
९ वैशाख, सिन्धुली । सिन्धुलीको मरिणमा चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै नेकपा माओवादी केन्द्रका कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । सत्ता गठबन्धनले टिकट बाँडफाँड गर्ने क्रममा मरिण गाउँपालिकाको उपाध्यक्ष नेपाली कांग्रेको भागमा परेको छ ।
मरिण गाउँपालिका माओवादीको ‘आधार इलाका’का भएको भन्दै मरिण गाउँ कमिटीका ७८ जना माओवादी कार्यकर्ताले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् ।
‘मरिणको आम कार्यकर्ता, शुभचिन्तकको चहाना चाहिं यहाँ हरेक दृष्टिकोणबाट गठबन्धन गर्नु पर्दैन भन्ने थियो,’ उक्त गाउँपालिका अध्यक्ष समेत रहेका माओवादीको बागमती प्रदेश समिति सदस्य पानीराज बम्जनले अनलाइनखबरसँग भने, ‘अन्त गठबन्धन गर्नुहोस्, यहाँ गर्नु हुँदै भन्ने थियो । तर नेतृत्वले त्यसलाई नसुनेर अध्यक्ष हामीले लिने र उपाध्यक्ष कांग्रेसलाई दिने सहमति गर्यो । यसमै असन्तुष्टि हो ।’
अध्यक्ष र उपाध्यक्षमा तालमेल गर्ने भनेपछि वडालाई स्वच्छ प्रतिष्पर्धा गर्नु भन्ने कुरामा पनि कार्यकर्ताहरुको असन्तुष्टि रहेको बम्जनले बताए। ‘अध्यक्ष र उपाध्यक्षमा तालमेल गर्ने तर वडामा स्वच्छ प्रतिष्पर्धा गर्ने भनियो,’ उलने भने, ‘यहींनेर विरोधाभाष छ । माथिल्लो तहमा आफ्नो स्वार्थसिद्ध गर्ने तर तल जेसुकै गर भन्ने खालको भयो । यसको पनि विरोध गरेको हो ।’
राजीनामा पत्रमा पनि नेतृत्वप्रति असन्तुष्टि प्रकट गरिएको छ । ‘…नेकपा माओवादी केन्द्र सिन्धुलीका जिल्लास्तरीय नेतृत्व पूर्णतया गुट प्रवृत्तिमा रम्ने, इमानदार नेता कार्यकर्तालाई पूर्वाग्रही ढंगबाट व्यवहार गर्ने, विधि पद्धतिमा नरही आफ्नो वरपर घुम्ने प्रवृत्तिका व्यक्तिहरु र आफ्नो नातेदारका लागि मात्र स्थान दिने, कार्यकर्ताको जनमत र जनभावना विपरीत एकलौटी ढंगबाट अगाडि बढ्ने, तल्ला कमिटीलाई आफ्नो निर्णय अधिकारबाट वञ्चित गर्ने जस्ता गलत प्रवृत्तिको विरुद्ध लड्ने प्रतिवद्धताको साथ यो सामूहिक राजीनामा पेश गरेका छौं’ राजीनामा पत्रमा भनिएको छ ।
राजीनामा दिनेहरुमा माओवादी केन्द्रको मरिण गाउँपालिका कमिटी उपाध्यक्ष चिनध्वज बोम्जन, सचिवालय सदस्य धनबहादुर स्याङतानसहित वडा कमिटीका इन्चार्ज, अध्यक्ष, सचिव र सदस्यसहरु रहेका छन् ।
२०७४ को निर्वाचनमा माओवादी केन्द्रले मरिण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित सबै वडाध्यक्ष र सदस्यहरु जितेको थियो ।
नेपाली कांग्रेस र माओवादीबीच भएको सहमतिमा जिल्लाका ९ पालिकामध्य कांग्रेसले ५ र माओवादीले ४ पालिका लिने सहमति भएको थियो ।
प्रतिक्रिया 4