+

मुख्यमन्त्री बिवाईसी महिला गोल्डकप : उपाधि जित्ने दुवै टीमको दावी

२०७९ वैशाख  ९ गते १६:३६ २०७९ वैशाख ९ गते १६:३६
मुख्यमन्त्री बिवाईसी महिला गोल्डकप : उपाधि जित्ने दुवै टीमको दावी

९ वैशाख, धनगढी । कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु एपीफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुवै टोली उपाधिका लागि भिड्न लागेका हुन् ।

वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टीमले दाबी गरेका छन् ।

शुक्रबार धनगढी रंगशालामा भएको प्रि-म्याच कन्फ्रेन्समा फाइनलिष्ट दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरेका हुन् । उत्कृष्ट लयमा रहेको एपीफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् ।

उनले रातिको समयमा खेल्दा केही कठिनाइ भएको भए पनि उपाधि आफ्नो टीमले जित्ने दावी गरिन् । ‘पहिलो पटक लाइटमा खेल्दा आउने समस्याले गाहे भइरहेको छ । कुनै बेला लाइट बिग्रिदा खेलको रिदम बिग्रने समस्या छ ।’

कप्तान बस्नेतले भनिन्, ‘महिला गोल्डपक पहिलो पटक भएको हुँदा जसले हामी सबैलाई उत्साहित बनाएको छ । हामी च्याम्पियन हुन्छौ । त्यही हिसाबको तयारी छ । एपीफएका प्रशिक्षक जनकसिंह थारुले पनि जित्नको लागि खेल्ने बताए ।

‘लिगमा पनि लगातार जितिरहेका छौं । नकआउट प्रतियोगिता पनि जित्छौं ।’ प्रशिक्षक थारुले भने–‘हामीले पुलिसलाई हराउँदै आएका छौं । फेरि हराएर उपाधि जित्छौं ।’ एपीफल सेमिफाइनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाइनलमा विराटनगर महानगरपालिकालाई ८-० को फराकिलो अन्तरले हराएको थियो ।

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने दावी गरेको छ । लामो समयपछि प्रतियोगिताहरुको फाईनलमा पुगेकोले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ । पुलिसकी कप्तान घिमकुमारी गुरुङले पनि जित्नको लागि खेल्ने बताइन् ।

‘जित्नको लागि खेल्छौं । सबै जनाले त्यही अनुसार तयारी गरेका छौं ।’ कप्तान गुरुङले भनिन्-‘लाईटमा नयाँ अनुभव लिइरहेका छौं । रमाइलो पनि भइरहेको छ । दिउँसो खेलेको भए गर्मी हुन्थ्यो । राति हुँदा सजिलो पनि भएको छ ।’

पुलिसका प्रशिक्षक संजीव जोशीले पनि जित्नकै लागि फाईनल खेल्ने बताए । ‘धेरै बर्षपछि फाईनल पुगेका छौं । जित्नको लागि खेल्छौं ।’ प्रशिक्षक जोशीले भने–‘मैदानमा केही समस्या छ । बललाई चाहे अनुसार खेलाउन गाहे भइरहेको छ ।

नयाँ फर्मेन्स अनुसार टीमले पनि प्रगति पाइरहेको छ । राम्रै नतिजा आउँछ ।’ पुलिसले सेमिफाईनलमा आयोजक वनदेवी युवा क्लबलाई ३–० को अन्तरले हराएको थियो भने क्वाटरफाईनलमा चन्द्रपुर नगरपालिकालाई १–० ले हराएको थियो ।

शनिबार धनगढी रंगशालामा समापन हुने गोल्डकपको विजेताले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।

प्रतियोगितामा वुमन अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए ।

धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा सुप प्रदेश खेलकुद परिषद रहेको छ ।

बिवाईसी महिला गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय