
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘आमा’ राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म घोषित भएको छ । सोही फिल्मबाट खनालले उत्कृष्ट निर्देशकको अवार्ड समेत जिते ।
आइतबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७६/०७७ का १० विधामा विजयीलाई पुरस्कार प्रदान गरिन् ।
‘छ माया छपक्कै’बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता बन्दा ‘आमा’बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेत्री बनिन् । पटकथा लेखन विधामा ‘जात्रैजात्रा’बाट प्रदीप भट्टराई सर्वोत्कृष्ट बने ।
उत्कृष्ट छायांकन विधामा ‘छ माया छपक्कै’बाट हरि हुमागाईं उत्कृष्ट बने । ‘कबड्डी कबड्डी कबड्डी’बाट सम्पादन विधामा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड जिते ।
आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ले अवार्ड जित्यो । प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अंकित शर्माले अवार्ड जिते ।
यसपटक २०७६ र २०७७ सालमा प्रदर्शन भएका फिल्ममध्येबाट पुरस्कार वितरण गरिएको हो ।
२०७६ सालमा विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र नालापानीले जिते । २०७७ सालको विशेष फिल्म चाहिं ‘सरिता’ बन्यो । २०७६–२०७७ सालको दीर्घ साधना सम्मानबाट अभिनेत्री भुवन थापा र संगीतकार शम्भुजित बाँस्कोटा सम्मानित भए । सम्मानित दुवैलाई ताम्रपत्रसहित नगद ३ लाख ५१ हजार रुपैयाँ प्रदान गरियो ।
साथै, विभिन्न विधाका ३३ जना व्यक्तित्वलाई विशेष योगदान सम्मान प्रदान गरियो । समारोहमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल समेत उपस्थित थिए ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4