
९ वैशाख, विराटनगर । नेपाली कांग्रेसले एउटा पालिका पनि छाड्न नमानेपछि सुनसरीमा गठबन्धनमा रहेका दललाई भावण्डा मिलाउन सकस परेको छ ।
दुई उपमहानगरसहित १२ पालिका रहेको सुनसरीमा उपमहानगरको भागवण्डा केन्द्रबाट मिलेको छ । तर बाँकी रहेका १० पालिका कांग्रेसले दाबी गरेपछि गठबन्धन गर्न सकस परेको हो ।
नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी १० पालिकाको नेतृत्वमा कांग्रेसको दाबी रहेको बताउँछन् । पार्टी भित्रबाट प्रेसर रहेको बताउँदै उनले गठबन्धनमा रहेका अरु दललाई उपाध्यक्ष र वडा अध्यक्ष दिन तयार रहेको बताए । ‘छलफल निरन्तर चलिरहेको छ, तर सहमति जुटेको छैन,’ उनले भने ।
उनका अनुसार माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले एक-एक पालिका मागेको छ । दुवैको दाबी बराह नगरपालिकामा छ ।
माओवादी केन्द्र प्रदेश-१ उपाध्यक्ष शिव डागी दुई वटा उपमहानगरको नेतृत्व छाडेका कारण सुनसरीमा माओवादीले एउटा पालिका पाउनुपर्ने दाबी गरेको बताउँछन् ।
‘दुई वटा उपमहानगर छाड्यौ, हामीले एउटा पालिका मागेकामा दाबी गरेका छौं,’ माओवादी केन्द्र प्रदेश १ का उपाध्यक्ष शिव डागीले भने,‘ कांग्रेसले सहमतिका लागि चासो देखाएको छैन ।’
२०७४ सालको स्थानीय तह निर्वाचनमा ९ वटा पालिका जितेको नेपाली कांग्रेसले सुनसरीमा १२ वटै पालिका नछोड्ने बताएको छ ।
‘उपमहानगर छाडेका कारण हामीले एउटा पालिका पाउनुपर्छ,’ डागीले भने,‘ पालिका पाइएन् भने केन्द्रको निर्णय कसरी कार्यान्यवन गर्ने भन्ने प्रश्न उठ्छ ।’
प्रतिक्रिया 4