
६ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अदालतको आदेशको प्रति पाएलगत्तै आफू काममा फर्किने बताएका छन् । विभिन्न आरोप लगाउँदै गरकारले जाँचबुझ समिति बनाएपछि निलम्बनमा परेका अधिकारीलाई सर्वोच्च अदालतले मंगलबार काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको थियो ।
अधिकारीले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश दिँदै अधिकारीलाई काम गर्न बाटो खुला गरेको छ । आदेशपछि अनलाइनखबरसँग कुरा गर्दै गभर्नर अधिकारीले केन्द्रीय बैंकले न्याय पाएको प्रतिक्रिया दिए ।
‘म त माध्यम मात्रै हुँ, यो केन्द्रीय बैंक र सबैले पाएको न्याय हो,’ उनले भने, ‘यसबारे अन्तिम फैसला हुन बाँकी नै छ ।’ उनले अदालतको आदेश हात परेलगत्तै आफू केन्द्रीय बैंकमा फर्किर काम थाल्ने बताए ।
अधिकारी निलम्बनपछि स्वायत्त संस्थामा सरकारले हस्तक्षेप गरेको भन्दै विरोध भएको थियो । अर्थमन्त्री जनार्दन शर्माले सरकारलाई असहयोग गरेकोसहित विभिन्न गम्भीर आरोपहरु लगाएर गभर्नरको निलम्बन गराएका थिए ।
प्रतिक्रिया 4