउँदो र रैथाने फूलहरुले नै काठमाडौंलाई ढकमक बनाउन सकिने बताउँछन् ।
अहिले उपत्यकामा अधिकांश आयातित फूलहरुले शहर ढकमक रहेको भन्दै नेपाली रैथाने फूलहरुले शहरलाई अझ सुन्दर बनाउन सकिने उनको भनाइ छ । ‘ब्रिटिस एम्बेसीमा लालीगुराँस फुलेको हामीले नै देखेका हौं ।’ उनी भन्छन् ‘काठमाडौंको माथिल्लो भेगमा त गुराँस नै फुलाउन सकिन्छ । यसबाहेक पनि हाम्रा रैथाने अनेकौं फूलहरु छन् । तिनीहरुको सहयोगले शहरलाई सुन्दर बनाउन सकिन्छ ।’
अहिले काठमाडौं लगायत शहरी भेगमा नेपाली जंगलकोभन्दा पनि विदेशबाट आयातित फूलहरु लगाउने चलन बढी छ । यसले पनि सुन्दरतामा केही असर नगरे पनि शहरमै रैथाने फूल फुलाउन सकिने सम्भावनालाई भने सरोकारवालाहरुले खासै चासो दिएका छैनन् ।
मादेन काठमाडौंका सडकहरुमा चाप जस्ता फूलहरु पनि लगाउन सकिने बताउँछन् । तर राज्यका निकायहरु आफैंले प्रतिबन्ध लगाएको मिचाहा प्रवृत्तिका वनस्पतिहरूलाई राज्यकै निकायले लगाउने गरेका छन् ।
उदाहरणको लागि काठमाडौंको शंखमूलमा पाउलोमिया प्रजातिको फूल देख्न सकिन्छ । यो चीनको रैथाने प्रजाति हो । यो छिटो बढ्ने र मिचाहा प्रवृत्तिको बिरुवा हो । तर सरकारी निकायले नै यसलाई लगाउने गरेको छ ।
प्रतिक्रिया 4