
६ वैशाख, काठमाडौं । बीबीसी मास्टर सेफ सन्तोष साहसहित सेफहरुको टोलीले नेपालको मौलिक खाना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्य प्रवर्द्धनको अभियान पूरा गरेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटन क्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत “बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०” का फाइनालिस्टलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल ल्याएको थियो ।
चर्चित सेलिब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अंकित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यमा मौलिक खानाको अवलोकन, अन्वेषण गरेका छन् ।
मास्टर सेफहरुको नेपाल भ्रमण तथा गतिविधिबाट विश्व स्रोत बजारमा नेपालको मौलिक खाना र संस्कृति समेत गन्तव्यको अभिन्न आकर्षण रहेको, महामारी पश्चात नेपाली पर्यटन क्षेत्र पूर्णरुपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक अद्धितीय गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह भएको पाटा नेपालले जनाएको छ ।
मास्टर सेफहरुको सामाजिक सञ्जाल तथा नेटवर्कमा आवद्ध समुदाय माझ नेपाल गन्तव्यको प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुगेको पाटा नेपाल च्याप्टरले लेखेको छ । मास्टर सेफहरुले नेपाली युवा सेफ तथा हस्पिट्यालिटी विद्यार्थीहरुलाई नेपाली खानामा नविनतम अभ्यास, निरन्तर अन्वेषण र प्रभावकारी प्रवर्धनमा आबद्ध हुन समेत प्रेरित गरेको समेत उल्लेख गरिएको छ ।
सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पुर्याउन नेपाली प्रचलनमा रहेका शब्दहरुको प्रयोग गर्दै आएका सन्दर्भमा कुनै पनि सभा समारोहमा उत्सवको रुपमा खानपिन सुरु गर्दा उच्चारण हुने अंग्रेजी शब्द ‘चीयर्स’को साटो नेवारी संस्कृति सगुनको रुपमा प्रदान गरिने ‘आयला’ शब्द प्रयोग गर्न सुझाव दिए ।
मास्टर सेफ सन्तोष साहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली अप्रिल ७, २०२२ मा काठमाडौं आएको थियो । टोलीले नेपालमा १० दिनसम्म विभिन्न स्थानमा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमा सहभागिता जनाएको छ ।
प्रतिक्रिया 4