+
+

चुनाव हुनेमा ढुक्क छैनन् ओली ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १९:५२

५ वैशाख, काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै देश दौडाहा बढाएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सोलुखम्बु पुगे । त्यहाँ आयोजित सभामा ओलीले चुनावसँग सत्ता गठबन्धन डराएको निष्कर्ष मात्रै सुनाएनन्, चुनाव हुनेमा आशंका पनि गरे ।

‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दैछ, मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु । आज पनि भन्छु- चुनाव सार्ने चेष्टा नगर्नुहोस्’, ओलीको चेतावनी थियो ।

स्थानीय चुनावप्रति अध्यक्ष ओली र उनको दल एमालेको आशंका नयाँ होइन । ३० वैशाखमा घोषित चुनाव आउन २४ दिन बाँकी रहँदा पनि ओलीको अभिव्यक्ति र आशंका उस्तै छ । जबकी उम्मेद्वार मनोनयन केही दिनभित्रै (११ र १२ वैशाखमा) हुँदैछ ।

एमालेले चुनाव हुनेमा लगातार आंशका जनाएपछि सत्ता साझेदार दलका शीर्ष नेता नै जवाफ दिन बाध्य बनेका छन् ।

‘निर्वाचनको दिन बिहान पनि, निर्वाचन सर्छ रे नि ! भन्ने बडो बिचित्रको संस्कार हामीकहाँ बनेको छ’, आफ्नै पार्टी कार्यालयमा सोमबार भएको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ।

उनले चुनाव हुनेमा निर्धक्क हुन आग्रह गरेका छन् । बरु चुनाव सर्ने हल्ला चलाउनेहरु नै चुनाव सार्ने प्रयासमा लागेको उल्टो आरोप प्रचण्डले लगाए । ‘निर्वाचन सर्दैन, कम्तिमा सरकारको र सरकारमा भएका कुनै पनि पार्टीहरुको निर्वाचन सार्ने कुनै मनसाय छैन्’ प्रचण्डको प्रष्टीकरण छ ।

तर विपक्षी दलको आशंका र सत्तारुढको जवाफकै कारण चुनावबारे मतदातामा भने संशय उत्पन्न भएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलिया भने चुनावबारे अनावश्यक तर्क÷वितर्क भइरहेको बताउँछन् । ‘यत्तिका तयारी भएर यहाँ आइसकियो । अब चुनाव किन सर्छ ?’ प्रमुख आयुक्त थपलिया प्रश्न गर्छन् ।

यसअघि पनि यस्ता आशंका हुने गरेको, तर चुनाव निर्धारित समयमा भएको उनी बताउँछन् । ‘कुनै प्राकृतिक विपत्ती आयो भने, आर्थिक संकट भयो भने चुनाव सर्न सक्छ, तर अहिले त्यस्तो केही छैन’, थपलिया भन्छन् ।

३० वैशाख साँझ ५ बजे अहिले गरिएको आशंकाको जवाफ मिल्ने थपलिया बताउँछन् ।

सरकारले पनि तयारी अन्तिम चरणमा पुगिसकेकाले अब चुनावबारे आशंका नगर्न आग्रह गरेको छ । ‘चुनाव सर्छ भनेर प्रश्न वा यस्तो आशंका राख्नु बेकार छ । किनभने अब केही दिन न बाँकी छ’, सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की भन्छन् ।

सरकारलाई गाली गर्ने र चुनाव जित्ने एजेण्डाका रुपमा निर्वाचन हुनेमा अनावश्यक आशंका गरिएको मन्त्री कार्कीको टिप्पणी छ । ‘चुनाव सर्ने हल्ला फण्डा मात्रै हो’ मन्त्री कार्की भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?