खे६ वैशाख, काठमाडौं । चीनको होङझोउ शहरमा हुने १९ औं एसियाली खेलकुदका लागि मे महिनाको पहिलो साताभित्रै खेलाडी दर्ता गरिसक्नुपर्ने व्यवस्थाका कारण नेपालले दुई साताभित्र राष्ट्रिय टिम छनोट गर्नुपर्ने भएको छ ।
एसियाली खेलकुदका लागि पाँच महिनाभन्दा कम समय बाँकी रहँदा नेपालले अहिलेसम्म खेलाडी छनोट गरेको छैन । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले जेठ अन्तिम साता गण्डकीमा हुने निर्धारित नवौं राष्ट्रिय खेलकुदको प्रदर्शनका आधारमा एसियाडका लागि टिम छनोट गर्ने तयारी गरेको थियो ।
एसियाली खेलकुदको तयारीका लागि राखेपले बनाएको हाई पफर्मेन्स कमिटीले आइतबार एसियाडमा सहभागी हुने सम्भावित १६ खेल संघको नेतृत्वसँग यसबारे छलफल गरेको थियो । कमिटीले १५ दिनभित्र खेलाडी छनोट गर्न सकिने सम्भावनाको प्रस्तावमा कतिपय खेल संघले सम्भव नभएको बताएका थिए ।
कमिटीका सचिव हिमाल दाहालका अनुसार राखेपले छिट्टै राष्ट्रिय खेल संघहरुलाई खेलाडी छनोटको मापदण्ड र वजेट विनियोजन गर्ने गरी फाष्ट ट्र्याकमा काम भइरहेको जानकारी दिएका छन् । नेपालले एसियाडमा कति खेलका कतिजना खेलाडी सहभागी गराउनेबारे अहिलेसम्म निर्णय गरेको छैन । तर, दुई वर्षअघि नेपालमै सम्पन्न दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता खेल तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गरेका खेलहरुलाई प्राथमिकतामा राखेको छ ।
‘राष्ट्रिय खेल संघका नेतृत्वसँग एक चरणको छलफल भएको हो । हामीले अहिले नै उहाँहरुलाई खेलाडी छनोटका लागि निर्देशन दिएका छैनौं । एकदुई दिनभित्र मापदण्ड र बजेट निर्धारण गरेर पठाउँदैछौं,’ हाई पफर्मेस कमिटीका प्रवक्तासमेत रहेका दाहालले अनलाइनखबरसँग भने, ‘एसियाड आयोजकले तोकेको समयमा दर्ता गर्न सकिएन भने नेपाली खेलाडीको सहभागिता नपाउने स्थिति आएकाले हतारमा गर्नुपरेको हो ।’
कमिटीका सदस्य तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार नेपाल ओलम्पिक कमिटीले आयोजकलाई खेलाडी दर्ताको समयमा लचिलो भइदिन प्रस्ताव गरेको छ ।
‘एक महिनापछि हाम्रो बृहत राष्ट्रिय खेलकुद आयोजना हुँदैछ त्यसबाट खेलाडी छनोट गर्ने तयारी भएकाले केहि समय दिन प्रस्ताव गरेका छौं,’ उनले भने, ‘उताबाट सकारात्मक जवाफ आएको खण्डमा हामीलाई सजिलो हुन्छ । नत्र मे महिनाको पहिलो सातासम्म एसियाडका लागि खेलाडी दर्ता गरिसक्नुपर्छ ।’
आसन्न नवौं राष्ट्रिय खेलकुद र एसियाडमा खेलाडी दर्ताको बाध्यतालाई मध्यजनर गरी राखेपले एउटा मध्यमार्गी विकल्प अघि सार्ने भएको छ । त्यो भनेको समावेश खेल संख्या निश्चित गरी सो खेलका धेरै खेलाडी दर्ता गर्नु हो ।
‘एसियाडमा नाम दर्ता नभएका खेलाडीले खेल्न पाउँदैनन् । त्यसैले हामीले लैजाने संख्या भन्दा बढी खेलाडी दर्ता गरी तयारी सुरु गर्ने । नवौंको प्रदर्शन र खेलाडीको क्षमताका आधारमा अन्तिम नामावली टुंगो लगाउने,’ ओलम्पिक कमिटीका महासचिव श्रेष्ठ भन्छन् ।
नेपालले सिधा सहभागिता जनाउन सक्ने सबैभन्दा ठूलो प्रतियोगिता एसियाडमा नेपालले अधिकतम खेल र खेलाडी पठाउनुपर्ने तर्क महासचिव श्रेष्ठको छ ।
‘हाम्रो ओलम्पिक सहभागिता निश्चित हुन्छ । कतिपय खेलका खेलाडीलाई ओलम्पिकसम्म पुग्ने वरीयताका लागि एसियाली खेलकुद आवश्यक हुन्छ । हामीले धेरै कुरा विचार गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, मेरो विचारमा, बरु एउटा खेलबाट सीमित खेलाडीको सहभागिता गराउने तर धेरैभन्दा धेरै खेलको सहभागिता गराउनुपर्छ ।’
पूर्व निर्धारित कार्यतालिकाअनुसार नवौं राष्ट्रिय खेलकुद गत फागुनमै आयोजना हुनुपर्ने थियो । सरकार परिवर्तनपछि राखेपको कार्यकारीमाथि हस्तक्षेप र त्यसबाट सुरु भएको अदालती झमेलाका कारण त्यो समयमा प्रतियोगिता आयोजना हुन सकेन ।

समयमै नवौं खेलकुद हुन नसक्दा यसपल्ट एसियाली खेलकुदको तयारीमा पनि असर परेको छ । छोटो समयमा धेरै तयारी गर्नुपर्ने आवश्यकता भएको छ । तर खेलअधिकारीहरु राष्ट्रिय खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हरबखत तयार हुनुपर्ने भएकाले ठूलो समस्या नहुने बताउँछन् ।
सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि नै नेपालले सहभागिता जनाउन थालेको हो । तर अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । चार वर्षअघि इण्डोनेसियामा सम्पन्न अघिल्लो संस्करणमा नेपालले प्याराग्लाइडिङबाट रजत पदक जितेको थियो । यो खेल यस संस्करणमा समावेश गरिएको छैन । ७० वर्षको इतिहासमा नेपालले एसियाली खेलकुदबाट २ रजत र २१ कांस्य पदक जितेको छ ।
प्रतिक्रिया 4