
९ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसहित १२५ जना नगर सभा सदस्यले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा भाग लिन उनीहरुले राजीनामा दिएका हुन् ।
तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित नगर प्रमुख सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई नेकपा एमालेले नगर प्रमुखको उम्मेदवारको रुपमा अघि सारेको छ । सरावगीको नाम नेकपा एमालेको प्रदेश कमिटीले केन्द्रमा पठाइसकेको छ ।
नगरप्रमुख सरावगीले वैशाख १० गतेबाट लागु हुनेगरी राजनिामा बुझाएको वीरगञ्ज महानगरपालिका आर्थिक प्रशासन महाशाखा प्रमुख राजकुमार कुशवाहाले जानकारी दिए । उनका अनुसार प्रमाणको रुमपा राजीनामा दिएका जनप्रतिनिधिलाई राजीनामा स्वीकृत गरिएको पत्र दिइएको छ ।
महानगरपालिकाको ३२ वटा वडा मध्ये वडा नं. २, १४, १५ र १६ नम्बरका गरी ४ जना वडा अध्यक्ष निलम्बित छन् । २४ जना वडाध्यक्षले पनि राजीनामा दिएका छन् ।
स्थानीय तहको चुनावमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था छ । त्यसैगरि ४ जना कार्यपालिका सदस्य र ९४ जना वडा सदस्यले पनि राजीनामा बुझाएका छन् । वीरगञ्ज महानगरपालिकामा १ सय ६२ जना नगर सभा सदस्य थिए ।
प्रतिक्रिया 4