
काठमाडौं । आमा बनेपछि अभिनेत्री प्रियंका कार्की पछिल्ला दुई वर्ष घरमै व्यस्त रहिन् । कोरोना महामारीका कारण सबैतिर ठप्प हुँदा प्रियंकाको दैनिकी पनि घरमै सीमित रह्यो । यसबीच उनले घरमै छोटो फिल्म निर्देशनको अनुभव समेत बटुलिन् ।
आमा भएपछि मंगलबार पहिलोपटक उनी सार्वजनिक कार्यक्रममा उपस्थित भइन् । आफू अभिनित फिल्म ‘लक्का जवान’को पत्रकार सम्मेलनमा प्रियंका ‘चब्बी लुक्स’मा देखिइन् ।
महामारीपछि कार्यक्रममा फर्किएकी प्रियंकाले आमा बनेपछिको अनुभव, कोभिड कालका अनुभव पनि साझा गरिन् । ‘म पुरानै लयमा फर्कने तयारीमा छु,’ उनले भनिन्, ‘बितेको वर्ष मेरो लागि अविस्मरणीय रह्यो । लक्का जवान मेरा लागि भाग्यमानी होला ।’
सन् २०२३ देखि छायांकन सुरु हुने लक्ष्यसाथ आफूले फिल्म लेखन सुरु गरेको जानकारी उनले दिइन् । आफ्नै ब्यानर ट्वींकल बेल पिक्चर्सबाट बनाउने फिल्मको पटकथा उनी आफैंले लेख्न थालेकी छन् । निर्देशकको भने टुंगो लागिनसकेको उनले बताइन् ।
‘मसँग अहिले दुईवटा स्क्रिप्टको तयारी छ । लेखन थालेकी छु । एउटा चाहिं लभस्टोरी हो र अर्को अनपेक्षित खालको छ,’ फिल्मबारे जानकारी दिंदै प्रियंकाले भनिन्, ‘अर्को वर्ष सुटिङमा लैजाने तयारीमा छु ।’
प्रियंकाको फिल्म कम्पनीले यसअघि ‘वसन्त’ नामक छोटो फिल्म र ‘जस्ट अनादर’ लभस्टोरी सिरिज निर्माण गरिसकेको छ । यो सिरिजको दोस्रो सिजनलाई अघि बढाउने तयारीमा उनी छिन् । एपीवान टेलिभिजनसँग मिलेर सिरिज बनाउनेदेखि दुई रियालिटी शो सञ्चालनमा ल्याउने प्रियंकाको योजना छ ।
प्रतिक्रिया 4