
५ वैशाख, पोखरा । पोखरामा गठबन्धको बैठक चलिरहँदा नेपाली कांग्रेसका जिल्ला सचिवहरुले सहमति हुन नसकेका कारण नेकपा एकीकृत समाजवादीलाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति निकालेका छन् ।
नेपाली कांग्रेसका कास्की सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीले अस्वभाविक दाबी गरेका कारण सहमति हुन नसकेको जनाएका हुन् । उनीहरुले विज्ञप्ति निकाल्दासम्म सत्तारुढ गठबन्धनको बैठक भने चलिरहेको छ ।
उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘एकीकृत समाजवादीको अस्वभाविक दावीका कारणले निष्कर्ष निस्कन नसकेको र पार्टीका मातहातका निकायहरुको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठवन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडी वढाउने र नेकपा एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित जाने निर्णय गरियो ।’
नेकपा समाजवादीका धनराज आचार्यले भने बैठक चलिरहेको र कांग्रेस सचिवले एकलौटी विज्ञप्ति जारी गरेको बताएका छन् । ‘गठबन्धनका जिल्लाका शीर्षनेताहरु अहिले बैठकमा बसिरहेका छन् । बैठकबाट आजै साँझसम्म निष्कर्षसम्म नपुगेसम्म नउठ्ने भनेका छौं, छलफल भर्खर सुरु भएको छ,’ अनलाइनखबरसँग उनले भने ।
यस्तै सचिवहरूको विज्ञप्ति पार्टीकाे आधिकारिक धारणा र निर्णय नभएकाे कास्की कांग्रेस सभापति किशाेरदत्त बरालले जानकारी दिए ।
‘गठबन्धनकाे बैठक बसिरहेकाे छ । कसरी गठबन्धन बलियाे बनाउने भन्नेमै छाैं । पाेखरामा मेयरकाे विषयमा कुनै निर्णय भएकाे पनि हाेइन,’ बरालले भने, ‘कांग्रेसले टिकट पाउँदैन कि भनेर साथीहरूको आक्राेस हुन सक्छ ।’
बैठकमै रहेका मेयरका आकांक्षी गंगाधर पराजुलीले पनि साैहार्दपूर्ण अवस्थामा बैठक चलिरहेकाे बताए । उनले पोखराको मेयरकाे विषयमा केन्द्रकै बैठक बिना निष्कर्ष टुंगिएकाले बाहिर आएजस्ताे गठबन्धन नटुटेकाे उनले बताए ।
प्रतिक्रिया 4