
९ वैशाख, चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै कमी नहुने गरी औषधि उत्पादन गर्न व्यवसायीहरूलाई आग्रह गरेकी छिन् ।
नेपाल फर्मा एक्स्पो २०२२ को शुक्रबार भरतपुरमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले जीवनसँग प्रत्यक्ष रुपमा जोडिने भएको हुनाले औषधि उत्पादन सेवामूलक एवं परोपकारी व्यवसाय हुनुपर्ने बताइन् ।
अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तरमा कुनै सम्झौता नगरी औषधिको उत्पादन, बजारीकरण र वितरणलाई सम्बद्ध पक्षले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सकेसम्म धेरै किसिमका औषधि देशभित्रै उत्पादन गर्न सकेमा हाम्रो संविधानले प्रत्याभूति गरेको स्वास्थ्य सम्बन्धी मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने आफूलाई लागेको राष्ट्रपति भण्डारीको धारणा छ । कोभिड १९ को विश्वव्यापी महामारीले खोप, औषधि तथा स्वास्थ्य सामग्रीका क्षेत्रमा गरिएको लगानी उत्पादन, वितरण प्रणालीलाई ठूलो चुनौती रहेको उनको भनाइ छ।
रोगको उपचार र नियन्त्रणका लागि मुलुकहरुबीच आपसी सहयोग र सहकार्यको आवश्यक भए जस्तै औषधि उत्पादनको क्षेत्रमा पनि राष्ट्रहरुबीच पारस्परिक सहयोग अभिवृद्धि हुनु पर्नेमा उनले जोड दिइन् ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा स्वदेशी र विदेशी गरी १६० स्टल रहेका छन् ।
प्रतिक्रिया 4