
७ वैशाख, काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिंहको स्मृतिमा यही बैशाख १७ गते शनिवार ‘वीर गणेशमान सिंह तेस्रो १० के रोड रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने उक्त रेसमा यस पटक पूरुष र महिलातर्फ ५ कि.मि दौड पनि सञ्चालन हुने आयोजकले जनाएको छ ।
रेस बिहान साढे ७ बजे शेर्पा महल दरबारमार्गबाट सुरु हुनेछ भने महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, गैरीधारा, राजदरबार उत्तरपूर्व मोड, नागपोखरी, जय नेपाल सिनेमा घर हुँदै पुनः शेर्पा महल दरबारमार्गमा पुगेर सम्पन्न हुनेछ ।
यसै गरी ५ कि मि दौड शेर्पा महल दरबारमार्गबाट सुरु भई महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर , सुन्धारा , वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट हुदै पुनः शेर्पा महलमा पुगेर सम्पन्न हुनेछ ।
१० किमि दौडमा महिला तथा पुरुषतर्फका विजेताले ६० हजार पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी दोस्रो हुनेले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् ।
५ किमितर्फ पुरुष तथा महिला तर्फका विजेताले १५ हज़ार, दोश्रो हुनेले १० हज़ार, तेश्रोले ७ हज़ारचौथो हुनेले ५ हज़ार र पॉचौ हुनेले ३ हज़ार प्राप्त गर्नेछन भने प्रतियोगितामा छैटौंदेखि १०औं स्थानसम्म प्राप्त गर्ने खेलाडीलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
नयॉ रेकर्ड क़ायम गर्ने पहिलो खेलाडीलाई नगद १० हजारले पुरस्कृत गरीनेछ । प्रतियोगितामा अनुमानित बजेट १७ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा नेपालका उत्कृष्टसहित उदयीमान धावकहरु सहित केही विदेशी खेलाडीहरुको सहभागीता रहनेछ ।
प्रतियोगिताको रेस डाइरेक्टर सुशिल नरसिंह राणा र संयोजकमा राजन खत्री छन् ।
प्रतिक्रिया 4