
काठमाडौं । चलचित्र विकास बोर्डको अनुमति लिएर मात्र अबदेखि सिनेमा हलको शो संख्या र टिकट दर निर्धारण गर्न पाइने भएको छ । मंगलबार काठमाडौं उपत्यकाका सबै प्रदर्शक, वितरक र निर्मातालाई कार्यालयमा बोलाएर बोर्डले यस्तो निर्देशन दिएको हो ।
छलफलपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष दयाराम दाहालले बोर्डको अनुमतिबिना सिनेमा हलको शो र टिकट दर तोक्न नपाइने निर्देशन दिइएको बताए । साथै, बोर्डले हलको रियल टाइम डाटा पनि उपलब्ध गराउन निर्देशन दिएको छ ।
अनुमतिबिना दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ मध्यरातमा समेत चलाइएको र आफूखुसी टिकट दर कायम गरिएको भन्दै व्यापक गुनासो आएपछि बोर्डले प्रदर्शक र वितरकलाई बोलाएर यस्तो निर्देशन दिएको हो ।
छलफलमा सहभागी प्रदर्शक र निर्माताले भने चौबीसै घण्टा शो उपलब्ध गराउनुपर्ने नियम ल्याउन आग्रह गरेका थिए । छलफलमा अध्यक्ष दाहालले बोर्डको नियम नमान्ने र आफूखुसी अघि बढ्ने हललाई बन्द गराउने गरी आफूहरु अघि बढ्न सक्ने चेतावनी दिएका थिए ।
छलफलमा प्रदर्शनमा नेपाली फिल्मलाई प्राथमिकता दिनेबारे जोडदार छलफल भएको अध्यक्ष दाहालले जानकारी दिए । ‘अबका दिनमा पहिलो प्राथमिकतामा नेपाली फिल्मलाई राख्ने उहाँहरुको कुरा छ,’ दाहालले भने, ‘त्यो माइन्युटमा उहाँहरुले सही गर्नुभएको छ ।’
दर्शक आउने परिस्थितिमा मध्यरातमा पनि हल चलाउन पाइने, तर सुरक्षाको पूर्ण सुनिश्चितता हुने कुरा पनि भएको छ । यसबारे गृह मन्त्रालयका प्रतिनिधिलाई बोलाएर समेत छलफल गर्ने सहमति भएको छ । टिकट मूल्य तोक्नेबारे प्रदेश सरकारसँग बोर्डले सहजीकरण गर्ने भएको छ ।
बक्स अफिसलाई कडाइका साथ पालना गर्नुपर्ने, रियल टाइम डेटा उपलब्ध गराउनुपर्ने र बक्स अफिस प्रणालीलाई ‘म्यानुपुलेसन’ गर्न खोज्नेहरुलाई वितरण हुने फिल्म नदिइनेबारे समेत छलफल भएको दाहालले बताए । यसको मोडालिटी चलचित्र संघ र निर्माता संघले तुरुन्तै बनाएर लागू गर्ने सहमति पनि भएको छ ।
बोर्डको सहमतिबिना मनपरी ढंगले शो र टिकट दर कायम गरेको कुराप्रति प्रदर्शकले माफी मागेको जानकारी पनि दाहालले दिए । ‘उहाँहरुले आइन्दा गल्ती नगर्ने र नियम अनुसार अघि बढ्ने कुरा स्वीकार्नु भएको छ,’ अध्यक्ष दाहालले अनलाइनखबरलाई भने ।
प्रतिक्रिया 4