
९ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाका पाँच वडामा वडा अध्यक्षसहित सबै सदस्यले राजीनामा दिएका छन् । विराटनगर–४, ५, १७, १८ र १९ नम्बर वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
महानगरका प्रमुख प्रशासकीय अधिृकत उमेश बस्नेतका अनुसार जनप्रतिनिधिको राजीनामापछि पाँच वटा वडा जनप्रतिनिधिविहीन भएका छन् ।
रिक्त रहेका वडामा जनप्रतिनिधिको जिम्मेवारी वडाका कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । महानगरले वडा सचिवलाई जिम्मेवारी दिने तयारी गरेको छ । शुक्रबारसम्म विराटनगरका १९ वडा मध्ये १३ वडाध्यक्षले राजीनामा दिएका छन् ।
विराटनगर–४ का वडाध्यक्ष देवेन्द्र पोखरेल, ५ का मीनकुमार आचार्य, ७ का मधुबाबु तिवारी, ९ का विश्वनाथप्रसाद भगत, १० का माधवराज वाग्ले, ११ का तीर्थेन्द्र न्यौपाने, १२ का हिरालाल कामत, १३ का झरिलाल महतो, १४ का बलदेव यादव, १५ का असलम आलम, १७ का समीर कमर, १८ का राजदेव यादव र १९ का बद्रीनारायण सरदारले राजनीनामा दिएका हुन् । राजनीनामा दिएका वडाध्यक्षहरु ३० वैशाखमा हुने निर्वाचनमा पुनः वडाध्यक्षको आकांक्षी छन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि पुनः मेयरको टिकटका आकांक्षी छन् । पार्टीबाट मेयरको टिकट पाए उनले पनि राजीनामा दिनेछन् ।
प्रतिक्रिया 4