
६ वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनमा तुलसीपुर उपमहानगरपालिकाको भागबण्डा टुंग्याउन जति गाह्रो छ, मेयर आफैं भागमा परे आकांक्षीको व्यवस्थापन गर्न नेपाली कांग्रेसलाई सजिलो छैन ।
कांग्रेसमा मेयरका ७ जना आकांक्षी छन् । जसमध्ये एक हुन् जगत खड्का । अघिल्लो निर्वाचनमा दोस्रो भएको र अहिले एमाले विभाजन भएका कारण आफूहरूको जित निश्चित भएको कांग्रेस नेता खड्का बताउँछन् ।
‘गत चुनावमा हाम्रो पार्टीको १८ हजार र जित्ने मेयरको २२ हजार मत थियो । तर अहिले एमाले फुटेको छ । मेयरको कामगराइले उक्त पार्टीको विषयका धारणा जनतामा बदलिएका छन्’, उनी भन्छन् ।
प्रस्तुत छ, आसन्न स्थानीय तहको निर्वाचन र कांग्रेसको दाबीबारे खड्कासँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंशः
तुलसीपुर महानगरपालिकामा भागबण्डा कसरी मिलाउँदै हुनुहुन्छ ?
गठबन्धनकै तर्फबाट संयुक्त रूपमा तयारी सुरु भएको छ । हामीलाई केन्द्रीय कार्यालयले गठबन्धनको सरकार भइसकेपछि गठबन्धन गर्नु भनेको छ । त्यसैले हामी पनि गठबन्धनमा जान्छौं ।
कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, त्यसैले हतासिनुपर्ने छैन । किनभने जनताले देखिसके, दुई तिहाइको सरकार ढलेर ३३ सिटको नेपाली कांग्रेसले आफ्नो सरकार बनाएको छ । यो चाहेर भयो वा किन भयो भन्ने विषयमा धेरै कुरा गर्न आवश्यक छैन ।
मेयरमा चाहिं क-कसको दाबी छ ?
गत चुनावलाई हेर्ने हो भने हाम्रो पार्टीको १८ हजार र जित्ने मेयरले २२ हजार मत पाउनुभएको थियो । तर अहिले एमाले फुटेको छ । मेयरको कामगराइले उक्त पार्टीको विषयका धारणा जनतामा बदलिएका छन् । अहिले भएकामध्ये सबै पार्टीभन्दा कांग्रेस धेरै माथि छ ।
भागबण्डाको मोडेल के हुन्छ ?
छलफल भइरहेको छ । छिट्टै टुंग्याइहाल्छौं ।
आवश्यक परे मेयर छोडेर पनि तालमेल गर्नुहुन्छ ?
हामी मेयर राख्छौं । सकभर उपमेयर पनि राख्छौं । अरू लैजानुस् भनिरहेका छौं । तर कुरा मिलिसकेको छैन ।
कांग्रेसभित्रै पनि मेयरका आकांक्षी धेरै देखिन्छन् । एक जनालाई अगाडि सार्दा विवाद होला नि ?
यसको बारेमा केन्द्रले निर्णय गर्छ । केन्द्रले जसको नाममा निर्णय गर्छ त्यसलाई नै मानेर जानुपर्ने हुन्छ ।
केन्द्रको निर्णयले अन्तर्घात हुने कुरालाई निरुत्साहित गर्छ कि प्रोत्साहन ?
अन्तर्घात आत्मलोलुपता हो । जो सही कांग्रेस होÙ लोकतन्त्र, प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टीको मान्छे हो उसले अन्तर्घात गर्दैन । ढुलमुलेको संख्या पनि त बढी हुन्छ । त्यस्ताले गर्ने हुन् अन्तर्घात ।
पहिलो पाँच वर्ष तुलसीपुरमा एमालेले नेतृत्व गर्यो । यसको मूल्यांकन कस्तो गर्नुभएको छ ?
६९ करोडभन्दा बढी घाटा, बेरुजु, उधारो देखिएको छ । उधारो काम गर्ने ठेकेदार कस्ता हुन् ? उधारो काम गराउने जनप्रतिनिधि कस्ता हुन् ? त्यो मलाई थाहा छैन, तपाईंहरू (मिडिया) ले खोज्ने कुरा हो । कतिपय ठाउँमा गरिबीको चरम अवस्था छ । तर यिनले भ्यूटावर र के-के टावरहरू बनाए ।
हामीले जित्यौं भने कृषक र उनीहरूलाई प्रोत्साहन गर्ने गरी काम हुन्छ । किनभने जनता गरिबको गरिब भइरहने भयो ।
किसानको किसान नै भइरहने भयो । उनीहरूलाई अहिलेका जनप्रतिनिधिहरूले केही पनि गर्न सक्नुभएन । लेकमा पानी छैन, करोडौं खर्च गरेर भ्यूटावर बनाएका छन् । के काम छ त्यो भ्यूटावरको नेपालमा ? अग्ला-अग्ला पहाड नै छन् । किन चाहियो भ्यूटावर ?
भ्यूटावर बनाउनुहुन्न ?
भ्यूटावर संस्कृतिलाई छोडेर हामी विकास निर्माणमा केन्दि्रत हुन्छौं । बाटा बनाउँछौं, पानी, सिंचाइको व्यवस्था गर्छौं । शिक्षा, स्वास्थ्यमा लाग्छौं ।
शुद्ध पिउने पानी नपाउनेको संख्या २८ प्रतिशतसम्म रहेछ । मेयर नभए पनि अरू जनप्रतिनिधिमार्फत दबाव दिनुभएन ?
दबाव दिएको तर, काम गरेनन् । खालि उखान टुक्का हाल्ने, टुक्कै टुक्कामा जीवन बिताउने जस्तो देखियो । यसले त देश बर्बादमा फसिसक्यो ।
तुलसीपुरमा बस्तीको बीचमा सिमेन्ट उद्योग पनि छ । यसबारे यहाँका नागरिकको धेरै गुनासो रहेछ नि ?
पहरे खानेपानीको बाटो खन्ने बेलामा चुनढुंगा खनेर थुप्रो लगाए । हामी स्वयं कांग्रेसको नगर कमिटी र खानेपानीको अध्यक्ष त्यही ठाउँमा पुग्यौं । चुनढुंगा ननिकालौं भन्दा अहिलेका जनप्रतिनिधिहरू विकास गर्दा त विनास भइहाल्छ भनेर लागे ।
चुनढुंगा नै सिद्धिन्छ भने मूलको पानी पनि त सकियो । सीमित पैसाको स्वार्थमा हिंडेर बिगि्रसकेकाले यो भएको हो ।
सिमेन्ट उद्योग आसपासका नागरिकहरू प्रश्न उठाउने, विरोध गर्ने र बस्तीबाट पर सार्न आग्रह गर्ने । स्थानीय राजनीतिक दलका प्रतिनिधि, तपाईंहरू पनि चिन्ता गर्ने । तर काम नरोकिने, किन ?
यो देशमा कसैले केही बुझ्न नसक्ने भयो । हामी विरोध गर्छौं, दलबल जान्छौं । उता पुगेर त्यसै फर्किएर आउनुपर्ने भएको छ ।
कांग्रेसले जित्यो भने सिमेन्ट उद्योगलाई बस्तीबाट पर सार्छ ?
पहिले नै नदिऊँ भनेको हुँ । म त्यतिखेरको क्षेत्रीय सभापति थिएँ । १० वर्ष अगाडि मैले दिन हुन्न भनेपछि जग्गा बिक्छ, रोक्न लागिस् भनेर भने । त्यही कुरा अहिले उहाँहरूलाई पछुतो भएको छ । सिमेन्ट उद्योगले सामग्री ओसारप्रसारमा टिपर कुदाएर बाटो बिगारेपछि आन्दोलन गर्नुपर्यो, जनता उतार्नुपर्यो । बल्लबल्ल ग्राभेल गरिदिएको छ, पीच भएको छैन । धुलोले जनतालाई अवरोध भइरहेको छ ।
जनताको कुराको सुनुवाइ नगर्ने, जनताप्रति अलिकति काम गर्नुपर्छ भन्ने जनप्रतिनिधि हुँदैन भने त्यो जनप्रतिनिधिको काम छैन । यहाँ त भत्ता के-के खाने भन्ने मात्र छ जनप्रतिनिधिको ।
जनता पनि यही भन्छन्, नेताहरूलाई सिमेन्ट उद्योगले किनेर गोजीमा राखेको छ । यही हो वास्तविकता ?
भन्छन् होला । कसले खायो त्यही नेतासँग यो कुरा गर्दा राम्रो हुन्छ । हामीलाई त्यतातिर ध्यान पनि छैन । त्यो सिमेन्ट उद्योगबाट हामीले केही लिएका पनि छैनौं ।
यो पनि पढ्नुस्-
बस्तीसँगै सिमेन्ट उद्योग : निरीह जनता, उद्योगीको गोजीमा ‘नेता’ !
प्रतिक्रिया 4