
९ वैशाख, डोटी । सत्ता गठबन्धन दलहरुबीच चुनावी तालमेलका लागि सहमति नभएपछि नेकपा एकिकृत समाजवादीले बैतडीको पाटन नगरपालिकामा उम्मेद्वार चयन गरेको छ ।
दलहरुबीच तालमेलका लागि कुरा नमिलेका कारण आफूहरुले एकल टिम घोषणा गरेको एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चमन भण्डारीले बताए । उनी भन्छन् ‘यदि तालमेल हुन्छ भने हामी सहमति अनुसार को को ‘व्याक’ हुन तयार छौं, तर त्यो सम्भावना न्यून छ ।’
भण्डारी आफैं नगर प्रमुख र द्रोपति जोशी अवस्थी उपप्रमुखको उम्मेदवार चयन भएका छन् । नगरका १० वटै वडाको टिमसमेत तयार गरेको नगर प्रमुखका उम्मेदवार भण्डारीले जानकारी दिए । उनका अनुसार वडा नं. १ मा चन्द्रदेव भट्टराई, २ मा रमेश पन्त, ३ मा हरिसिंह बिष्ट र ४ मा ध्वजसिंह बिष्टलाई वडाध्यक्षको उम्मेदवार तय गरेको छ ।
भण्डारीले दिएको जानकारी अनुसार वडा नं. ५ मा प्रदिप बोहरा, ६ मा राम भुल, ७ मा धर्मा बम चन्द, ८ मा जय सिंह महरा, ९ मा शिवराज भट्ट र १० मा गोपाल धामीलाई अध्यक्षका उम्मेदवार बनाइएको छ ।
‘१० वटै वडामा वडा सदस्यका उम्मेद्वारको समेत टुङ्गो लगाइसकेका छौं’, भण्डारीले भने, ‘वडाध्यक्षमा महिला र दलितलाई समेत अवसर दिइएको छ ।’
सहमतिको वातावरण बन्यो भने आफूले नगर प्रमुखको दावी छोड्ने उनले बताए । भने, ‘तर उपप्रमुख हामी कुनै हालतमा छोड्दैनौं ।’
उनले कांग्रेसलाई एक्लै जित्छु भन्ने दम्भ भएकोले चुनावी तालमेल हुन नसकेको वताए । उनी माओवादीको भूमिका पनि सकारात्मक नभएको वताउँछन् ।
पाटन नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले विजयी प्राप्त गरेको थियो ।
सुर्नयामा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन हुने
बैतडीको सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति भएको छ ।
सहमति अनुसार अध्यक्षमा समाजवादीको तर्फबाट उम्मेदवार हुनेछन् । उपाध्यक्ष माओवादी केन्द्रबाट उम्मेदवार बनाउने सहमति भएको छ ।
वडाको भागवण्डा भन्ने टुङ्गो लागिसकेको छैन । शुक्रवारसम्म सवै वडाको समेत टुङ्गो लगाएर उम्मेदवारका नाम समेत सार्वजनिक गरिने तयारी छ ।
प्रतिक्रिया 4