
आज गाउँका मानिसको अनुहार सधैंजसो खुशी छैन । गाउँका जनप्रतिनिधिको बिदाई कार्यक्रम रहेछ । प्रायःसबै घरबाट प्रतिनिधित्व हुने गरी गाउँको माझमा रहेको सुविधा सम्पन्न सभाहलमा गाउँलेहरू भेला भएका छन् ।
गाउँका सबै जनप्रतिनिधिको उपस्थिति देखिन्छ । एक हप्ता पहिलेदेखि नै गाउँका प्रमुखबाट इमेलमार्फत गाउँले सबैलाई अनिवार्य उपस्थितिको लागि पत्राचार गरिएको थियो । विगतका कामको समीक्षा र आगामी दिनमा गरिनुपर्ने कामको लागि जनताका सुझाव साथै जनप्रतिनिधिको कार्यकालको समापन हुन लागेकोले बिदाई कार्यक्रम गर्ने भनेर जनतालाई बोलाइएको रहेछ ।
पाँचवर्ष पहिले र अहिले गाउँ निकै परिवर्तन भएको हुनाले आफ्ना जनप्रतिनिधिका कुरा सुन्न पाउँदा सबैको अनुहारमा खुशी छाएको थियो, तर उनीहरूलाई बिदाई गर्नुपर्दा नरमाइलो लागेको पनि थियो । प्रायः जनता र जनप्रतिनिधिबीचमा गाउँका समस्या र विकासका एजेन्डाका बारेमा कार्यक्रम त प्रत्येक महिनामा हुने गर्थे, तर आजको कार्यक्रम अलि भिन्न स्वभावको थियो।
निर्वाचनको समयमा यो पार्टी र त्यो पार्टीको मान्छे भनेर भनिए तापनि त्यसपछि कुनै जनप्रतिनिधिले आफूलाई कुनै दलको भनेर चिनाएका थिएनन् । गाउँको विकास र समृद्धिको सवालमा सबै एकजुट नै थिए । त्यसले पनि जनप्रतिनिधि सबै जनताको मन मुटुमा बसेका थिए ।
पाँच वर्षको कार्यकालमा कुनै किसिमको अनियमितता र भ्रष्टाचार भएन । विकास र योजनाका काममा अत्यन्तै पारदर्शी भयो । प्रमुख उपप्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू इमान्दार र जवाफदेही थिए । त्यसैले त हाम्रो गाउँ देशकै नमुना गाउँ बनेको थियो ।
सभाहल पनि झकिझकाउ थियो। मानिसहरू भरिभराउ थिए । फर्निचरको राम्रो प्रबन्ध थियो । बाहिर पार्किङको पनि सुविधा हुनाले करिब १०/१२ वटा कार र ४०/५० वटा माेटरसाइकल पार्किङ गरिएका थिए । कार्यक्रमको सुरुवात बिहानको दश बजे भनेकोमा दशै बजे सुरुवात भयो । जनता र जनप्रतिनिधिको बसाईलाई तलमाथि गरिएको थिएन, आसनग्रहण वा आतिथ्यका लागि फूलमाला र अबिर पनि थिएन । वक्ताको लागि देख्न र सुन्न सजिलो होस् भनी अलि अग्लो स्टेज मात्र बनाइएको थियो ।
हलभित्र हजारौं मान्छे भएपनि सुनसान जस्तो देखिन्थ्यो । जनताहरू आफ्ना जनप्रतिनिधिका कुरा सुन्न आतुर थिए । गाउँपालिकाका प्रशासकीय अधिकृतले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा जब सञ्चालकले मन्तव्य राख्नको लागि गाउँपालिकाको प्रमुखलाई अनुरोध गरे । जनताबाट तालीका गडगडाहड बजे । प्रमुखको आफ्नो पाँचवर्षे कार्यकालको यो अन्तिम औपचारिक कार्यक्रममा सम्बोधन गर्न लागेको हुनाले प्रमुखलाई देख्दा जनताको मुहारमा त्यति खुशी थिएन र प्रमुख पनि सधैं जस्ता देखिन्थे आज त्यस्ता देखिएका थिएनन्,अनुहारमा खुशीपन थिएन।
प्रमुखले कार्यक्रमकै शुरुमा जनतालाई हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गरे । उनले आफ्नो पाँचवर्षे कार्यकालका लामो उपलब्धि सुनाए । उनले गाउँमा शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, विद्युत, रोजगार, यातायात, पार्क व्यवस्थापन, धार्मिक, ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाको संरक्षण, शान्ति सुव्यवस्थाका कुरा लगायत अन्य थुप्रै कामको प्रगति र परिणामको प्रतिवेदन सुनाए ।
वास्तवमा यस गाउँमा विकास पनि उधुमै भएको थियो । विकास, पूर्वाधार, गुण स्तरीय जीवन सबै कुराले सम्पन्न भएको हुनाले यस गाउँलाई सबैले उधुमै गाउँ भनेर पनि भन्छन् । गाउँमा सुविधा सम्पन्न विद्यालय बनेको थियो, जहाँ कक्षा १२ सम्म नि:शुल्क पढाई हुन्थ्यो । विद्यालयमा कक्षा पाँचसम्मको विद्यार्थीलाई दिउँसो नास्ताको व्यवस्था थियो भने अलि टाढादेखि आउने विद्यार्थीलाई स्कुल बसको व्यवस्था पनि गरिएको थियो ।
विद्यालयमा सबै किसिमको प्रविधिको प्रयोग गरिएको थियो । सबै विषयका शिक्षकहरूको व्यवस्था गरिएको थियो र शिक्षकहरू पनि तालिम प्राप्त र मिहिनेती थिए । पाठयोजना बनाएर जति सक्यो स्थानीय शैक्षिक सामग्रीको प्रयोग गरी पढाउँथे । विद्यालयमा सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षालाई महत्त्व दिइएको हुनाले विद्यार्थीहरू पढ्नमा अत्यन्तै जिज्ञासु पनि थिए ।कृषिलाई अनिवार्य विषय बनाइएको हुनाले विद्यार्थीहरूले घरमै प्रयोगात्मक शिक्षा लिएका हुन्थे, यसले गर्दा कक्षा १२ उत्तीर्ण गर्दा नै विद्यार्थी स्वरोजगारी हुन पाएका थिए । गाउँमा युवा पुस्ता कोही बेरोजगार थिएनन् पनि ।
गाउँका कुनै पनि खेतीयोग्य जमिन बाँझो थिएनन् । प्रत्येक वर्ष गाउँका ८/१० जना युवालाई कृषि तालिमको लागि गाउँपालिकाको लगानीमा पढ्न पठाइन्थ्यो । गाउँमा खोलाको पानी तानेर लिफ्ट प्रणालीबाट खानेपानी व्यवस्थापन गरिएको थियो । सबैको घरघरमा खानेपानीका धारा जोडिएका छन् ।
खानेपानी र करेसा बारीलाई सबैको घरमा जोडिएको पानीले पुगेको छ । खेतबारीमा सिँचाइको लागि सरकारी बजेटमा गाउँकै जनताले कुलो र नहर खनेर हिउँदमा समेत सिँचाइको लागि पानी पुगेको छ ।
गाउँपालिकाले प्रत्येक टोलमा आधुनिक तरिकाले खेतीपाती गर्ने औजार,मल,बिउको व्यवस्थापन गरिदिएको छ । प्रायः गाउँका युवाहरू कृषि पेसामा रमाएका छन् । बाहिर गएका युवाहरूपनि गाउँमा नै केही न केही पेसा अगाल्नु पर्छ भनी फर्कंदै छन्।
गाउँमा व्यावसायिक कृषिका अतिरिक्त कुखुरा पालन, बाख्रा पालन, गाई पालन जस्ता पेसा पनि गरेका छन् । पाँच वर्ष पहिले छ महिना खान नपुग्ने गाउँमा अहिले खान पुगेर पनि हरेक घरमा अन्न,तरकारी,फलफूल आदि बिक्रीबाट करिब एक लाख आम्दानी हुन्छ । गाउँको कृषि पेसा निर्वाहमुखी नभएर पूरै व्यवसायी बनिसकेको छ ।
गाउँमा उत्पादित जुनसुकै वस्तुको खरिद गाउँपालिकाले गर्ने हुनाले कृषकलाई कहाँ बेच्ने भन्ने तनाव छैन । गाउँपालिकाले सबै खरिद गरी बजारसम्म पुर्याउने काम गर्छ । गाउँमा बैंक खोलिएको छ,पन्ध्र पन्ध्र दिनमा कृषकको खातामा पैसा जम्मा हुन्छ।
गाउँमा स्वास्थ्यको पनि राम्रो प्रबन्ध छ । सुविधा सम्पन्न अस्पताल बनाइएको छ । दक्ष जनशक्तिको व्यवस्था छ । केही सरकारी स्वास्थ्यकर्मी छन् केही गाउँपालिकाले नियुक्ति गरेको छ । पन्ध्र पन्ध्र दिनमा स्वास्थ्यकर्मीको घुम्ती टोली बनाइएको छ ।
असक्षम र ज्येष्ठ नागरिकलाई परीक्षण गर्न स्वास्थ्यकर्मीलाई घरमै जानुपर्ने व्यवस्था गरिएको छ भने अन्यलाई टोल अनुसार बार, गते, समय र स्थान तोकिएको छ ।
केही औषधि बाहेक सामान्य किसिमका औषधि गाउँपालिकाले आफैं खरिद गरेर नि:शुल्क नै वितरण गर्छ । इमर्जेन्सी स्वास्थ्य चौकी जानु पर्यो भने एम्बुलेन्सको व्यवस्था पनि छ । एम्बुलेन्सको लागि कुनै शुल्क तिर्नुपर्दैन । विभिन्न किसिमका खेलकुद खेल्नको लागि गाउँपालिकाले व्यवस्थित रंगशाला पनि बनाइ दिएको छ ।
बच्चाबच्चीलाई घुम्न र खेल्न टाेलटाेलमा उद्यानहरू बनाइएका छन् भने पुस्तक र पत्रपत्रिका पढ्न सुविधा सम्पन्न पुस्तकालयहरू पनि खोलिएका छन् । गाउँपालिकाकै अग्रसरतामा घर घरको फोहोर उठाई प्रशोधन गरी बिक्रीवितरणबाट फोहोरबाट मोहर पनि आम्दानी हुन्छ।
हाम्रो गाउँमा सडक र यातायात पनि राम्रै छ । भौगोलिक बनावटले केही असहज भए पनि सबैका घरबाट कम्तीमा पनि १० मिनेट हिँड्ने हो भने मोटर बाटोसम्म चाहिँ पुग्न सकिन्छ।सबैको घर घरमा बिजुली र इन्टरनेटको सुविधा छ । गाउँमा आआफ्नो आस्था अनुसार सबै धर्म मान्नेहरूलाई गाउँपालिकाकै अग्रसरतामा सबै सम्पदाहरू संरक्षण गरिएका छन् ।
जनताको शान्ति र सुव्यवस्थाका लागि गाउँपालिकाले आफ्नै बजेटमा टोल टोल हेर्ने गरी सुरक्षाकर्मी व्यवस्था गरेको छ । गाउँमा कुनै किसिमको न्याय निसाफ दिनको लागि गाउँकै उपप्रमुखको नेतृत्वमा न्यायिक समिति बनाइएको छ।न्याय पाउन कोही जिल्ला वा केन्द्र धाउन पर्दैन।
गाउँका जनप्रतिनिधिले यसरी आफ्नो कार्यकालमा यस गाउँलाई एउटा सुन्दर र नमुना गाउँ बनाएकोमा जनता अत्यन्तै खुशी देखिन्थे । यस गाउँमा शिक्षा, स्वास्थ्य, बेरोजगारी, गरीबी, यातायात, बिजुली कुनै किसिमको अभाव छैन, एउटा स्वर्गीय गाउँ जस्तो देखिएको छ।
अब गाउँमा कलेज, उद्योग र कलकारखाना खोल्ने, देश विदेशको पर्यटकलाई गाउँमा भित्र्याउने भन्ने सवालमा आज विशेष छलफल भयो र सम्पूर्ण जनताको तर्फबाट प्रतिनिधित्व गर्दै हरिलालद्वारा प्रमुख लगायत अन्य सबै जनप्रतिनिधिलाई यस कार्यकालमा राम्रो काम गरेको हुनाले अर्को कार्यकालको लागि पनि उम्मेदवारी दिनको लागि अनुरोध गरियो ।
सबै जनताले आफ्नो मत पुनः यिनै जनप्रतिनिधिलाई दिने प्रतिबद्धता गरे र आगामी निर्वाचनको विजयीको सुनिश्चितताको शुभकामना समेत दिए र समयमै कार्यक्रम समापन भयो।अर्को एक महिना पछि पनि यिनै विकासप्रेमी नेता पाइन्छ भन्नेमा जनता पनि सुनिश्चित देखिन्थे।
म पनि मेरो गाउँ यति सुसम्पन्न भएकोमा अत्यन्तै खुशी नहुने कुरा भएन । मेरो गाउँ जसरी विकास भएको छ त्यसरी देशका सबै गाउँको विकास गर्न प्रेरणा मिलोस् भन्नका लागि मेरो गाउँको चित्र राष्ट्रिय दैनिकमा छापी देश विदेशमा पुर्याउनु पर्यो भन्ने मेरो मनमा हुटहुटी आउँछ।
मेरो देशको विकास र समृद्धिले भरिपूर्ण भएको नमुना गाउँ मेरै मात्र थियो । केही दिन पहिले एउटा अनलाइन पेपरमा हाम्रो गाउँको समाचार यस्तो छ, तपाईंहरूको कस्तो छ नि भनी समस्यै समस्याको पहाडले भरिएको गाउँको वेदना र पीडाको बारेमा पढेको थिएँ जुन पढ्दा मेरा गहभरी आँसु भरिएका थिए । त्यो पढेको कुरा यतिबेला स्मरण भएर आयो।
मलाई हाम्रा जनप्रतिनिधिले जसरी गरे त्यसरी गर्यो भने नेपालका हरेक गाउँ सुन्दर बन्छन् भनेर त्यही पेपरमा पठाउनु पर्ने थियो । त्यसैले घर पुगेर मेरो गाउँको चित्र कोर्न खोज्छु, कापी र कलम भेटाउँदिन । यतिबेला नै टाउको गरुङ्गो भयो, आँखा तिरिमिरी भए । शरीर भारी जस्तो भयो, घर बाहिर कताकता चराहरूले गीत गाए झैँ सुनें र झस्ल्यास्स बिउँझिएँ । बाहिर हल्का उज्यालो देखियो ।
हिजो सुत्ने बेलामा पेट राम्रोसँग भर्न पाएको थिइनँ, शरीरलाई ढाक्न प्रशस्त कपडा नहुँदा हातखुट्टा राम्रोसँग तात्न पाएका पनि थिएनन् । तैपनि एक झप्को निदाइएछ र सपनासम्म चाहिं देखिएछ । सपनामा भए पनि मेरो जीवनमा मेरो गाउँको विकास भएको बल्ल पहिलो पटक देखें । आजको सपनामा देखेजस्तै मेरो उधुमै गाउँको विकास कहिले होला हँ !
(भर्जिनिया,अमेरिका)
प्रतिक्रिया 4