
६ वैशाख, काठमाडौं । ‘स्थानीय तह निर्वाचनमा दलीय रुपमा सहभागी नहुने, तर उपयोग गर्ने’ निर्णय गरेर राजधानी छिरेसँगै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु राजनीतिक भेटवार्ताको म्याराथनमा व्यस्त छन् ।
कपिलवस्तुमा बसेको केन्द्रीय समितिको बैठकमा विप्लवले चुनावमा जाने प्रस्ताव राखेका थिए । तर महासचिवकै प्रस्ताव अल्पमतमा परेपछि दलीय रुपमा सहभागी नहुने, तर उपयोग गर्ने’ मध्यमार्गी निर्णय गरेर नेताहरु काठमाडौं आएका छन् ।
अहिले विप्लवसहितका नेताहरुले अरु दलका नेताहरुलाई भेटेर आफूहरु चुनावमा सहभागी हुन चाहेको सन्देश दिने गरेका छन् । अर्को पक्षका नेताहरुले भने ‘हामी त चुनाव बहिस्कारवाला हौं, चुनावमा आउँदैनौं’ भन्ने गरेका छन् ।
सरकारी अधिकारी र दलका नेताहरुलाई भेट्ने सुरुवात विप्लव र प्रकाण्ड पक्षका नेताहरुले गरेका थिए । चुनावमा सहभागी हुने भन्दै उनीहरुले दल दर्ता र पुनः मतदाता नामावली संकलनको व्यवस्था गरिदिन आग्रह गरेका थिए । सरकारका अधिकारीहरुले हुन्छ त भनेनन्, तर अस्वीकार पनि नगरेका कारण २४ चैतमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचन आयोग पुगे ।
३० चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गएर विप्लव र प्रकाण्डले प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण, प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता खम्मबहादुर खाती लगायतसँग कुराकानी गरे । २ वैशाखमा प्रकाण्डले फेरि गृहमन्त्री खाँणलाई भेटे ।
चुनाव पक्षधर नेताहरुको दौडधुप तीव्र बनाएपछि निर्वाचन विरोधी नेताहरुले पनि राजनीतिक भेटघाट थालेका छन् । १ वैशाखमा नेता धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वली खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरे । आइतबार बास्तोला र वलीले नै कोटेश्वरमा पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेका छन् ।
चुनावको पक्ष र विपक्षमा ‘लबिइङ’
दुवै पक्षका नेताहरुले तीनबुँदे सहमति कार्यान्वयन र बन्दीहरुको रिहाइबारे कुरा गरेको बताए पनि त्यो त्यतिमा सीमित छैन ।
चुनाव पक्षधर नेताहरु विप्लव र प्रकाण्डले आफूहरुलाई पनि चुनावमा पनि सहभागी गराउनुपर्ने भन्दै ‘लबिइङ’ गरेका छन् भने विपक्षी नेताहरुले आफ्नो पार्टी चुनावको पक्षमा नरहेको भनेर नेताहरुलाई बुझाइरहेका छन् ।

दुवै पक्षका नेताहरुसँग भेटका माओवादीका अध्यक्ष प्रचण्डले विप्लवहरुले आफूहरुलाई चुनावमा आउने वातावरण बनाउन आग्रह गरेको र त्यसमा आफूहरु सकारात्मक रहेको बताए । ‘विप्लव जी चुनावमा आउने भनेर सबैसँग भेटघाट गरी राख्नुभएको छ,’ प्रचण्डले सोमबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘सबै पक्षसँग कुराकानी पनि भइराखेको छ । केपी ओली र विप्लवबीच भएको तीनबुँदे सहमतिलाई सकारात्मक रुपमा लिएर समर्थन गरेका थियौं । उहाँ (विप्लव)हरु निर्वाचनमा आउन चाहेको हुनाले सकेसम्म सबै मिलेर सकारात्मक वातावरण बनाउनुपर्छ भन्ने छ ।’
प्रकाण्डले पनि आफूहरुलाई चुनावमा सहभागी हुने वातावरण बनाउन सरकार र दलहरुलाई आग्रह गरेको स्वीकार गर्छन् । ‘यो चुनाव रोक्नुहोस्, हामीसँग छलफल गर्नुहोस् । जे समझदारी हुन्छ, त्यस अनुसार मात्रै जान्छ भनेका छौं,’ उनले अनलाइनखबरसँग भने । चुनाव रोकेरै आफूहरुसँग छलफल गर्न सरकार तयार रहको उनको दाबी छ । भन्छन्, ‘चुनाव रोकेर हामीसँग छलफल गर्न सरकार सकारात्मक छ, प्रतिपक्ष सकारात्मक भइसकेको छैन ।’

प्रमुख विपक्षी एमालेले चुनाव सार्ने षडयन्त्र भइरहेको भन्दै प्रतिवाद गर्ने निर्णय नै गरेको छ ।
सत्तारुढ गठबन्धनका नेताहरुले भने ३० वैशाख २०७९ को चुनाव नरोकिने प्रष्ट पारेका छन् । सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘चुनाव सर्छ भनेर प्रश्न वा यस्तो आशंका राख्नु बेकार छ ।’
प्रचण्डले पनि मुद्दा फिर्ता गरेर यही प्रक्रियामा विप्लवलाई सहभागी गराउन मात्र छलफल भइरहेको बताएका छन् । विप्लव समूहका प्रवक्ता प्रकाण्डले मुद्दा फिर्ताको विषय एकाध दिनमा टुंगिने र त्यसपछि चुनावबारे छलफल हुने बताए ।
विप्लव समूहको अर्को पक्षका नेताहरुले भने पार्टीको नीति चुनावमा जाने नभएको बताएको छ । प्रचण्ड र माधव नेपालसँग भेट गरेका नेता धर्मेन्द्र बास्तोलाले अनलाइनखबरसँग भने, ‘हाम्रो नीति अहिले चुनावमा भाग लिने छैन् भन्ने हामीले बतायौं ।’
भेटका क्रममा नेताहरुले भने चुनावको उपयोग नगरे पनि प्रतिवाद गर्ने नीति नलिएको भन्दै खुसी प्रकट गरेको उनले सुनाए । भन्छन्, ‘नेताहरुले तपाईंहरुले चुनावको प्रतिरोध गर्ने निर्णय गर्नु भएन, राम्रो गर्नुभयो भन्नुभयो ।’

चुनावले विवाद
चुनाव बहिस्कार पनि नगर्ने र प्रत्यक्ष भाग पनि नलिने कपिलवस्तु बैठकको निर्णय भएपनि विप्लव र प्रकाण्डले पार्टी दर्ता गराउन खोजेपछि नेकपामा विवाद सुरु भएको छ ।
सो पार्टीका नेता धर्मेन्द्र बास्तोला चुनावमा जानेबारे विप्लव र प्रकाण्डले गरेको जोड व्यक्तिगत भएको बताउँछन् । ‘चुनावमा जाने व्यक्तिको हो, पार्टीको कुरा चुनावमा नजाने भन्ने हो,’ उनले भनेका छन्, ‘चुनावमा भाग नलिने, उपयोग नगर्ने भन्ने पार्टीको नीति हो । पार्टी दर्ता गर्ने, चुनावमा जाने, आदि, इत्यादि कुरा उहाँहरुको व्यक्तिगत हो ।’
प्रकाण्ड भने चुनावबारे आफूहरुको परम्परागत धारणामा बदलाव आएको बताउँछन् । ‘स्थानीय चुनावबारे केन्द्रीय समितिमा ठूलै विवाद भएको छ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसलाई हामीले नयाँ ढंगले हेर्न खोजेका छौं । विगतमा हाम्रो जे दृष्टिकोण थियो, त्यो परम्परागत ढंगले हामीले हेर्न खोजेका छैनौं ।’

कपिलस्तुको शिवगढीमा चैत दोस्रो साताबाट सुरु भएर एक हप्ताभन्दा बढी चलेको केन्द्रीय समितिको बैठकमा विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव लगेका थिए । तर उनको प्रस्ताव अल्पमतमा पर्यो । विप्लव, प्रकाण्ड र केही केन्द्रीय सदस्य मात्रै चुनावको पक्षमा उभिँदा बहुमत पक्ष विपक्षमा थियो ।
त्यसपछि विप्लव चुनावबारे मध्यमार्गी नीति लिन बाध्य भए । चुनावमा प्रत्यक्ष भाग पनि नलिने र बहिस्कार पनि नगर्ने भनेर बीचको निर्णय भएको थियो । ‘आगामी स्थानीय चुनावमा पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी एवं राष्ट्रघात विरोधी प्रतिनिधिहरुलाई सहभागी गराउने र सहयोग गर्ने,’ निर्णयमा भनिएको छ, ‘संसदीय व्यवस्थाको भण्डाफोर गर्ने निर्णय लिइएको छ ।’
प्रतिक्रिया 4