
५ वैशाख, घोराही । गत चैत ३० गते दिउँसो २ बजे दाङको घोराही उपमहानगरपालिका-४ स्थित सुनपुर टोल पुग्दा वडाअध्यक्ष भीमबहादुर सार्की गाउँका भद्रभलाद्मीहरूसँग चिया पसलमा गफिइरहेका थिए ।
‘गफगाफ के चल्दैछ ?’ हाम्रो जिज्ञासामा थप जिज्ञासु बन्दै जवाफ फर्काए, ‘चुनाव आएको छ, अरू के हुन्छ र !’
सामान्य परिचयपछि हामीले सिमेन्ट उद्योगले पारेको असरका विषय कोट्यायौं । तुरुन्तै भद्रभलाद्मीहरू आक्रोशित भए । बाटो हिंड्दा आँखामा धुलो/धुवाँ पर्ने, तरकारीहरू मर्ने, बोटबिरुवा सेतै हुने लगायत गुनासा पोख्न थाले ।
समस्याको चुरो कुरो भन्दै पूर्णबहादुर रायमाझी अघि सरेर बोले, ‘यहाँ केही गर्न नसकिने भइयो । सिमेन्ट उद्योगका मान्छेहरू सांसद, मेयर र नेताहरू जेब (खल्ती) मा हालेर हिंडेका छौं भन्छन् ।’
सँगै रहेका दामोदर पाण्डे (८२ वर्ष) वडाअध्यक्ष सार्कीतर्फ हेर्दै थप्छन्, ‘उद्योगीले सांसद नै गोजीमा राखेपछि वडाअध्यक्षले केही गर्न नसक्ने रहेछन् ।’
त्यसैमा हामीले थप्यौं, ‘नेता र सांसदलाई गोजीमा राख्दा वडाअध्यक्ष बाहिर परेका छन् त ?’ यस्तो प्रश्नपछि वडाअध्यक्ष र भद्रभलाद्मीहरू थप आक्रोशपूर्ण भावमा आपसमै सवाल-जवाफमा उत्रिए ।
‘पैसा लिएको भए पनि यहाँ तपाईंहरूलाई कहाँ भन्छन् त ?’ वडाअध्यक्ष सार्कीतर्फ संकेत गर्दै पूर्णबहादुर रायमाझीले भने । ‘वास्तविक कुरा भन्नुपर्छ’ भन्दै रायमाझीले कड्किएर आफ्नो नियतमाथि प्रश्न उठाएपछि वडाअध्यक्ष सार्की अलि मलिन भए । उनले आफूलाई बोल्न दिन आग्रह गर्दै पैसाको अफर आएको स्वीकारे । तर, उक्त अफर अस्वीकार गरेर जनताकै पक्षबाट आवाज उठाउँदै आएको दलिल पेश गरे ।
‘खाने बानी लागेका मान्छेहरूले खाँदा होलान् । चुनाव उठ्ने बेलामा मलाई पनि पैसाको लोभ देखाइयो । प्रचार गर्ने लगायत खर्चबर्च दिन्छु भनेर । मैले चाहिएको छैन भनेर अस्वीकार गरिदिएँ’ सार्की थप्छन्, ‘जो थियो आफ्नै दमबाट चुनाव लडें ।’
‘पैसा खाएर चुनाव जिते उसैको खुट्टामुनि आफ्नो टाउको जान्छ’ भनेर आफूले सिमेन्ट उद्योगीको पैसा लिन अस्वीकार गरेको उनको स्पष्टीकरण छ । तर, कति पैसा दिन अफर गरिएको थियो भन्नेबारे केही खुलाएनन् ।
निरीह जनता
घोराही सिमेन्ट उद्योग आसपासको बस्तीमा पुग्दा त्यहाँ भएका घरहरूको छानामा धुलो टाँसिएको देखियो । बोट-बिरुवाहरू सेताम्य, हरिया बाँस सेतो बाँस जस्ता । तरकारी मरेको । ‘तरकारी किन मरेको ?’ भन्ने प्रश्नमा किसान ‘सिमेन्ट उद्योगको धुलोले’ भन्ने जवाफ दिन्छन् ।
बसन्तीदेवी सार्की ५७ वर्षकी भइन् । पहिले तरकारी, खाद्यान्न राम्रै उत्पादन हुने गरेको बताउने उनी सिमेन्ट उद्योग सञ्चालन भएपछि त्यहाँबाट निस्कने धुलोका कारण उब्जाउ निकै घटेको सुनाउँछिन् ।
‘पहिले त राम्रै हुन्थ्यो । अहिले उब्जाउ हुन्न । सागपात केही राम्रो हुन्न’ सार्कीको गुनासो छ । धुलोले असर गरेपछि सुरुमा निकै आवाज उठाएको भएतापनि आफूहरूको केही नलागेको उनको भनाइ छ ।
सिमेन्टको धुवाँ, धुलो र ध्वनिले आजित भएपछि २०७१ सालमा स्थानीयले ‘उद्योग प्रभावित वातावरण संरक्षण तथा सरोकार समिति’ नाम दिएर आन्दोलन नै गरे, सिमेन्ट उद्योग घेराउ गरे, ताला लगाए ।
ताला नै लगाएपछि स्थानीय जनप्रतिनिधि र उद्योगीहरूका बीचमा ‘उद्योगलाई नागरिकमैत्री बनाउने, प्रदूषण कम गर्ने उपकरण जडान गर्ने, स्थानीय नागरिकलाई क्षमता र सीपका आधारमा रोजगारी दिने, सामाजिक उत्तरदायित्व बहन गर्ने, वृक्षरोपण गर्ने, सडक बाटो राम्रो र खानेपानीको सुविधा दिने लगायत सहमति गरेपछि ताला खोलिएको थियो । उक्त सहमति अनुसार काम नभएकोले पनि स्थानीयमा असन्तुष्टि चुलिएको बताउँछिन् बसन्तीदेवी सार्की ।
‘आन्दोलन गर्यौं, ताला लगायौं, धेरैलाई भन्यौं । अब त वाक्क भइयो कसलाई के भन्नु र !’ आफूहरूलाई परेको असरबारे कोही पनि जिम्मेवार नभइदिएको उनको दुःखेसो छ ।
‘भोट माग्न आउनेलाई यहाँबाट सिमेन्ट उद्योग अन्यत्रै सार भन्ने इच्छा छ’ उनले आउँदो चुनावलाई आशाको सानो त्यान्द्रो मानेकी छिन् ।
सुनपुरकै विष्णु पाण्डे सिमेन्ट उद्योगको आवाजले रातभर सुत्न नसकेको सुनाउँछिन् । ‘हामी धेरै दुःखी छौं यो फ्याक्ट्रीका कारणले दिनभरि रातभरि घ्यार् घ्यार् गर्छ, सुत्नै सकिन्न’ पाण्डेले सुनाइन् ।
घोराही सिमेन्ट उद्योगको केही मिटरको दूरीमा ‘श्री माध्यमिक विद्यालय डाँडागाउँ’ छ । दायाँ-बायाँ केही घरहरू भए पनि उद्योग र स्कुलको बीचमा खाली जग्गा छ ।
स्कुल परिसरमा कुरा गर्दै १० कक्षामा अध्ययनरत सुनिल नेपालीले सिमेन्ट उद्योगबाट आउने आवाज र धुलोले निकै सकसका साथ अध्ययन गरिरहनुपरेको गुनासो गरे । उनी भन्छन्, ‘सिमेन्ट फ्याक्ट्रीबाट धुलोहरू उडेर आउँछ । धेरै डिस्टर्ब गर्छ, कक्षाकोठाभित्रै धुलो पुग्छ ।’ विद्यार्थी नेपालीलाई सिमेन्ट उद्योगलाई स्कुल नजिकै नराखेर अन्त कतै सारिदिए हुन्थ्यो भन्ने पनि लाग्छ ।
घोराही सिमेन्ट उद्योग प्रालिले बंगलाचुली गाउँपालिकास्थित तापा भन्ने स्थानमा ३२.२ हेक्टर क्षेत्रफलमा चुनढुंगा उत्खनन् गरिरहेको छ ।
डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुुर चौधरीका अनुसार घोराही सिमेन्ट उद्योगसँगै सम्राट सिमेन्टले बंगलाचुुली-५ मा ४.५ हेक्टर र शुुभश्री अग्नि सिमेन्टले ४.९७ हेक्टर उत्खननको गरिरहेका छन् । स्वर्गद्वारी माइन्स र माला रानी उद्योग पनि चुनढुंगा उत्खननको अनुमति लिने प्रक्रियामा छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित गोग्लीमा २०७० सालदेखि घोराही सिमेन्ट उद्योग सञ्चालित छ । बस्तीको बीचमा सञ्चालन गरिएको उद्योगबाट त्यस क्षेत्रका सुनपुर, लक्ष्मीपुर र गोग्ली गरी ३०० बढी घरधुरी धुलो-धुवाँबाट प्रभावित छन् ।
वडाध्यक्ष भीमबहादुर सार्कीले बस्तीको बीचमा सिमेन्ट उद्योग सञ्चालन गर्दा स्थानीयदेखि विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा समेत नराम्रो असर परेको बताए ।
दूधरासको कथा उस्तै
घोराही-४ सुनपुरका स्थानीयको जस्तै कथा तुलसीपुर-१८ का बासिन्दाको पनि छ । जहाँ सोनापुर सिमेन्ट उद्योग सञ्चालित छ ।
तुलसीपुर-१८ का स्थानीय घनबहादुर नेपाली सिमेन्ट उद्योग आउने भयो भन्दै गर्दा खुसी थिएनन् । तर, बढी मूल आउने लोभमा स्थानीयले पनि जग्गा दिइहाले । स्थानीय नेताहरू पनि मिले, बस्तीकै बीचमा सिमेन्ट उद्योग खुल्यो । नेपाली भन्छन्, ‘अहिले हामी पीडा र दुःखको जीवन बिताइरहेका छौं ।’
आफूहरूले धेरैलाई धेरै पटक गुनासो गरेको तर, कसैले नसुनेको उनको दुःखेसो छ ।
अर्का स्थानीय मेनका परियार भन्छिन्, ‘घरभित्र धुलो छिरेर हैरान छ । तरकारीमा त्यस्तै । पशुलाई घाँस/स्याउला लिन गयो धुलो त्यस्तै । रुघाखोकी सधैं लागिरहन्छ । शरीर चिलाउने समस्या उस्तै छ ।’
परियारको आक्रोश नेताहरूप्रति छ । ‘यहाँँका ठूला नेताहरू सबै बिकिसके । नत्र यत्रो कारखाना आएर एक्कासी कहाँ बस्न सक्छ ?’ उनी थप्छिन्, ‘यो उद्योग उठे हामीलाई धेरै राम्रो हुनेथियो ।’
तुलसीपुर उपमहानगरपालिका-१८ दूधरासस्थित सोनापुर सिमेन्टले २०६९ देखि सिमेन्ट उत्पादन गर्दै आएको छ । बस्तीको बीचमा सञ्चालन गरिएको उद्योग क्षेत्रका घर-परिवार धुवाँ-धुलो जस्ता प्रदूषणबाट प्रत्यक्ष प्रभावित छन् । उद्योग बस्तीको बीचमा हुँदा करिब २०० घरधुरी प्रभावित छन् ।
‘सिंगो दूधरास सिमेन्ट उद्योगको धुवाँ-धुलोले प्रत्यक्ष प्रभावित छ’ तुलसीपुर उपमहानगरपालिका-१८ का वडाअध्यक्ष माधव वली आफूले केही गर्न नसकेको भन्दै निरीहता प्रकट गर्छन् ।
‘बस्तीको बीचमा उद्योग सञ्चालनको अनुमति दिनु नै ठूलो त्रुटि थियो’ उनी थप्छन्, ‘अहिले प्रदूषण व्यवस्थापन ठूलो चिन्ताको विषय बनेको छ ।’ सिमेन्ट उद्योगलाई धुलो र प्रदूषण कम गर्न पटक-पटक आग्रह गरेको तर, आग्रहको कुनै सुनुवाइ नभएको गुनासो स्वयं वडा अध्यक्ष वलीको छ ।
सोनापुर सिमेन्टले रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ५ स्थित धौलावाङमा चुनढुंगा उत्खनन गर्दै आएको छ । चुनढुंगा उत्खनन सुरु भएसँगै त्यस क्षेत्रमा प्रभाव पर्न थालेको रन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा बताउँछन् ।
चुनढुंगा उत्खननले सुरुमा क्रमशः वातावरणीय असर बढ्दै गएको उनले बताए । ‘उत्खनन क्षेत्रमा पानीको मुहान सुक्दै गएको छ’ उनी भन्छन्, ‘धुलो-धुवाँ जस्ता वातावरणीय प्रदूषण बढ्दै गएका छन् ।’
चुनढंुगा उत्खननले वातावरणीय प्रभावबारे जानकार भए पनि यसको नियन्त्रण र नियमन गर्न स्थानीय सरकारको अधिकारविहीन भएको उनले बताए ।
‘उत्खननको अधिकार सबै संघ र प्रदेश सरकारलाई छ’ उनी भन्छन्, ‘स्थानीय सरकारले यसमा चाहेर पनि गर्न सक्ने केही छैन ।’ उत्खननलाई व्यवस्थित गर्न संघ र प्रदेश सरकारले नै चासो दिनुपर्ने उनी बताउँछन् ।
पानीको मुहान सुक्न थाले
दाङका उत्तरी पहाडी क्षेत्रमा चुनढुंगा उत्खननका लागि उद्योगहरू खुुल्ने क्रममा छन् । केहीले उत्खननका सम्झौता गरिसकेका छन् भने केहीले प्रस्ताव पेश गरेका छन् ।
डिभिजन वन कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिकामा तापासहित उत्खननको ४१.१७ हेक्टरमा चुनढुंगा उत्खननको अनुमति पाएका छन् ।
घोराही सिमेन्ट उद्योग प्रालिले बंगलाचुली गाउँपालिकास्थित तापा भन्ने स्थानमा ३२.२ हेक्टर क्षेत्रफलमा चुनढुंगा उत्खनन गरिरहेको छ ।
डिभिजन वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुुर चौधरीका अनुसार घोराही सिमेन्ट उद्योगसँगै सम्राट सिमेन्टले बंगलाचुुली-५ मा ४.५ हेक्टर र शुुभश्री अग्नि सिमेन्टले ४.९७ हेक्टरमा उत्खनन गरिरहेका छन् । स्वर्गद्वारी माइन्स र मालारानी उद्योग पनि उत्खननको अनुमति लिने प्रक्रियामा छन् ।
अहिले दाङमा सञ्चालित सिमेन्ट उद्योगहरूले जहाँ चुनढुंगा उत्खनन गर्छ, त्यसको मुनि बेलझुण्डी खानेपानीमा पुग्ने मुहानहरू छन् । चुनढुंगा ल्याउन तथा लैजान आवतजावत गर्ने टिप्परहरूले झारेको माटो मुहानमै पुग्छ । पानी पर्दाको माटोसहितको भल पनि मुहानै पुग्दा उपभोक्ताको घरमा माटोसहितको पानी पुग्छ ।
बेलझुण्डीका मुहानहरूबाट तुलसीपुरको १६, १७, १८ र १९ वडाका करिब १७ हजार बढी नागरिकलाई पानी सेवन गर्दै आएका छन् ।
जथाभावी उत्खनन, बढ्दो औद्योगीकरण र अव्यवस्थित बसोबास, वन विनाशको कारण पानीको स्रोत घट्दै गएकाले केही समयपछि धारामा पानी आउँदैन कि भन्ने चिन्ता स्थानीयमा छ । उनीहरूका अनुसार दाङका खहरे खोलाहरू सुक्दै गएका छन् र ठूला नदी राप्ती र बबईमा पनि पानीको बहाव घटेको छ ।
घोराही उपमहानगरपालिकाकी उपमेयर सीता सिग्देल न्यौपाने पानीको मुहान सुक्दै गएको स्वीकार्छिन् । ‘पानीको मुहान सुके भनेर २७ वटा पानीको ड्याम बनाएका छौं । लुम्बिनी प्रदेशभरि ४० वटा पानीको ड्याम बनाइसक्यो सिंचाइ कार्यालयले । मुहान सुक्छ बचाउनु पर्यो, वर्षाको पानी जम्मा गर्नु पर्यो भनेर बनाएको हो’, उपमेयर सिग्देलले भनिन् ।
तस्वीर: चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4