
५ वैशाख, काठमाडौं । प्राचीन युगमा नेपालमा मन्दिरहरुको निर्माण गर्दा कतिसम्म नौला प्रयोग भएका थिए भन्ने एउटा प्रमाण हो, ललितपुरको पाटनस्थित नरसिंह मन्दिर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेको करिब पाँच शताब्दी पुरानो यो मन्दिरको अहिले पुनर्निर्माण चलिरहँदा यो मन्दिरको बनोटबारेको विभिन्न रहस्य खुल्दैछन् ।
पुरातत्वविद्हरुका अनुसार यो मन्दिरको पुनर्निर्माण अरुको भन्दा जटिल छ, किनकी यो मन्दिरमा कति थरी जम्मा ईंटा प्रयोग गर्नुपर्छ भन्ने अहिलेसम्म यकिन भइसकेको छैन । प्रारम्भिक अनुमान गरिए पनि जीर्णोद्धारका लागि तलबाट काम गर्दै जाँदा त्यसको निर्क्योल हुने अवस्था छ ।
दुईचार थरी ईंटा प्रयोग गरेर यो मन्दिर पुनर्निर्माण नहुने त पक्कापक्की भइसक्यो, करिब १०० भन्दा बढी प्रकारका ईंटा प्रयोग गरेर मात्रै पुनर्निर्माण गर्न सकिने अध्ययनबाट देखिएको छ । पानी नछिर्ने गरी बनेका घुम्रे ईंटादेखि अनेकन बुटटाहरुबाट बनेका ईंटाको बनोटले यो मन्दिरको निर्माण प्राचीन समयमा पनि निकै वैज्ञानिक शैलीमा भएको देखिन्छ ।
१६औं शताब्दीमा बनेको शिखर शैलीको यो मन्दिर २ दशकअघि नै पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगिसकेको थियो । तर, ईंटा बनाउने जटिलताका कारण यसमा सोतो (बज्र) दलेर ममर्तसम्भमार गरिएको पाइएको नरसिंह मन्दिर पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु कपाली बताउँछन् । ‘अब हामी यसलाई पुरानै शैलीमा मजबुत ढंगले निर्माण गर्दैछौं,’ उनले भने । ईंटा बनाउन र जुटाउन तोकिएको समयमै पुनर्निर्माण सुरु गर्न कठीन भएको उनले बताए ।
जीर्ण भइसकेकको यो मन्दिरलाई १२ वैशाख २०७२को भूकम्पले थप थिलोथिलो बनाएको थियो । भूकम्पपछि पाटन दरबार क्षेत्रभित्रका अरु मन्दिर बढी जीर्ण भएकाले सुरुमा यो मन्दिर प्राथमिकतामा परेन ।
नरसिंह मन्दिरको पुनर्निर्माण अरुकोभन्दा बढी विशेष र जटिल भएकाले बताउँछन् अध्यक्ष कपाली । उनका अनुसार यसमा फरक–फरक आकार र प्रकारका बुट्टेदार ईंटा प्रयोग गर्नुपर्ने हुन्छ ।
यो मन्दिरको भुइँतहसम्म करिब १५ थरी ईंटा प्रयाग हुने अनुमान छ । पहिलो तलासम्म पुग्न मात्रै ४८ थरीको ईंटा प्रयोग हुनेछ । करिब १०२ थरीका ईंटा त इन्जिनियरहरुले पहिचान नै गरिसकेका छन् । मंगल टोल सुधार संघका सचिव रबि दर्शनधारीकाअनुसार हरेक ईंटाको आकार र बुट्टा फरक छन् ।
‘बिल्कुल नयाँ खालको ईंटा बनाउनु पर्ने छ, हामीले अर्डर गरेको लामो समयसम्म पनि ईंटा आपूर्तिमा समस्या भयो,’ उनी भन्छन्, ‘अर्डरअनुसार ईंटा आउन सुरु भएकोछ, अब काम अघि बढ्छ ।’ यो मन्दिरको कर्निसको भागमा सबैभन्दा धेरै थरीका ईंटा प्रयोग गर्नुपर्ने अवस्था रहेको पुनर्निर्माण समितिले जानकारी दिएको छ ।
मन्दिरका प्रत्येक ईंटामाथि अध्ययन गर्नुपर्ने अवस्था सहज छैन । नाग कन्याहरुको मुखसहितका अनेक कलात्मक ईंटाहरु पुरतात्विक हिसावमै बनाउनुपर्ने भएकाले यो मन्दिर निर्माणमा शिल्पगत दक्षता पनि बढी चाहिन्छ ।
ईंटालाई पुरानै आकार प्रकारमा नबनाएमा मन्दिरको आकार बिग्रने मात्रै नभएर मौलिक स्वरुप नासिने खराता हुन्छ । त्यसैले यसको निर्माणमा समितिले विशेष महत्व दिएर काम गर्ने बताएको छ । ईंटाहरु सर्भसुलभ रुपमा बजारमा नपाएपछि समस्या परेको अध्यक्ष कपाली बताउँछन् ।
अहिले ललितपुरको दक्षिणबाराही हिरा ईंटा उद्योगमा यो मन्दिरका लागि ईंटा बनिरहेको छ । क्रमैसँग निर्माणको काम अघि बढ्दै जाँदा आवश्यक्ताअनुसार ईंटा बनाइने उद्योगका सञ्चालक हिराकाजी महर्जन बताउँछन् ।
‘थोरै संख्यामा धरै थरीका ईंटाको साँचो बनाउँदै एउटा तयार गर्नुपर्ने भएकाले केही जटिलता छ,’ उनी भन्छन्, ‘तर हामी मन्दिरका लागि आवश्यक पर्ने ईंटा दिन तयारी गरिहरेका छौं ।’
ललितपुर महानगरपालिकाले मन्दिर जीर्णोद्धारका लागि २० लाख मात्रै बजेट दिएको थियो । तर, अध्ययनका क्रममा मन्दिर पुनर्निर्माणको गर्न थप खर्च लाग्ने देखिएको छ ।
‘हामीले नयाँ स्टमेट बनाएर महानगरपालिकामा प्रयोग गरिरहेका छौं,’ अध्यक्ष कपाली भन्छन्, ‘ईंटा बनाउने र आपूर्ति गर्न परिरहेको अप्ठेरोकै कारण मन्दिर निर्माणमा केही ढिलाइ हुनसक्छ ।’
प्रतिक्रिया 4