
काठमाडौं । दक्षिण एसियाली डकुमेन्ट्री महोत्सव फिल्म साउथ एसिया २०२२ ललितपुरमा सुरु भएको छ । चारदिने महोत्सवको बिहीबार रातो बंगला स्कुलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मन्त्री कार्कीले नेपाल लोकतन्त्र र खुला समाजमा विश्वास गर्ने मुलुक भएकाले यिनै विशेषता भएको ठाउँमा कला, साहित्य र फिल्मको संरक्षण र प्रवद्र्धन हुनसक्ने बताए ।
डकुमेन्ट्री फिल्मले समाजको यथार्थ पहिचान उत्खनन् गर्न सघाउ पुर्याउने भएकाले फिल्म विकासको लागि सरकार प्रतिबद्ध रहेको समेत उनले बताए । काठमाडौंलाई दक्षिण एसियाली फिल्मको राजधानी बनाउन सके पर्यटन र लोकतन्त्र प्रवर्द्धनमा सहयोग पुग्न सक्ने उनको भनाइ थियो ।
कमलमणि थिएटरमा सुरु भएको फेस्टिभलमा भारतीय निर्देशक दीप्ति गुप्ता निर्देशित डकुमेन्ट्री फिल्म ‘सट अप सोना’ स्क्रिनिङ गरियो । ८५ मिनेट लामो यो फिल्मले आधुनिक भारतीय समाजमा समानताको लागि संघर्ष गर्ने अभिनेत्री सोना मोहापत्रको कथा भन्छ ।
राष्ट्रिय अवार्ड समेत जितेको यो फिल्मले भारतीय समाज र सत्तालाई प्रश्न गर्ने समेत निर्देशक गुप्ताले बताइन् । पित्तृसत्ताको दबदबा रहेको भारतीय मनोरञ्जन क्षेत्रमा आफ्नो उपस्थितिको लागि संघर्ष गर्ने अभिनेत्रीको कथा यसले पेश गर्छ ।
बंगलादेशी फिल्म निर्देशक तथा फोटोग्राफर सैदुल आलमले दक्षिण एसियाको संस्कृति, रहनसहन, भूगोल र भेषभूषा साझा भएको बताए । उनले आफू बंगलादेशी भएपनि नेपाल, भुटान र भारतको साझा संस्कृति महत्वपूर्ण रहेको बताए ।
फिल्म साउथ एसियाका अध्यक्ष कनकमणि दीक्षितले नेपाल दक्षिण एसियामा सबैभन्दा उदार र खुला मुलुक भएकाले काठमाडौंलाई दक्षिण एसियाको राजधानी बनाउनुपर्ने बताए । यसतर्फ सरकारले अग्रसरता लिनुपर्ने उनको सुझाव थियो ।
रातोबंगला र यलमाया केन्द्रमा चल्ने फेस्टिभलमा ८ मुलुकका ७१ फिल्म स्क्रिनिङ गरिने भएको छ । कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमै फेस्टिभल आयोजना गरिएको हो । दक्षिण एसियाका सदस्य मुलुकबाट फिल्ममेकरहरु ललितपुरमा भेला भएका छन् ।
पहिलो दिन बिहीबार विभिन्न १० छोटा फिल्म स्क्रिनिङ गरिएको थियो । दोस्रो दिन शुक्रबार नेपालसहित दक्षिण एसियाली मुलुकका २३ छोटा फिल्म प्रदर्शन हुने भएका छन् । सन् १९९७ देखि सुरु भएको फेस्टिभलले यसपटक २५ औं वर्षगाँठ मनाउँदैछ ।
यसपटक फेस्टिभल जुरीको रुपमा भारतीय कलाकार तथा फिल्ममेकर ऐसा अब्राहम, श्रीलंकाली प्राध्यापक तथा फिल्ममेकर सुमाथी शिवामोहन र नेपाली फिल्ममेकर छिरिङरितार शेर्पा छन् ।
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4