+
+

११ वैशाखदेखि मेलम्चीको पानीको वितरण थालिने

खानेपानीको चुहावट नियन्त्रण गर्न मन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १९:३१

५ वैशाख, ललितपुर । आगामी ११ वैशाखदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु हुने भएको छ । गत २९ चैत २०७७ बाट मेलम्चीको पानी हालेर सुरुङ भर्न थालिएको थियो ।

खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले काठमाडौंमा ११ वैशाखदेखि उपत्यका आसपासका घरका धारामा मेलम्चीको पानी आउने बताए । मन्त्री चौधरीले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औं वार्षिकोत्सवको अवसरमा सोमबार वोर्डको कार्यालय परिसरमा भएको विशेष कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्यकावासीको चाहना आगामी आइतबारदेखि पूरा हुने बताए ।

‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी समानुपातिक ढंगले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नका लागि पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणका लागि विशेष पहल गर्नु पर्छ’, मन्त्री चौधरीले भने, ‘मेलम्चीको वैकल्पिक श्रोतको रुपमा सिस्नेरी र ठोस्नेबाट पानी वितरण गर्न सकिने विषयमा अध्ययन भइरहेको छ ।’

खानेपानी सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा शुद्ध खानेपानीको व्यवस्था गर्न जलाधार संरक्षण, मुहान संरक्षण र पानीको वैकल्पिक स्रोतको खोजी गर्नुपर्ने बताए ।

बोर्डका कार्यकारी निर्देशक सञ्जीव राणाले शुद्ध खानेपानीको अभावलाई पूरा गर्न बोर्डले काठमाडौंका १६ वटा सार्वजनिक स्थलहरुमा ‘वाटर एटीम’को व्यवस्था गरेको जानकारी दिए ।

मन्त्री चौधरीले बोर्डको कार्यालयमा वाटर एटीएमको व्यवस्थापनका लागि बनेको स्थापना भएको ‘वार रुम’को पनि उद्घाटन गरे । बोर्डले उपत्यकाका काठमाडौंमा १०, ललितपुरमा ५ र भक्तपुरको १ सार्वजनिक स्थलमा वाटर एटीएमको व्यवस्था गरेको छ । वाटर एटीएमको अवस्था बुझ्न र सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न बोर्डको कार्यालयबाटै २४सै घण्टा निगरानी गर्न मिल्ने बोर्डका बरिष्ठ प्रशासनिक अधिकृत उदय केसीले जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र खानेपानी तथा ढल निकास सेवालाई व्यवस्थित एवं नियमित गर्दै गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवा सर्वसुलभ ढंगले प्रवाह गर्ने उद्देश्यले ५ वैशाख २०६३ मा स्थापना भएको हो ।

बोर्डले काठमाडौ उपत्यकाभित्र खानेपानी, ढल निकास सेवाका अतिरिक्त भूमिगत श्रोतको पानीको व्यवसायीक उपयोग एवम् ट्यांकर सेवा सञ्चालनलाई कानुनी दायरामा ल्याई व्यवस्थित रुपमा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?