
७ वैशाख, अर्घाखाँची । ३० फागुनमा पत्रकार सम्मेलन गरेर ५ दलीय गठबन्धनको घोषणा गरेका र स्थानीय चुनाव मिलेर लड्छौं भनेका अर्घाखाँचीका दलहरुले अहिलेसम्म भागवण्डा टुंगो लगाउन सकेनन् ।
एक महिनाअघि नै एउटै मञ्चबाट तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने सहमति गरेका नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकत समाजवाादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पाटीले स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका तालमेल गर्ने निर्णय निष्कर्षमा पुग्न सकेन ।
२०७४ सालको स्थानीय तह चुनावमा शितगंगा र सन्धिखर्क नगरपालिका तथा पाणिनी र छत्रदेव गाउँपालिकामा प्रमुखमा जितेको कांग्रेसले यथावत स्थानमा दावी कायम राखेको छ । नेकपा माओवादी केन्द्रले सन्धिखर्क, मालारानीसहित उपप्रमुख तथा समाजवादीले एमालेले जितेको मालारानीको प्रमुख सहित शितगंगाको उपप्रमुखमा दाबी गरेको छ । एउटै पालिकामा फरक फरक पार्टीको दाबी रहेकाले सहमति हुन नसकेको हो ।
भुमिकास्थानमा जनमोर्चाको प्रभाव रहेकोले नगरप्रमुख जनमोर्चालाई दिने गठबन्धन दलको तयारी छ । गठबन्धनका कारण समस्या भएको बताउँदै गठबन्धन दलहरुले उम्मेद्वार छनोटको नजिकमा पुगेको बताए पनि निष्कर्षमा पुग्न नसकेको कांग्रेस अर्घाखाँचीका प्रचार विभाग प्रमुख सूर्य भुसालले बताए ।
एमालेले गरिसक्यो उम्मेद्वारको सिफारिस
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेले पाणिनी गाउँपालिका, भुमिकास्थान र शितगंगा नगरपालिकामा उम्मेदवार टुंगो लगाएको एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले बताए ।
सदरमुकाममा रहेको सन्धिखर्क नगरपालिका, मालारानी र छत्रदेव गाउँपालिकामा गरी प्रमुखको लागि १० जना र उपप्रमुखको लागि १३ जनाको नाम सिफारिस गरेको छ । सिफारिसमा परेका एमाले नेताहरु टिकटको लबिङमा छन् । जिल्ला पार्टीले रायसुझावसहित प्रदेशमा नाम पठाएको एमालेले बताएको छ ।
सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकामा कृष्णप्रसाद श्रेष्ठ, श्रीकृष्ण भुसाल, खुबिराम आचार्य, युवराज श्रेष्ठलाई प्रमुखमा र मिश्रा आचार्य, सुशीला गैरे, पार्वता श्रेष्ठको नाम उपप्रमुखमा सिफारिस गरेको छ ।
छत्रदेव गाउँपालिकामा ऋषिराम अधिकारी, दिपक पन्थी र हसरदीन मियाँलाई अध्यक्षमा र मनी शर्मा पन्थी, रूपा पाण्डे प्रधान, पबित्रा श्रेष्ठ, मिना पाण्डे, सरस्वती पोख्रेललाई उपाध्यक्षमा सिफारिस गरेको छ ।
मालारानी गाउँपालिकामा नेकपा एमालेले जनार्दन खनाल, बालकृष्ण आचार्य र दलबहादुर भट्टराइलाई अध्यक्षमा र इन्दिरा आचार्य, जानका खनाल, जुना घिमिरे, दिपा पोख्रेल, लक्ष्मी अर्याललाई उपाध्यक्षमा सिफारिस गरेको छ ।
भुमिकास्थानको प्रमुखका उम्मेदवार रेशम थापा २०७४ को स्थानीय निर्वाचनमा माओवादीबाट निर्वाचित भएका हुन । टोपबहादुर रायमाझी एमालेमा प्रवेश गरेसँगै थापा पनि एमालेमा प्रवेश गरेका हुन ।
एमालेले उम्मेदवार टुंगो लगाईसक्दा गठबन्धन दलले भागवण्डा नै टुंगो लगाउँन सकेका छ्रैनन् । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल अर्घाखाँचीमै हुदाँ पनि गठबन्धन दलले भागवण्डा गर्ने सकेनन् ।
६ स्थानिय तह रहेको अर्घाखाँचीमा ६१ वटा वडा छन् । ३ गाउँपालिका र ३ नगरपालिका रहेको अर्घाखाँचीमा २०७४ सालमा ४ स्थानीय तहको प्रमुखमा कांग्रेस विजयी भएको हो । मालारानीमा एमाले र भुमिकास्थानमा माओवादी विजयी भएको हो ।
प्रतिक्रिया 4