
९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देवचुली नगरपालिकामा मेयरको टिकटको लागि ‘ग्रीन सिग्नल’ दिएपछि एकजना उपसचिवले राजीनामा दिन लागेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपसचिव विष्णुप्रसाद भुसालले राजीनामा दिन लागेका हुन् । भुसालले पूर्णरुपमा राजनीतिमा होमिनको लागि राजीनामा दिन लागेको बताए ।
नवलपरासीको देवचुली नगरपालिकामा मेयरमा उठ्ने तयारी गरेको भन्दै अनलाइनखबरसँग उनले भने ‘म पहिले प्रमुख प्रशासकीय भएर काम गरेको स्थानमा मेयर पदमा आकांक्षी हो । त्यसकै लागि राजीनामा दिन लागेको हुँ । आजै राजीनामा स्वीकृत हुन्छ भन्ने लागेको छ ।’
उनले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासहित ठूला नेताहरुसँग एक चरणको कुरा भइसकेकोले मेयरको टिकटको विषयमा विश्वस्त भएको बताए ।
उनले आफूलाई देवचुलीको समस्या र त्यहाँ उठाउनुपर्ने मुद्दाहरु थाहा भएकोले मेयर पद सुहाउँदो भएको दाबी पनि गरे । उनले २५ वर्षे निजामति सेवा पूरा गरिसकेका छन् ।
प्रतिक्रिया 4