
५ वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकेपछि नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयरमा सात जनाको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने निर्वाचनमा सिफारिसमा परेका सात मध्ये चौथो नम्बरमा केन्द्रीय सदस्य डिला संग्रौलाको नाम छ ।
मेयरको सिफारिसमा परेका नेताहरु उम्मेदवार बन्न राजधानी केन्द्रित छन् । प्रतिनिधिसभा सांसद संग्रौला भने घरदैलो अभियानमा छिन् । नेतृत्वबाट आश्वासन पाएका कारण उनी ढुक्क छिन् ।
‘मान्छेमा एउटा सोच छ, माथि सेन्टरमा पुगेको मान्छे तल आउनु हुँदैन भन्ने’, उनी भन्छिन्, ‘माथि गएपछि नेता बन्ने हो । मेयर भइयो भने जनतासँग नजिक भएर साक्षात्कार गर्न पाइन्छ ।’
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि संग्रौला मेयरको आकांक्षी थिइन् । तर पार्टीले टिकट भीम पराजुलीलाई दियो । उनी निर्वाचित पनि भए । तर पराजुलीले नेतृत्व गरेको महानगरमा देखिनेगरी काम नभएको उनको भनाइ छ । ‘ठ्याक्कै देखिने गरी केही गर्नुभए जस्तो लाग्दैन । राम्रै गर्नुभएको होला,’ उनले भनिन् ।
केन्द्रमा राजनीति गर्दा जनतासँग नजिक हुन नपाएपछि मेयर बन्न विराटनगर आएकी संग्रौलाले डुवान, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारलाई मुख्य एजेन्डा बनाएकी छन् ।
‘कांग्रेस प्रतिपक्षम हुँदा मलाई चर्काे बोल्ने र लेख्ने सांसद भनियो । धेरै कुरा लेखियो बोलियो,’ उनले भनिन्,‘…तर मसँग जनताले कस्तो कानुन बनायौं ? के कानुन लेख्यौं भनेनन्, माननीयज्यू मलाई बाटो देऊ, रोजगारी देऊ, खानेपानी देऊ भन्दै प्रश्न गरे ।’
त्यसैले उनी नागरिकसँग जोडिएर काम गर्न स्थानीय तहको नेतृत्वका लागि आकांक्षा राखेको बताउँछिन् । ‘२३ सिट जितेको काङ्गेस सत्तामा जान्छ भन्ने कसैले कल्पना गरेको थिएन, प्रदेशको बलियो सरकार पनि फेरियो, यो समय चक्रसँगसँगै फेरिन्छ’ डिला भन्छिन्, ‘तर स्थानीय सरकार स्थायी सरकार हो । म जस्ता एक्सन ओरेन्टेड मान्छे स्थानीय सरकारमा आउनुपर्छ ।’
जनतासँग जोडिएर पाँच वर्ष काम गर्नका लागि स्थानीय सरकारको नेतृत्वका लागि आएको उनले बताइन् । ‘विराटनगरमा १५–१६ वर्ष कलेज पढाए, ग्रासरुटबाट राजनीति गरे,’ उनले भनिन्, ‘मेरा विद्यार्थीहरु मेयरको आकांक्षी छन् ।’
राजनीतिको सचेत थलो विराटनगरबाट महिला नेतृत्व स्थापित गर्नका लागि पनि आफूले मेयरमा दावी गरेको उनले बताइन् । ‘शैलजा आचार्यपछि मोरङमा महिलाहरुले नेतृत्व गर्ने अवसर नै पाएका छैनन्’, उनले भनिन्, ‘टिकट पनि पाएको छैनौं ।’
कांग्रेस नगर समितिले मेयरमा नागेश कोइराला, दीपक चापागाईं, इन्दिरा कार्की, डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मीको नाम सिफारिस गरेको छ । संस्थापन समूहकी नेता संग्रौला आफूले टिकट पाए महिलाको नेतृत्व स्थापित गर्ने बताएकी छन् ।
‘नेताहरुलाई कुरा राखेर आएको छु, उहाँहरु सकारात्मक हुनुहुन्छ,’ उनले भनिन्, ‘मैले कहिलै समानुपातिक मागेको छैन, मेरो र डा. शेखर कोइरालाको क्षेत्र एउटै हो । सबैले निरन्तर टिकट लिएको देख्छु, । तर महिलाले टिकट पाएको देखेको छैन ।’
प्रतिक्रिया 4