
सशुल्क भिडियो स्ट्रिमिङ साइट नेटफ्लिक्सका प्रयोगकर्ताको संख्या पछिल्लो एक दशकमा पहिलोपटक घटेको छ ।
कम्पनीका अनसार विश्वव्यापी मुद्रास्फीति , युक्रेन तथा तीव्र प्रतिस्पर्धाका कारण नेटफ्लिक्सका सब्सक्राइबरको संख्यामा गिरावट आएको हो । महामारीको बेला राम्रोसँग आम्दानी गर्न सफल भएको नेटफ्लिक्सले आगामी दिनमा सब्सक्राइबरको संख्यामा अझै गिरावट आउने प्रक्षेपण गरेको छ ।
सन् २०२२ को पहिलो त्रैमासिकमा नेटफ्लिक्सले २ लाख सब्सक्राइबर गुमाएको छ । जबकि यो अवधिमा २५ लाख सब्सक्राइबर थप गर्ने नेटफ्लिक्सको प्रक्षेपण थियो ।
युक्रेनमाथि रुसले गरेको आक्रमण पश्चात् नेटफ्लिक्सले समेत रुसमा आफ्नो सेवा बन्द गरेको छ । जसका कारण उसले ७ लाख रुसी प्रयोगकर्ता गुमाएको छ ।
उता नेटफ्लिक्सका सब्सक्राइबरको संख्यामा कमी आएको रिपोर्ट सार्वजनिक भएसँगै मंगलबार कम्पनीको शेयर मूलयमा २६ प्रतिशतको गिरावट आएको छ । जसका कारण कम्पनीले शेयर बजारबाट ४० अर्ब डलर गुमाएको छ ।
गत जनवरीमा नेटफ्लिक्सले सब्सक्राइबरको वृद्धिदर सुस्त हुने रिपोर्ट सार्वजनिक गरेयता कम्पनीले आफ्नो कम्पनीको कुल बजार मूल्यको आधार रकम गुमाइसकेको छ ।
सब्सक्राइबरको वृद्धिदरमा कमी आएसँगै नेटफ्लिक्स कम शुल्क तथा विज्ञापनसमेत देखाउने सब्सक्रिप्सन प्लान ल्याउन बाध्य भएको छ । यस्तै अफरका कारण एचबीओ म्याक्स र डिज्नी प्लस सफल भएको उसको दाबी छ ।
एजेन्सी
प्रतिक्रिया 4