
४ वैशाख, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिक्सिन चेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । उनले नेपालसँगको साझेदारीलाई अझ सुदृढ गर्न एडीबीको प्रतिबद्ध रहेको बताएक छन् ।
प्रधानमन्त्रीसँगको भेटमा चेनले लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गर्दै जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्ने बताए ।
उनले पूर्वाधार र मानव विकासमा सरकारको सुधार र लगानीमा ध्यान केन्द्रित गर्दै नेपाललाई सहयोग जारी राख्न एडीबीको प्रतिबद्ध रहेको जनाएका छन् ।
चेनले कोरोना भाइरसको महामारीको व्यवस्थापनमा सरकारको पहलकदमीको प्रशंसा गरे । उनले नेपालको दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएकोमा सरकारको प्रशंसा गरे । यसले हवाई सञ्जाल विस्तार र पर्यटन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चेनले विकास कार्यक्रमलाई तीव्रता दिने सरकारको प्रयास र योजनाहरूलाई समयमै कार्यान्वयन गर्न एडीबीले सघाउने बताए । उनले नेपालको अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै वैदेशिक लगानीको थप सहजीकरण र नवप्रवर्तनको अभिवृद्धि आवश्यक रहेको बताए ।
चेनले निजी क्षेत्रका प्रतिनिधिहरूसँग पनि भेट गरे र एडीबीले देशमा आफ्नो निजी क्षेत्रको सञ्चालन विस्तार गर्न र साना, मझौला र महिलाको नेतृत्वमा रहेका उद्यमहरूलाई सहयोग प्रदान गर्ने अवसर खोजिरहेको बताएका छन् ।
उनले एडीबीको सहयोगमा सञ्चालित बागमती नदी सुधार आयोजना, काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना, मेलम्ची खानेपानी आयोजना लगायतकोको अवलोकन गरेका थिए ।
प्रतिक्रिया 4