
५ वैशाख, विराटनगर । सत्तारुढ गठबन्धनले खोटाङमा तालमेलको खाका तयार गरेका छन् । १० पालिकामध्ये ६ मा गठबन्धन गर्ने र चार वटामा प्रतिस्पर्धा सहमति गरेका हुन् ।
सहमति अनुसार तीन–तीन वटा पालिकाको नेतृत्व काङ्ग्रेस र माओवादीले लिनेछन् । बाँकी पालिकामा प्रतिस्पर्धा हुनेछ ।
नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईका अनुसार ६ वटा पालिकामा गठबन्धन गर्ने सहमति भएको छ । चार वटा पालिकामा प्रतिस्पर्धा गर्ने सहमति भएको उनले बताए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर नेपाली काङ्ग्रेस र उपमेयर माओवादी केन्द्रले लिने भएका छन् । बराहपोखरी गाउँपालिका अध्यक्ष काङ्ग्रेस र उपाध्यक्ष नेकपा एकिकृत समाजवादीले लिने सहमति भएको छ । रावबेसी गाउँपालिका अध्यक्ष नेपाली काङ्ग्रेस र उपाध्यक्ष माअोवादी केन्द्रले लिने सहमति गरेका छन् ।
खोटेहाङ, जन्तेढुङ्गा, ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्र पाउने भएको छ । उपाध्यक्ष नेपाली काङ्ग्रेसले लिने सहमति भएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको प्रमुख–उपप्रमुखमा नेपाली काङ्ग्रेस र माओवादीले छुट्टा छुट्टै उम्मेदवारी दिने सहमति भएको छ । माओवादीले गठबन्धनका अन्य दलसँग सहकार्य गर्नेछ ।
दिप्रुङ गाउँपालिकामा नेपाली काङ्ग्रेसले कुनै दलसँग तालमेल नगर्ने भएको छ । माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीबीच मात्र तालमेल हुने भएको छ । केपिलासगढी र साकेला गाउँपालिकामा पनि काङ्ग्रेस र माओवादीबीच नै प्रतिस्पर्धा हुनेछ ।
‘जहाँ आवश्यकता त्यहाँ गठबन्धन, सबै मिलेर रोकौं प्रतिगमन’ भन्ने नारासहित गठबन्धनमा सहमति गर्यौं’, काङ्ग्रेस सभापति राई भन्छन्,‘ गठबन्धन दल दह्रो भएको स्थानमा स्वस्च्छ प्रतिस्पर्धा गर्छौं ।’
प्रतिक्रिया 4